शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले भोट माग्दै भने – प्रिय मतदाता, भोट हाल्नुअघि भविष्य सम्झनुहोस् ! (भिडियोसहित)

बुधबार, ३० कात्तिक २०७९, १९ : ४९
बुधबार, ३० कात्तिक २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोट हाल्नुअघि दुई भविष्य सम्झन्न मतदाताहरूलाई आग्रह गरेका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत १ मिनेट ३६ सेकेन्डको भिडियो सन्देश सार्वजनिक गर्दै अध्यक्ष ओलीले प्रिय मतदाता भनेर सम्बोधन सुरु गरेका छन् । 

उनले मंसिर ४ मा हाल्ने भोटले नै अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने निर्क्योल हुने भन्दै सोही कारण भोट हाल्नअघि सोच्न आग्रह गरेका छन् । ‘प्रिय मतदाता, अब स्पष्ट निर्णय लिने समय आएको छ । किनकि मंसिर ४ गते तपाईँले हाल्ने भोटले अबको ५ वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्छ । शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा ?’, ओलीले प्रश्न गर्दै भनेका छन्,  ‘त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला । पहिलो तपाईँको आफ्नै भविष्य र दोस्रो तपाईँका छोराछोरीको भविष्य ।’

साथै उनले आफू झुटो नबोल्ने र सत्य नछोड्ने पनि बताएका छन् । ‘म झुटो बोल्दिन, सत्य छोड्दिन । तपाईँलाई थाहा छ म पटक पटक मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति हुँ । अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थले जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भनेका छन्, ‘जसको कुनै राष्ट्रिय उद्देश्य छैन । यही गठबन्धन रहिरहे मुलुक वरवाद हुनेछ । तपाई र तपाईँका छोराछोरीको भविष्य समेत वरवाद हुनेछ । त्यसैले आज म यस सन्देशमार्फत भोट माग्दैछु ।’

उनले आफूले मागेको भोट एमालेको जितका लागि नभई मतदाता र मतदताका सन्तानको सुखका साथै राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र ५ वर्ष टिक्ने स्थिर सरकारका लागि भएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप