शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धैरै पटक पदमा गएकै कारणले बलियो भइँदैन : प्रदीप पौडेल

बिहीबार, २४ कात्तिक २०७९, १४ : १६
बिहीबार, २४ कात्तिक २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दैछन् । उनका प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका ईश्वर पोखरेल मैदानमा छन् । पोखरेलले २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट जित हासिल गरेका थिए ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका पौडेल भने पहिलो पटक संसदीय प्रतिस्पर्धामा उत्रिएका छन् । रातोपाटीले कांग्रेस उम्मेदवार पौडेलसँग चुनाव केन्द्रित विषयमा संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश– 

यो चुनावी अभियानका क्रममा कस्तो माहौल पाउनु भएको छ ? 

यसअघि यस क्षेत्रबाट निर्वाचन जितेका नेताहरू निर्वाचनको समयमा मात्रै झुल्किन्छन् । विकासका आश्वासन दिएर पनि काम नगरेका तिता अनुभवहरू यस क्षेत्रका मतदाताले समेटेका छन् । यस हिसाबले पनि विगतमा यस क्षेत्रबाट जितेका नेताप्रति मतदातामा वितृष्णा पाएको छु । नेताले आफूलाई मालिक र जनतालाई दासीको जस्तो व्यवहार गरेको भन्ने गुनासो चरम भेटिन्छ । हामीले त्यो सबै कमजोरीलाई करेक्सन गर्छौं भनेका छौं ।

तपाईले निर्वाचन जितेर प्रतिनिधिसभा पुगेपछि मतदाताले के अपेक्षा गर्ने ?

विगतका व्यवहारलाई करेक्सन गर्ने मूख्य काम मेरो हुनेछ । यस क्षेत्रमा लामो समयदेखि व्यवस्था बदलिए पनि अवस्था बदलिएको छैन । त्यसैले जनप्रतिनिधि हुने भनेको सेवक हुने हो । मालिक हुने हैन । जनताका समस्यालाई निरन्तर उठाउने र ती मुद्दा समाधान गर्न लागिपर्ने काम गर्नेछु । र, राज्यमा सुशासन कायम गर्नुका साथै भ्रष्टाचार अन्त्य गर्ने काम गर्नेछु । मुख्यगरी यस क्षेत्रका जनताले सुशासन खोजेका छन् ।

मैले यस क्षेत्रलाई धुँवाधुलो मुक्त गर्छु भनेको छु । विकासे योजनामा पहल गर्छु भनेको छु । देशको आर्थिक विकासका लागि चाहिने एजेन्डा अघि सार्छु भनेको छु । परनिर्भरताको समस्या हल हुनुपर्छ । पर्यटन पूर्वाधार, औद्योगिक पूर्वाधार विकास गर्नुपर्छ । यसका लागि काम गर्छु ।

यस क्षेत्रमा चुनाव लड्दै गर्दा तपाईका एजेन्डा के छन् ?

काठमाडौं जस्तो राजधानी सहरमा बिजुलीका नाङ्गो तार व्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाटो पनि पिच भएन भन्ने गुनासो छ । ढल फुटेको र बाटोमा प्वाल परेका जस्ता सामान्य विषयलाई पनि सम्बोधन गर्न नसकिएको अवस्था छ । नीतिगत नेतृत्वसँगै स्थानीय समस्या समाधान गर्दै जानुपर्छ । त्यसैले निर्वाचन जितेपछि जनतासँगको सम्बन्ध थप प्रगाढ पार्दै लैजानुपर्छ ।

यसअघि पटक पटक नेकपा एमालेबाट निर्वाचित भएका नेताविरुद्ध तपाई निर्वाचन लड्दै हुनुहुन्छ । तपाई कत्तिको चुनौती महसुस गरिरहनुभएको छ ?

धेरै पटक जितेको र धेरै पटक निर्वाचनमा उठेका कारणले बलियो भइँदैन । धैरै पटक पदमा गएकै कारणले बलियो भइँदैन । पदमा पुगेर गरेका काम हेरेर जनताले मत दिने हो । निर्वाचन जितेर गएको ५ वर्षको अवधिमा त्यस क्षेत्रको विकासका लागि राम्रो भूमिका खेलेको भए हेभीवेट हुन सक्छ । त्यसको आधारमा मूल्यांकन गर्ने स्थिति हुन सक्छ । त्यसैले यसपटक मतदाताले चोटिलो प्रवृत्तिविरुद्ध मत खसाल्छन् ।

अहिले स्वतन्त्रहरूको उभार आएको छ । तपाईले कत्तिको चुनौती देख्नुहुन्छ ?

म निर्वाचनमा सहभागी सबै साथीहरूलाई सम्मान गर्छु । लोकतन्त्रमा सबैले प्रतिस्पर्धा गर्न पाउँछन् । उहाँहरूको पनि आफ्ना विशेषता छन् । तर, हामी पार्टीभित्र बसेर पनि वैकल्पिक राजनीति गरिरहेका छौं । र, सुधारका विषयमा आवाज उठाइरहेका छौं । देशमा भएका तमाम विसंगतिकाविरूद्ध आवाज उठाउँछौं । सोही कारण, व्यक्ति उपस्थित हुनु र संगठन उपस्थित हुनुमा फरक पर्छ । यो कुरा मतदाताले राम्रोसँग बुझ्छन् र मलाई मत खसाल्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप