बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कास्कीका कुन उम्मेदवारले कति खर्च गरे ?

सोमबार, ०४ पुस २०७९, ०६ : १६
सोमबार, ०४ पुस २०७९

​मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नतिजा सार्वजनिक भइसकेको छ ।  शनिबार निर्वाचन आयोगका आयुक्त इश्वरीप्रसाद पौडेलले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई निर्वाचन परिणाम पेस गरेसँगै नयाँ सरकार गठनको प्रकृया सुरु भएको छ । प्रतिनिधिसभा तर्फ ४६ र प्रदेशसभा तर्फ ४५ उम्मेदवार रहेको कास्कीमा प्रतिनिधिसभा र प्रदेशसभामा गरी ९ सांसद निर्वाचित भएका छन् ।

प्रतिनिधिसभा तर्फ कास्की १ बाट मनबहादुर गुरुङ, क्षेत्र नम्बर २ बाट विद्या भट्टराई र ३ बाट दामोदर बैरागी निर्वाचित भए । प्रतिनिधिसभातर्फ ३ वटै क्षेत्रमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।

प्रदेशसभा तर्फ कास्कीका ६ निर्वाचित क्षेत्रमध्ये कांग्रेसका २ र एमालेका ४ जना निर्वाचित भए ।  कास्की १(१) मा खगराज अधिकारी, १(२) मा वेदबहादुर गुरुङ श्याम, २ (१) मा भीम बहादुर कार्की,  २(१) मा विन्दु थापा, ३(१) मा गणेशमान गुरुङ र ३(२) मा प्रकाश बराल निर्वाचित भएका हुन् ।   

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका सबै उम्मेदवारलाई खर्च विवरण बुझाउन निर्देशन दिइसकेको छ । उम्मेदवारले मतदान भएको ३५ दिनभित्र खर्च विवरण बुझाउनुपर्ने कानुनी व्यवस्था  छ । यसअघि स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारलाई आयोगले जरिवाना तोकेसँगै यसपटक निर्वाचन खर्च बुझाउन उम्मेदवारहरु समयमै पुगेका हुन् ।

कास्कीबाट उम्मेदवार बनेका ९१ मध्ये ५८ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन आयोग कास्कीका प्रमुख हुमनाथ पराजुलीले बताए ।

आयोगले निर्वाचन क्षेत्रपिच्छे फरक फरक खर्च सीमा निर्धारण गरेको थियो । आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार भई कानुन बमोजिम निर्वाचनका लागि खर्चको सीमा कायम गरेको थियो ।

खर्चको सीमा निर्धारण गर्दा २०७९ भदौ ३१ गते निर्वाचन क्षेत्रमा कायम भएको मतदाताको संख्यालाई ६० प्रतिशत, मतदान केन्द्र संख्यालाई २० प्रतिशत र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई २० प्रतिशत भार निर्धारण गरिएको छ ।

प्रतिनिधिसभातर्फ आयोगले २५ लाखदेखि ३३ लाख रुपैयाँको सीमा तोकेको थियो । यसमध्ये कास्की ३ बाट निर्वाचित दामोदर बैरागीलेले सबैभन्दा बढी खर्च गरेका छन् । बैरागीले २८ लाख २ हजार ७ सय १३ रुपैयाँ खर्चको विवरण आयोगमा बुझाएका छन् । कास्की १ बाट निर्वाचित मनबहादुर गुरुङले २१ लाख ४८ हजार ६ सय २६ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् । यस्तै, कास्की २ की विद्या भट्टराईले १९ लाख ७९ हजार ८५६ रुपैयाँ खर्च भएको विवरण बुझाएकी हुन् ।

प्रतिनिधिसभा तर्फ ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा अधिकतम ३१ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा थियो  । कास्की १ मा २९ लाख र कास्की २ का उम्मेदवारले २७ लाख रुपैयाँ अधिकतम खर्च गर्न पाउने सीमा थियो । 

निर्वाचनमा भाग लिने उम्मेदवारले तोकिएबमोजिमको रकम मतदाता नामावली खरिद, गोष्ठी अन्तत्र्रिmया, प्रचार सामग्री, ढुवानी, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम सवारी साधन, (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालनका विषय क्षेत्रमा खर्च गरेको विवरण बुझाएका छन् ।

गण्डकी प्रदेशसभा तर्फ १५ लाखदेखि २३ लाख रुपैयाँ अधिकतम सीमा तोकिएको थियो । कास्की १ (२), २ (१), २ (२) र कास्की ३ (१) निर्वाचन क्षेत्रका उम्मेदवारले १५ लाख खर्च गर्न पाउने सीमा थियो । यसमध्ये कास्की १(१)बाट निर्वाचित भएका खगराज अधिकारीले सबैभन्दा बढी खर्च गरेका छन् । अधिकारीले १६ लाख ७१ हजार ५ सय ४६ रुपैयाँ खर्च भएको विवरण बुझाएका हुन् ।

प्रदेशसभा तर्फ कास्की ३(२)बाट निर्वाचित भएका प्रकाश बरालले सबैभन्दा कम खर्च भएको विवरण बुझाएका छन् । बरालले ८ लाख ५२ हजार ६ सय २४ रुपैयाँ खर्च भएको आयोगलाई जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप