बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन सुरक्षामा चुनौती बन्दै ‘विप्लव समूह’

प्रहरी प्रवक्ताको चेतावनी, ‘बिथोल्न खोज्नेमाथि बल प्रयोग गर्छौँ’
शुक्रबार, ०२ मङ्सिर २०७९, १० : ३१
शुक्रबार, ०२ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मुख्य चुनौतीको रूपमा देखिएको छ । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अघि भोजपुर,  नेपालगञ्ज र दोलखामा विप्लव समूहले विस्फोट गराएको सुरक्षा अधिकारीहरू बताउँछन् । 

नेपालगञ्ज उपमहानगरपालिका–१० भृकुटीनगरस्थित दिवाकर मल्लको घरमा ‘विप्लव’का कार्यकर्ताले बम बनाउँदै गरेको सुराक पाएपछि बुधवार साँझ प्रहरी त्यहाँ पुग्यो । तर, बनाउँदै गरेको बम हतारमा लुकाएर भाग्न खोज्दा विस्फोट भयो । ‘कुकर बम’ विस्फोट हुँदा विप्लव समूहमा आबद्ध सल्यान घर भएका डिल्ली बहादुर डिसी र कैलाली घर भएका धर्म बहादुर सुनार घाइते भए ।

बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बम बनाउनेहरू ‘विप्लव समूह’का कार्यकर्ता भएको रातोपाटीलाई बताए । उनले भने–‘बनाउँदै गरेको बम विस्फोट हुँदा डिल्ली बहादुर डिसी र धर्म बहादुर सुनार घाइते भए, उनीहरूको नेपालगञ्ज नर्सिङ अस्पतालमा उपचार हुँदै छ ।’ 

अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरूलाई विस्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । डिल्ली बहादुर डिसी र धर्म बहादुर सुनारले दुईवटा ‘कुकर बम’ तयार गरिसकेका थिए । अरू चारवटा बनाउने तयारीमा थिए । बम बनाउँदै गर्दा प्रहरीले सुराक पाएको हुनाले सम्भावित दुर्घटना टरेको छ । 

‘चुनाव बिथोल्न उनीहरूले बम बनाएको थाहा भएको छ’ एसपी अधिकारी भन्छन्–‘थप चारवटा बम बनाउँदै थिए, समयमै पक्राउ गरेको हुनाले सम्भावित दुर्घटना टरेको छ ।’ प्रहरी पुगेपछि आरोपीहरू खाटमुनि बम लुकाएर भाग्न खोजेका थिए । तर, दुर्भाग्य बम पड्किएर उनीहरू आफैँ घाइते भए ।

​कार्तिक ३० मा भोजपुरमा सत्ता गठबन्धनले आयोजना गरेको सभास्थल नजिकै बम विस्फोट गराउन हिँडेका युवक आफैँ घाइते भए । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता सुमन श्रेष्ठ आफैँले बोकेको बम विस्फोट भएर घाइते भएका हुन् । 

भोजपुरको अरुण गाउँपालिका–३ स्थित तिवारी भञ्ज्याङमा सुमनले बोकेको बम आफैँ पड्किएको भोजपुरका डिएसपी शरत थापा क्षेत्रीले रातोपाटीलाई बताए । डिएसपी क्षेत्री भन्छन्–‘आरोपीलाई हामीले पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’ 

सुनम भोजपुरको चरम्बीका स्थानीय हुन् । उनले बोकेको ‘आइडी बम’ पड्किँदा उनैको खुट्टामा चोट लागेको छ । सुमन विप्लव समूहको कार्यकर्ता रहेको डिएसपी क्षेत्रीले रातोपाटीलाई बताए । त्यस्तै, दोलखामा भएको विस्फोटबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

निर्वाचन बिथोल्ने गरी बम बनाउन थालेपछि विप्लव समूहप्रति प्रहरी आक्रामक भएको छ । नेपाल प्रहरीका प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले निर्वाचन विरोधी समूहमाथि प्रहरीले निगरानी गरिरहेको बताए । रातोपाटीसँग कुरा गर्दै डिआईजी राईले भने–‘उनीहरूलाई चिलले चल्ला छोपेजस्तो एकैपटक नियन्त्रणमा लिनसक्ने तयारी हामीले गरेका छौँ ।’ 

कानुन बाहिर जानेलाई पक्राउ गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने जानकारी दिँदै डिआईजी राईले भने–‘चुनाव बिथोल्न खोज्ने समूहमाथि आवश्यक बल प्रयोग गर्न निर्देशन दिएका छौँ, बल प्रयोग गर्छौ ।’ 

डिआईजी राईले शान्तिपूर्ण चुनाव कसैले बिथोल्न नसक्ने दाबी गरेका छन् । 

सुरक्षा अधिकारीहरूका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुख्य सुरक्षा चुनौतीको रूपमा देखिए पनि अन्य समूह पनि सुरक्षा चुनौतीको रूपमा छन् । चुनाव बहिष्कार गर्ने निर्णय गरेका आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत), मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी (समाजवादी)ले निर्वाचनमा सुरक्षा चुनौती ल्याउनसक्ने सुरक्षा निकायहरूको निष्कर्ष छ । 

डिआईजी टेक प्रसाद राईका अनुसार प्रहरीले विप्लव समूह सहित ३१ समूहमाथि निगरानी गरिरहेको छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अति संवेदनशील मतदान स्थल ३ हजार ६६ छन् । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा निर्वाचन आयोगले वर्गीकरण गरेको अति संवेदनशील मतदान स्थलमा सुरक्षा निकाहरूले निगरानी बढाएका छन् । आयोगले ४ हजार ४७८ स्थललाई संवेदनशील र ३ हजार २ सय ४८ स्थललाई सामान्य वर्गीकरण गरेको छ । देशभर कुल १० हजार ८ सय ९२ मतदान स्थल छन् ।

 

विप्लव समूहका ३४ जना तारेखमा 

भोजपुर र नेपालगञ्ज विस्फोटमा संलग्न बाहेक विप्लव समूहका २ जनालाई निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा प्रहरीले मुद्दा चलाएको छ । नेपालगञ्ज र भोजपुर विस्फोटमा घाइते भएकाहरू अस्पतालमा छन् । 

विप्लव समूहका ३४ जनालाई तारेखमा राखिएको डिआईजी राईले जानकारी दिए । उनले भने–‘निर्वाचन विरोधी गतिविधि गर्नेहरू अहिलेसम्म १७२ जना पक्राउ परेका छौँ, तीमध्ये १७ जनाविरुद्ध मुद्दा दर्ता गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौँ ।’ 

प्रहरीले भोजपुर र नेपालगञ्ज विस्फोटमा संलग्नहरू विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएको बताए पनि सो पार्टीले भने अस्वीकार गरेको छ । विप्लव नेतृत्वको नेकपाका पार्टी कार्यालय सचिव चिरञ्जीवी ढकालले रातोपाटीसँग कुरा गर्दै भने–‘विस्फोटमा हाम्रो पार्टीको संलग्नता छैन, सत्ताधारी गठबन्धन र विपक्षी गठबन्धनको बीचमा नै द्वन्द्व छ ।’ 

आफ्नो पार्टीको नीति शान्तिपूर्ण रूपमा चुनाव बहिष्कार गर्ने रहेको जिकिर गर्दै ढकालले भने–‘सो नीति बाहिर गएर काम गर्ने अधिकार कुनै पनि कमिटीलाई छैन ।’ 

 उच्चस्तरीय सुरक्षा समितिले भन्यो–‘निगरानी बढाउ’ 

उच्च स्तरीय निर्वाचन सुरक्षा समितिले निर्वाचन ‘बहिष्कार’ गर्ने समूहमाथि कडा निगरानी गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्याल नेतृत्वको समितिले सो निर्देशन दिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

उच्चस्तरीय सुरक्षा समितिले सो निर्देशन दिएको भोलिपल्ट भोजपुर, नेपालगञ्ज र दोलखामा विस्फोट भएको छ । मंगलबार बसेको समितिको बैठकले सो निर्देशन दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप