मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका ‘टप टेन’ समाचार

शुक्रबार, ०१ पुस २०७९, २१ : ५६
शुक्रबार, ०१ पुस २०७९

आज मिति २०७९ साल पुस महिनाको १ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ ।

१. नयाँ सरकार गठनको रस्साकस्सी

निर्वाचन आयोगले आम निर्वाचन २०७९ को नतिजा औपचारिक रुपमा सार्वजनिक गरेसँगै नयाँ सरकार गठनका लागि ‘काउन्ट डाउन’ सुरु भएको छ । आयोगले मंसिर २८ गते निर्वाचनको अन्तिम परिणाम औपचारिक रुपमा घोषणा गरेको हो ।

संविधानको धारा ७६ मा मन्त्रिपरिषद गठन सम्बन्धी व्यवस्था छ । सो धाराको उपधारा ८ मा भनिएको छ, ‘यस संविधान बमोजिम भएको प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको वा प्रधानमन्त्री पद रिक्त भएको मितिले पैँतीस दिनभित्र यस धारा बमोजिम प्रधानमन्त्री नियुक्तिसम्बन्धी प्रक्रिया सम्पन्न गर्नुपर्ने छ ।’

उक्त संवैधानिक प्रावधान अनुसार मंसिर २८ को मितिले ३५ दिनभित्र अर्थात् माघ ४ सम्ममा नयाँ सरकार गठन भइसक्नेछ ।

​२. राष्ट्रपति को ?

निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलहरु सत्ता समीकरण र पद बाँडफाँडको जोडघटाउमा लागेका छन् । योसँगै नयाँ प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलगायत कसले पाउने भन्ने चासो र चर्चा सुरु भएको छ । त्यसमा पनि सेरोमोनियल राष्ट्रपतिका लागि राजनीतिक दलका नेतासहित गैर राजनीतिक व्यक्तिहरु समेत राष्ट्रपतिका आकांक्षीका रुपमा चर्चामा आएका छन् ।

राजनीतिक दलका नेताहरुबीच पद बाँडफाँडबारे औपचारिक छलफल नभएपनि भित्रभित्रै आकांक्षा राख्ने र कसरत गर्नेको लर्को लागेको छ ।

​३. शपथको तयारी

संघीय संसद सचिवालयले निर्वाचन आयोगसँग नवनिर्वाचित जेष्ठ सांसदको जन्ममिति खुल्ने कागजात सहितको विवरण बुझाउन पत्राचार गरेको छ । बिहीबार आयोगले सचिवालयमा बुझाएको नवनिर्वाचित सांसदहरूमध्ये जेष्ठ सदस्य को हो भन्नेमा स्पष्ट उमेर खुल्ने आधार नभएकोले उमेर खुलाएर पठाउन शुक्रबार आयोगलाई पत्राचार गरिएको सचिवालयका सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए ।

यसैबीच सभामुखका लागि सत्ता गठबन्धनका चार नेताको नाम चर्चामा आएको छ । कांग्रेसबाट अर्जुननरसिंह केसी, माओवादीबाट रेखा शर्मा तथा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालाको नाम सभामुखका लागि चर्चामा ल्याइएका छन् ।

​४. सरकारमा जान जसपा र लोसपाको लबिङ

सत्ता गठबन्धनमा सहभागी हुन जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी आ-आफ्नो तर्फबाट लविङ गर्न थालेका छन् । सत्ता गठबन्धनसँग मिलेर लोसपाले चुनावमा भाग लिए पनि चुनावपछि उसलाई गठबन्धनमा राखिएको छैन । उपेन्द्र यादव नेतृत्वको जसपा गठबन्धनबाट बाहिरिएपछि महन्थ ठाकुर नेतृत्वको लोसपा सत्ता गठबन्धनसँग नजिकिएको थियो ।

​थप समाचार

​५. महन्थ र राजेन्द्रबीच दूरी बढ्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा पुनः एकपटक आन्तरिक विवाद सुरु भएको छ । राष्ट्रिय जनता पार्टीदेखि नै महन्थ ठाकुर र राजेन्द्र महतोबीच सौहाद्र सम्बन्ध थिएन । पार्टीमा को शक्तिशाली भनि देखाउनका लागि दुवैजनाबीच द्वन्द्व छ ।

अहिले पछिल्लो समय चुनाव सकेपछि लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बीचको दुरी झन बढेको छ ।

​६. कांग्रेस बैठक बोलाउन माग

नेपाली काँग्रेसका करिब एक दर्जन केन्द्रीय सदस्यहरूले पार्टी सुदृढीकरणका लागि छलफल गरेका छन् । ललितपुरको एक होटलमा केन्द्रीय सदस्य, मीन विश्वकर्मा, नैनसिंह महर, मदनञ अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानु बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँ लगायत सहभागी थिए। उनीहरुले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् ।

​७. शैक्षिक क्षेत्रका कुरा

त्रिभुवन विश्वविद्यालयको परिसरमै ठूलो चिटिक्क परेको एक स्कूल छ । त्यहाँ विद्यार्थी संख्या पनि राम्रै छ । धेरैलाई लाग्छ यो बोर्डिङ स्कूल हो ।  तर, यो न पूर्ण रूपमा बोर्डिङ हो, न पूर्ण रूपमा सरकारी । यो सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालन भइरहेको लेबोरेटरी माध्यमिक विद्यालय हो ।

शिक्षा मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको ११२ रोपनी जग्गा विद्यालय सञ्चालनको लागि दिएको थियो । सोही जग्गा फिर्ताको माग राख्दै त्रिविले पटक पटक ताकेता गर्दै आएको छ । तर, स्कूलले भने उक्त जग्गामा त्रिविको कुनै अधिकार नलाग्ने भन्दै जवाफ दिँदै आएको छ ।

​८. पेट्रेलियम पदार्थको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ ।  । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निगमले  पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । यस्तै एलपी ग्यास र हवाइ इन्धको  मूल्य भने हाललाई यथावत् राखिएको छ ।

​९. कालो दिवस

प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइयो । विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए । पछि २०७४ सालमा मात्रै प्रजातन्त्र पुनर्स्थापना भएको थियो ।

​१०. यो पनि...

प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेम्वाङले मतगणनामा धाँधली गरेर चुनाव जितेको भन्दै पुनः मतगणना गर्न माग गर्दै उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले मुद्दा दायर गरेका हुन् ।

​नेपाली र भारतीय सेनाबीच गणस्तरीय संयुक्त अभ्यास सूर्यकिरण–१६औँ शृङ्खला आजदेखि रुपन्देहीको सालझण्डीमा सुरु भएको छ । विपद् व्यवस्थापनको समयमा उद्धार र स्वास्थ्य उपचारलगायत प्रतिविद्रोह तथा प्रति आतङ्कवाद जस्ता विषय समावेश गरी सञ्चालन हुने  १४ दिने उक्त संयुक्त अभ्यासको मध्य पश्चिम पृतनापति उपरथी यामप्रसाद ढकालले शुभारम्भ गरेका हुन् ।

​जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।  बैठक आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय बालकुमारीमा बोलाइएको हो ।

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले चुनावको परिणामले दल र राज्य प्रणालीमाथि प्रश्न उठेको बताएका छन् । चुनावको परिणामले दलहरूबीच द्वन्द्व र अविश्वास बढाउन सक्ने बताउँदै गुरुङले दलहरुबीच समझदारी आवश्यक रहेको बताए ।

​टीकापुर घटनामा जन्म कैदको सजाय भोगिरहेका रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणको माग गर्दै माइतीघर मण्डलामा थारु समुदायले धर्ना दिएका छन् ।  सरकारले गत आइतबार टीकापुर घटनामा सजाय भोगिरहेका चौधरीलाई छुटाउने मनसायसहित मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याएको थियो ।

​नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप