शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इरानी प्रदर्शनमा हालसम्म कम्तीमा ३२६ को मृत्यु : मानवअधिकार समूह

आइतबार, २७ कात्तिक २०७९, १७ : १९
आइतबार, २७ कात्तिक २०७९

इरानमा गत दुई महिनादेखि चलिरहेको देशव्यापी प्रदर्शनमा भएको बल प्रयोगमा कम्तिमा ३२६ जनाको ज्यान गएको नर्वेस्थित ‘इरान ह्युमन राइट एनजीओ (आईएचआरएनजीओ)’ले दावी गरेको छ ।

मर्नेहरूमा ४३ बालबालिका र २५ महिलाहरू समावेश रहेको समूहले शनिबार जारी गरेको मृतकको संख्यामा उल्लेख छ । ‘इरान ह्युमन राईट एनजीओ’ले आफूले सार्वजनिक तथ्याकं ‘निरपेक्ष न्यूनतम’ भएको बताएको छ । 
२२ वर्षीया कुर्दिश युवती महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि १९७९ मा इस्लामिक गणतन्त्र स्थापना भए यताकै सबैभन्दा ठूलो मध्येको एक प्रदर्शनको सामना गरिरहेको छ । उनलाई हिजाब राम्ररी नलगाएको आरोपमा धार्मिक प्रहरीले हिरासतमा लिँदा त्यही मृत्यु भएको थियो । 

महसाको मृत्यु भएपछि सुरु भएको प्रदर्शन पछिल्लो समय इस्लामिक शासनविरुद्धको आम आक्रोशमा बदलिएको छ । गिरफ्तारी र कडा सजायको बावजुद इरानी सेलिब्रेटीहरू र खेलाडीहरूले समेत प्रदर्शनप्रति समर्थन दिन थालेका छन् । 

इरान ह्युमन राईट एनजीओले अन्तर्राष्ट्रिय समुदायसँग बढ्दो मृत्युको संख्याप्रति ‘कठोर हुँदै समयमै कदम चाल्न’ आग्रह गरेको छ । त्यस्तै संस्थाले ‘इस्लामिक गणतन्त्रका अधिकारीलाई मानवअधिकारको घोर उल्लङ्घनको लागि जवाफदेही बनाउन’ संयन्त्र बनाउन माग गरेको छ । 

विरोध प्रदर्शन सुरु भएदेखि इरानका सबै २२ प्रान्तमा मृत्यु रेकर्ड गरिएको छ र सबैभन्दा धेरै सिस्तान र बलुचिस्तान, तेहरान, माजानदारन, कुर्दिस्तान र गिलान प्रान्तमा रिपोर्ट गरिएको आईएचआरएनजीओले बताएको छ ।

इरानी अधिकारीहरूले तेहरान प्रान्तमा कम्तिमा १,००० मानिसहरूलाई प्रदर्शनमा संलग्न भएको आरोपमा कारबाही सुरु गरेका छन् । अधिकार समूहले दर्जनौं प्रदर्शनकारीलाई मृत्युदण्डको सजाय हुनसक्ने बताएका छन् । 

शुक्रबार, संयुक्त राष्ट्रसंघका विज्ञहरूले इरानी अधिकारीहरूलाई ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागीलाई मृत्युदण्डको सजायको धम्की दिन बन्द गर्न’ र ‘विद्रोह दबाउन मृत्युदण्डको सजाय प्रयोग गर्न बन्द गर्न’ आग्रह गरे । –सीएनएनबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप