बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गणतन्त्र रक्षाका लागि गठबन्धनलाई भोट : उमेश यादव

सोमबार, २१ कात्तिक २०७९, १३ : १५
सोमबार, २१ कात्तिक २०७९

नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं सप्तरी २ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार उमेश यादवले देशमा गणतन्त्र आएपछि मात्र मधेशी, दलित, आदिवासी जनजातिले अधिकार पाएको बताएका छन् ।  गणतन्त्र आएपछि मात्र मधेशबाट राष्ट्रपति र उपराष्ट्रपति बन्न पाएको बताउँदै उनले यही गणतन्त्रले हरेक समुदाय तथा जातजातिमा जागरण आएको बताए । 

चुनाव प्रचार प्रसारको क्रममा मतदातालाई सम्बोधन गर्दै उनले त्यही गणतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । एमालेले गणतन्त्र नै समाप्त पार्ने षडयन्त्र गरेको र त्यसलाई परास्त गर्ने काम माओवादी, काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी लगायतले गरेको दावी गर्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र एमालेका अध्यक्ष केपी शर्मा ओलीको षडयन्त्रका कारण आठ लाख नेपाली नागरिकताबाट बन्चित रहेको दावी गरे । 
गठबन्धनमा रहेका दलले दुवै सदनबाट नागरिकता विधेयक पारित गरेपनि राष्ट्रपति भण्डारीले अध्यक्ष अ‍ोलीको सल्लाहमा त्यसलाई प्रमाणीकरण नगरेको दावी गर्दै उनले चुनावपछि बन्ने गठबन्धनको सरकारले पहिलो काम नागरिकता विधेयकलाई पारित गराउने बताए ।

 मधेसको अर्थतन्त्र कृषिमा आश्रित रहेको त्यसको विकास आवश्यक रहेको बताउँदै उनले मधेसमा रासायनिक मलको कारखाना खोलाउनका लागि आफूले पहल गर्ने बताए ।  सत्ता गठबन्धनका साझा उम्मेदवार उमेश यादव २०७४ को चुनावमा उनी सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । उनी उपेन्द्र यादवबाट पराजित भएका थिए । यसपटक भने उनी प्रदेशमा चुनाव लडेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप