आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभाका दलहरुले कहिले चुन्छन् नेता ?

बुधबार, ०६ पुस २०७९, १९ : ३०
बुधबार, ०६ पुस २०७९

गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयले शपथको तयारी थालेको हो ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा ५ दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस २७ सिटसहित पहिलो दल, एमाले २२ सिटसहित दोस्रो दल, नेकपा माओवादी ८ सिटसहित तेस्रो दल बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा २ सिट र एकीकृत समाजवादीले प्रत्यक्षमा १ सिट ल्याएको छ ।

निर्वाचन परिणाम सार्वजनिक भएको एक साता बितिसक्दा पनि गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलले संसदीय दलको नेता चयन गरेका छैनन् । प्रमुख दलहरुले संघीय संसदमा संसदीय दलको नेता चयन भएपछि मात्र प्रदेशसभा संसदीय दलको नेता चयनको प्रक्रिया अघि बढाउन कुरिरहेका थिए । तर, संघमा सबैजसो दलले संसदीय दलको नेता चुनिसकेका कारण अब प्रदेशसभातर्फ संसदीय दलको नेता चुनिने नेताहरु बताउँछन् ।

प्रदेशमा पहिलो बनेको कांग्रेसले प्रदेशसभा सदस्यको शपथ अगाडि नै प्रदेशको संसदीय नेता चयन गर्न तयारी थालेको छ । स्याङ्जा २ (१)बाट नवनिर्वाचित सांसद भोजराज अर्यालले शपथ अगाडि नै दलको नेता चयन हुने सुनाए । उनले भने, ‘हामीहरु सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्छौं, नभए केन्द्रमा जस्तो चुनाव गरेरै नेता चयन गर्छौं ।’ कांग्रेसबाट अर्याल पनि दलको नेता बन्ने दौडमा छन् । उनले मिलेसम्म सहमतिको बाटोमा गएर दलको नेता चयन गर्ने सुनाए । ‘दलको नेता बन्न म सहित धेरैले आकांक्षा देखाउनुभएको छ । तर, चुनाव हुने कि सर्वसम्मत गर्नेे भन्ने टुंगो लागेको छैन,’ उनले भने ।

संसदमा दोस्रो बनेको नेकपा एमालेले पनि शपथ अगाडि नै दलको नेता चयन गर्ने तयारी थालेको छ । कास्की १ (१)बाट निर्वाचित सांसद खगराज अधिकारीका अनुसार दलको नेता चयन शपथ ग्रहण अगाडि नै हुने सुनाए । तर, अधिकारीले प्रतिस्पर्धा गर्ने कि सर्वसम्मत हुने भन्ने खुलाएनन् । ‘हाम्रो केन्द्रमा सकियो । अब शपथ ग्रहण अघि नै प्रदेशसभा संसदीय दलको नेता चयन गर्छौं,’ उनले भने । एमालेबाट अधिकारी सर्वसम्मत संसदीय दलको नेतामा चयन हुने सम्भावना बढी छ । एमाले सांसदहरुका अनुसार केन्द्रमा जस्तै प्रदेशमा पनि दलको नेता चयन सर्वसम्मत गराउने तयारी भइरहेको छ ।

प्रदेशमा तेस्रो बनेको माओवादी केन्द्रले भने शपथ ग्रहणपछि दलको नेता चयन हुने जनाएको छ । माओवादीबाट तनहुँ १(२)बाट गण्डकी प्रदेशसभामा निर्वाचित भएका हरिबहादुर चुमानले दलको नेता चयन सर्वसम्मत हुने बताए । ‘शपथ ग्रहण नै भएको छैन । माओवादीले सांसदको शपथ ग्रहणपछि नै दलको नेता चयन गर्छ,’ चुमनले भने । राप्रपाले पनि दलको नेता चयनको प्रक्रिया अगाडि बढाएको छैन । राप्रपा स्रोतका अनुसार शपथ अघि नै दलको नेता चयन गर्ने योजना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप