सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियो : अध्यक्ष लिङदेन

शनिबार, १९ कात्तिक २०७९, १८ : २५
शनिबार, १९ कात्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन्  । शनिबार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले वाइडबडी, ललिता निवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताए ।

अध्यक्ष लिङदेनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरूमा रहने गरेको बताए । उनले राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको उल्लेख गरे ।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभइ विदेशीहरूका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको समेत बताए । उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुलाई भन्ने गरेको उल्लेख गरे । उनले नेपालको राजनीतिमा विदेशीको आशीर्वाद, समर्थन बिना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति नरहेको पनि दाबी गरे । उनले नेपाली नेताहरूमा विदेशीअघि आत्मसमर्पणको प्रवृत्ति हाबी भएको बताए ।

उनले भने– ‘यो देशमा कसले खाएको छैन, वाइडबडीमा कसले खाएको छैन, ललितानिवास जग्गा प्रकरणमा कसले खाएको छैन । माथिको के कुरा गर्नुहुन्छ, गाउँतिरै हुने भ्रष्टाचारमा कुन पार्टी खाएका छन् । भन्दा अलगअलग पार्टी मारामार जस्तो गर्ने, खाने बेलामा एकै ठाउँ जम्मा हुने । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चाइरहेका छन् । हामीले कहिल्यै नेदेखेको, कहिल्यै कल्पना नगरेको आज समाज विभाजित छ । हाम्रो एकता, सद्भाव, संकटमा परेको छ । देशको लागि सरकार बनाउने होइन, विदेशीहरुको सहज, खुशीका लागि हामी कम्फरटेबल सरकार बनाउँछौँ भन्छन् हाम्रा देशका नेताहरु । कहाँ गइरहेको छ देश । हामी नेपाली जनताका लागि सरकार बनाउँछौं भन्नुपर्ने ठाउँमा विदेशीहरुको खुशी, सजिलोका लागि भनिरहेका छन् । विदेशीको लागि म प्रधानमन्त्री भएँ भने सजिलो हुन्छ । उनीहरू भनिरहेका छन् तर पनि हामी तिनीहरुलाई नेता मानिरहेका छौँ ।’ 

अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आम जनताको आकंक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे । पछिल्लो समय आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा लक्षित चुनावी प्रचारप्रसार तीब्र बन्दै गएको छ । विभिन्न दलका शीर्ष नेताहरूले विभिन्न स्थानमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन् । राप्रपाले पनि गोरखा, नवलपरासी, चितवन लगायत देशभरका विभिन्न स्थानमा चुनावी प्रचारप्रसारलाई तीव्र पारेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप