शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा ५० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

आइतबार, ०४ मङ्सिर २०७९, १७ : १८
आइतबार, ०४ मङ्सिर २०७९

प्रदेश १ का १ हजार ८ सय ९७ मतदानस्थलमध्ये एउटामा बाहेक सबैमा निर्वाचन शान्तिपूर्ण तरिकाले भइरहेको प्रहरीले जनाएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) सुदीप गिरीका अनुसार ताप्लेजुङको आठराई त्रिवेणीमा विवादका कारण मतदान रोकिएको छ ।

पुनः मतदान सुचारु गराउन सर्वपक्षीय छलफल जारी रहेको गिरीले जानकारी दिए । ‘एक ठाउँमा बाहेक सबैतिर शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ,’ गिरीले भने, ‘ताप्लेजुङको आठराई त्रिवेणीमा भने मतदान रोकिएको छ । त्यहाँ सुचारु गर्ने प्रयास जारी छ ।’

उनले प्रदेश १ मा अहिलेसम्ममा ५० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको बताए । प्रदेश १ मा १ हजार ८ सय ९७ मतदान स्थल र ४ हजार ९९ वटा मतदान केन्द्र रहेको छ । मतदान सम्पन्न गराउन प्रदेशमा ३२ हजार ७ सय ९२ जना कर्मचारी र १६ हजार ३ सय ९६ जना स्वयमसेविका परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 

यस्तै सुरक्षाका लागि प्रदेश १ मा नेपाल प्रहरी र म्यादी मात्र ३१ हजार १ सय २२ जना प्रहरी परिचालन भएका छन् । निर्वाचनमा प्रहरी मात्र ११ हजार १ सय ५६ र म्यादी प्रहरी १९ हजार ९ सय ६६ जना परिचालन भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए । प्रदेशमा निर्वाचनमा ४ सय ३८ वटा मतदान स्थल ‘अति संवेदनशील’ रहेको सुरक्षा विश्लेषण थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप