बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मतदानको ३ दिनभित्र मतगणना सम्पन्न हुने, यस्तो छ प्रक्रिया

शुक्रबार, ०२ मङ्सिर २०७९, १२ : ५८
शुक्रबार, ०२ मङ्सिर २०७९

निर्वाचन आयोगले मतदान भएको ३ देखि ५ दिनभित्र सबै क्षेत्रको मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ । मंसिर २० गतेसम्म मतगणनाको सम्पूर्ण प्रक्रिया पूरा गरेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने आयोगले जनाएको छ । 

मतदान सकिएपछि सुरक्षाकर्मीको सहयोगमा मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइन्छ । जुन ठाउँमा उम्मेदवारको मनोनयन गरेको हो सोही कार्यालयमा मतगणना हुने निर्वाचन आयोगका सहप्रवक्ता ऋषिराम भुसालले रातोपाटीलाई जानकारी दिए । 

उनले भने– ‘मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुन्छ । सबै मतदानस्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्छ र मतगणनाको काम सुरु हुन्छ । मतगणना कार्यमा उम्मेदवारका प्रतिनिधि बस्न पाउने व्यवस्था हुन्छ । मतगणना निर्देशिकामा  तोकेका व्यक्तिहरू मतगणनास्थलमा बस्न पाउने व्यवस्था हुन्छ । निर्वाचन पर्यवेक्षकहरुलाई पनि अलि टाढाबाट मतगणना हेर्न पाउने व्यवस्था हुन्छ ।’

मतगणना गर्दा सम्भव भएसम्म प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली दुवैको एकैपटक गरिने उनले बताए । यदि ठाउँ र कर्मचारीको अभाव भएमा सबैभन्दा पहिला प्रत्यक्ष तर्फको मतगणना गर्ने र त्यसपछि समानुपातिक तर्फको मतगणना गरिनेछ । 

उनले भने– ‘सम्भव भएसम्म सबै मतपत्र एकैपटक गन्नु भन्ने छ यदि सम्भव नभएमा सुरुमा प्रत्यक्ष तर्फको र त्यसपछि समानुपातिक तर्फको मतगणना गर्नु भनेर आयोगबाट निर्देशन भएको छ । मतगणनाको सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारलाई पहिलो प्राथमिकता दिनु भनिएको छ ।’

जनशक्तिको उपलब्धता अनुसार विभिन्न टोली बनाएर छिटो मतगणना सम्पन्न गर्न आयोगले सम्बन्धित निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप