बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मेरो व्यवसाय सिस्टमले चल्छ, राजनीतिलाई पनि सिस्टममा ल्याउन उम्मेदवार बनेको छु : पौडेल

मङ्गलबार, २९ कात्तिक २०७९, १० : ४१
मङ्गलबार, २९ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ । निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवारहरू र नेता कार्यकर्ताहरूले चुनावी तयारीलाई अन्तिम रूप दिन लागेका हुन् ।

यसपालिको निर्वाचनमा पनि विभिन्न राजनीतिक दलका स्थापित नेतादेखि युवा, व्यवसायी तथा अन्य क्षेत्रमा स्थापित व्यक्तित्वहरू पनि चुनावी प्रतिस्पर्धामा छन् । यस्तै प्रतिस्पर्धामा रहेकामध्ये गण्डकी प्रदेश अन्तरगत पर्ने लमजुङ जिल्लाको प्रदेश–ख मा भेषबहादुर पौडेल पनि एक हुन् । पौडेल सो क्षेत्रको स्थापित व्यवसायी, लमजुङ जिल्ला उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सभापति पनि हुन् । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा लमजुङको बेसीशहर नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका पौडेल २९७ मतान्तरले पछि परेका थिए । सो समयमा काँग्रेस बाहेकका दलहरू एमाले, माओवादी केन्द्रसहितको गठबन्धन बनेको थियो । काँग्रेस जिल्ला सभापति पौडेलसँग उनको चुनावी तयारी, गठबन्धनको अवस्था तथा उद्यमी व्यवसायी किन राजनीतिप्रति आकर्षित भइरहेका छन् भन्ने लगायतका विषयमा रातोपाटीका लागि शिव सत्यालले कुराकानी गरेका छन्:

व्यवसाय गर्दा गर्दै राजनीति गर्न किन मन लाग्यो ?

मैले व्यवसाय र राजनीतिको कुरा गर्दा राजनीति अझ पहिलादेखि गरेको छु । राजनीति मात्रै गरेर व्यवसाय गरिएन भने आम्दानी कहाँबाट गर्ने नि ! चल्नु त पर्‍यो । राजनीति त आम्दानी हुने पेसा होइन । त्यसकारण राजनीतिबाट सामाजिक सेवामा लाग्ने र व्यवसायबाट आफू र अरूलाई पनि सँगसँगै अगाडी बढाउने भनेर लागेको छु ।

सम्भव छ व्यवसाय र राजनीतिलाई सँगसँगै लैजान ?

सम्भव छ । यसलाई व्यवस्थापनको कुरा आउँछ । व्यवस्थापन कति गर्छौँ र कसरी गर्छौँ भन्ने कुरा हो । व्यवस्थापकीय पाटोमा अलि ध्यान पुर्‍यायौँ भने सकिन्छ । 

तपाईं धेरैवटा व्यवसायमा संलग्न हुनुहुन्छ, ती व्यवसायमा तपाईंको उपस्थिति जरुरी हुन्छ होला, राजनीतिमा पनि व्यस्त हुनुहुन्छ, यसको व्यवस्थापन कसरी गर्नुभएको छ ?

व्यवसायलाई सुरु गर्न र स्थापित गर्न अलि बढी समय दिनुपर्ने हो । स्थापित भएर एउटा बाटोमा जान्छ भने त्यसलाई सिस्टमले चलाउँछ । मैले हेरिरहनै पर्दैन । साह्रै ठुलो कुनै अवरोध आयो भने बेग्लै कुरा हो । त्यो बाहेकको परिस्थितिमा सिस्टमबाटै चल्छ । राजनीतिलाई भने पूर्ण समय दिनुपर्छ । किनभने नेपालमा राजनीति सिस्टममा चलेको छैन । यो चाहिँ बिहान ५ बजे नै ढकढक गर्दै लौ हामी आयौँ है भन्दै आउनु हुन्छ । यसलाई पनि सिस्टममा लानु छ । त्यसका लागि हामी जस्ता युवाले अलिकति सोचेर अगाडी बढायौँ भने राजनीतिलाई पनि सिस्टममा ल्याउने सम्भावना छ । असम्भव चिज भन्ने पनि छैन । 

व्यवसायमा सफल भएर राम्रो आम्दानी गरिरहेको व्यक्ति राजनीतिप्रति किन आकर्षित हुन्छ ?

तपाईंले राम्रो कुरा खोज्नु हुन्छ । नयाँ परिवर्तन चाहनु हुन्छ । तर, यसको सबैभन्दा राम्रो र अन्तिम विकल्प राजनीति हो । तपाईंले राम्रो गर्दै गए पनि राजनीति र राजनीतिज्ञले राम्रो गरिदिएनन् भने त्यो कुरा राम्रो हुन सक्दैन । र, देशले पनि धेरै दुःख पाउँछ । त्यस्तो आवश्यकता पूरा गर्न र नागरिकलाई हामीले चाहेको लक्ष्यमा पुर्‍याउन चाहिने अन्तिम विकल्प भनेको राजनीति नै हो । हो, राजनीतिमा गाली गलौच धेरै हुने गरेको छ । तर, मैले त्यसो गरेको छैन । मैले मेरा मन्तव्यहरूमा विपक्षीलाई गाली गरेको छैन, मैले मेरो भिजन मात्रै राखेको छु, आफ्नो योजना राखेको छु र विश्वास लिएको छु । त्यसलाई नै विश्वास गरेर अहिले सबै साथीहरू मसँग हुनुहुन्छ । त्यसकारण राजनीतिलाई पनि अलिकति फरक ढङ्गले, मर्यादित रूपमा, आफ्नो अनुशासन र इमानदारिताका साथ अगाडि बढाउन सक्छौँ भन्ने उदाहरण पनि म दिन चाहन्छु ।

२०७४ को स्थानीय तह निर्वाचनमा तपाईं बेसीशहर नगरपालिकाको मेयरमा उठ्नु भएको थियो तर चुनाव जित्न सक्नुभएन । अहिले तपाईं प्रदेशसभा सदस्यको लागि उम्मेदवार बनेको क्षेत्रमा पनि काँग्रेस कमजोर रहेको तथ्याङ्कले देखाएको छ, यस्तो अवस्थामा चुनाव  जित्न सक्नुहोला ?

राजनीतिलाई ट्रयाकमा ल्याउनु पर्छ भनेर मैले उम्मेदवारी दिएको हो । अहिलेको आवश्यकता पनि हो । र, २०७४ को स्थानीय तह निर्वाचनमा एमाले, माओवादी लगायतका सबै दलहरू एकातिर र म एकातिर भएर चुनाव लडिरहेको अवस्था थियो । त्यस्तो अवस्थामा पनि म जम्मा २९७ मतले मात्रै पछाडि थिएँ । अहिले माओवादी पनि हामीसँग मिसिएको छ । अर्को कुरा के पनि छ भने त्यो बेलामा मलाई मत नदिने साथीहरू पनि अहिले ‘गिल्टी फिल’ गरिरहेका छन् । यस्ता साथीको सङ्ख्या धेरै छ । माहौल मेरो पक्षमा छ । साङ्गठनिक रूपमा हामी कमजोर हौँला तर, पनि यो प्रदेश खमा मैले ४ देखि ५ हजार बढी मत ल्याएर चुनाव जित्छु भन्ने मलाई लागेको छ । 

तपाईंका चुनावी एजेन्डाहरू के कस्ता छन् ?

मैले राजनीति र व्यवसायलाई सँगसँगै लैजाँदा पनि राजनीतिलाई मर्यादित बनाउने भन्ने नै हो । मैले लमजुङ उद्योग वाणिज्य संघको अध्यक्ष हुने बेलामा पनि ‘समृद्ध लमजुङ मेरो चाहना’ भनेर अघि बढेको थिएँ । त्यसलाई अहिले मैले हाम्रो चाहना भनेको छु । आर्थिक विकास, उद्यमशीलता, रोजगारी सिर्जना, सुशासन जस्ता सबै विषयको सुधार गर्न पनि अन्तिममा नीतिगत निर्णयहरू गर्नुपर्ने अवस्था आउँछ । नीतिमा नै हामीहरू सफल हुन सक्यौँ भने त्यसलाई ठिक ठाउँमा लान सक्छौँ । नीतिगत रूपमा नै कमजोरी भयो भने कुनै पनि विषय ठिक ठाउँमा आउँदैन । नीति बनाउने निकाय भनेको संसद् हो । राज्यको नीतिलाई ठिक ठाउँमा ल्याउन सक्यौँ भने मात्रै आउटपुट ल्याउन सक्छौँ । त्यसैकारण राज्यको नीतिलाई ठिक ठाउँमा ल्याउनको लागि ‘हिट’ गर्न आवश्यक छ भनेर म अघि बढेको हो । अहिले म यहाँ विस्तारै अघि बढ्दै गरेपनि यो एउटा अभियान हो । हामीले सुरु गरेको यो अभियान देशभरि फैलिएर हामीले नीति पनि ठिक बनाउँछौँ । देशलाई पनि ठिक ठाउँमा ल्याउँछौँ । 

तपाईंले नै चुनाव जित्नुपर्छ भन्ने विशेष कुरा के छ ?

मुख्य कुरा त मतदाताले म कति शक्तिशाली छु, मेरो महत्त्व कति छ भनेर बुझ्नु पर्छ । म मतदातालाई के भन्छु भने भोलिका दिनमा नेता खराब, भ्रष्टाचारी भनेर कराउनु हुँदैन । मौका अहिले हो । छान्ने अहिले हो । कुन इमानदारी छ, कुन अनुशासित छ, कसको भिजन राम्रो छ, को ऊर्जावान् छ, को नयाँ सोचका साथ इनोभेटिभ भएर आएको छ भन्ने जस्ता सबै कुराहरूलाई विचार गरेर मतदान गर्नुपर्छ । अहिले भनिदिएका आधारमा होइन, उसको विगत कस्तो थियो भन्ने पनि विचार गर्नुपर्छ । उसले गरिरहेको कामको मूल्याङ्कन गरेर निर्णयमा पुग्नुपर्छ । मसँग अहिले धेरै जना उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । उनीहरूलाई अहिले सुनमा कसी लगाए जस्तै गरी कुन एक नम्बरी, कुन दुई नम्बरी भनेर छान्ने हो । एक नम्बरीलाई छान्ने हो । तोला तोलामा जोख्ने हो । योभन्दा यो उम्मेदवार एक तोला भए पनि राम्रो रहेछ भनेर छान्ने हो । यसरी छान्दा जो इमानदार छ, अनुशासित छ, जसको भिजन राम्रो छ, जो ऊर्जावान् छ, जो नयाँ सोचका साथ इनोभेटिभ भएर आएको छ उसलाई छान्ने हो । त्यसो गर्दा म परे मलाई भोट दिने हो, म नपरे अर्कालाई भोट दिने हो । म आम मतदातालाई रोजेर भोट हाल्न अनुरोध गर्दछु । अहिले हामीले सही निर्णय गर्न सक्यौँ भने भोलि सडकमा आएर कराउनु पर्छ जस्तो मलाई लाग्दैन । 

चुनाव जित्नुहुन्छ होला ?

चुनाव त म जित्छु । मलाई यहाँका लमजुङवासीहरूले यति विश्वास गर्नुहुन्छ कि, यति आशाको केन्द्रको रूपमा हेरेका छन् कि भोलि मैले चुनाव जितेपछि त्यो आशालाई कसरी पूरा गर्ने भनेर म सोचिरहेको छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप