सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहा–२ मा राजकिशोर र चित्रलेखाबीच प्रतिस्पर्धा

यस्तो छ स्थानीय तहको अंकगणित
आइतबार, २० कात्तिक २०७९, २१ : ३६
आइतबार, २० कात्तिक २०७९

प्रतिनिधिसभा अन्तर्गत सिरहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव र नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

चित्रलेखा यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने राजकिशोर यादव जसपा–एमाले गठबन्धनबाट उम्मेदवार छन् । राजकिशोर यादवको आफ्नो चुनावी क्षेत्र सिरहा ४ भए पनि यस पटक भागबण्डाका कारण उनी २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।

चित्रलेखा यादव २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यसपछि उनले दुई पटक समानुपातिकतर्फबाट प्रतिनिधित्व गरिन् ।

२०७४ को चुनावमा माओवादी केन्द्रबाट सुरेशचन्द्र दास यादव यो क्षेत्रबाट विजयी भएका थिए । जसपाका कार्यकारिणी सदस्य समेत रहेका राजकिशोर यादव भने २०६४ को संविधानसभा चुनावमा विजयी भएका थिए भने २०७० को दोस्रो संविधानसभा चुनावमा पराजित भएका थिए । २०७४ को निर्वाचनमा उनी सिरहा–४ बाट निर्वाचित भएका थिए ।

स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवारले पाएको मतका आधारमा सिरहा–२ मा सत्तारुढ गठबन्धनको तुलनामा एमाले–जसपा गठबन्धन बलियो देखिन्छ ।

सिरहा–२ मा वरियारपट्टी, नवराजपुर, औरही, सुखीपुर र धनगढी नगरपालिकासहित पाँचवटा पालिका छन् । त्यसमध्ये कांग्रेसले वरियारपट्टी र धनगढी नगरपालिका जितेको छ भने नवरापुर र औरही गाउँपालिका जसपा र सुखीपुर नगरपालिका एमालेले जितेको छ । अर्थात सत्ता गठबन्धनसँग दुईटा र जसपा–एमाले गठबन्धनसँग तीनवटा पालिका छन् । यो क्षेत्रमा जम्मा ४१ वटा वडा छन् । त्यसमध्ये जसपा–एमाले गठबन्धन र सत्ता गठबन्धनले २०–२० वटा वडा जितेका छन् भने जनमत पार्टीले एउटा वडा जितेको छ ।

सो क्षेत्रमा जसपाले मात्र वडामा २१ हजार ९७ मत ल्याएको छ भने एमालेले १८ हजार ३५८ मत ल्याएको छ । दुवै दलको मत जोड्दा ३९ हजार ४५५ हुन्छ ।

त्यस्तै, सो क्षेत्रमा कांग्रेसले १९ हजार ४७४, माओवादी केन्द्रले ११ हजार ६५८, नेकपा एकीकृत समाजवादी पार्टीले तीनहजार ९२३ र लोकतान्त्रिक समाजवादी पार्टीले नौसय ७९ मत ल्याएका छन् । यी सबै दलको मत जोड्दा ३६ हजार ३४ हुन्छ । सत्ता गठबन्धन भन्दा जसपा–एमाले गठबन्धनको मत तीन हजार ४२१ ले बढी छ ।

यस हिसाबले सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रलेखा यादवभन्दा जसपा–एमालेका साझा उम्मेदवार राजकिशोर यादव अगाडि देखिन्छन् । सिरहालाई जसपाको आधार क्षेत्र मानिन्छ । सिरहाबाट मधेस आन्दोलनको उठान भएको थियो ।

तर यहाँ कांग्रेस पनि कमजोर छैन । सिरहा जिल्लामा सबभन्दा बढी पालिका कांग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले र तेस्रो र चौथो स्थानमा क्रमशः माओवादी र जसपा छन् । तर सिरहा–२ मा जसपाले वडामा सबभन्दा बढी मत ल्याएको छ ।

कांग्रेसका उम्मेदवार चित्रलेखा यादव भन्छिन्, ‘विगतदेखि हालसम्म मधेसको विकास र उसको पहिचानका लागि कांग्रेसले नै अगुवाई गरेको कारण मेरो जित निश्चित छ ।’

संविधान निर्माण हुने बित्तिकै समानुपातिक र समावेशी शब्द राख्नका लागि कांग्रेसले नै पहिलो पटक संविधान संशोधन गरेको भन्दै उनले पछि पनि संविधान संशोधनका लागि कांग्रेस र माओवादी केन्द्रले निकै ठूलो पहल गरेको तर एमालेका कारण त्यो सम्भव नभएको बताइन् ।

अहिले पनि कांग्रेस र माओवादी केन्द्रकै प्रयासमा नागरिकता विधेयक दुवै सदनबाट पारित भएको तर एमालेले त्यसलाई राष्ट्रपतिबाट प्रमाणीकरण हुन नदिएको बताउँदै उनले कांग्रेसले जहिले पनि मधेसको हित सोचेको कारण मधेसी जनताले कांग्रेसलाई जिताउने दाबी गरिन् ।

‘जसपा कुनै पार्टी नै होइन, कहिले कसको पुच्छर त कहिले कसको पुच्छर भएर हिँड्ने गरेको कारण सो पार्टीलाई मधेसका जनताले राम्रोसँग चिनिसकेका छन्,’ उनले भनिन् ।

तर जसपाका उम्मेदवार राजकिशोर यादव पनि आफू चुनाव जित्नेमा ढुक्क छन् । उनी भन्छन्, ‘मधेसलाई बर्बाद गर्ने पार्टी कांग्रेस नै हो, त्यो पार्टी लामो समयसम्म सत्ता रहे पनि मधेसका लागि केही काम गरेको छैन । त्यही भएर मधेसका जनता कांग्रेसलाई रुचाउँदैनन् ।’

कांग्रेसले पटकपटक मधेसी जनतालाई झुक्याएर मत लिएको आरोप लगाउँदै उनले त्यसको बदलमा कांग्रेसले विभेद मात्र गरेको बताए । उनले भने, ‘जसपा परिवर्तनकारी शक्ति हो, मधेसी जनताले पनि परिवर्तन चाहेका छन्, त्यही भएर जसपाको जित सुनिश्चित छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप