बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान भन्छन्– हामीलाई तीन मन्त्रालय चाहिन्छ (भिडियो–वार्ता)

बिहीबार, ०७ पुस २०७९, ०९ : ०८
बिहीबार, ०७ पुस २०७९

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीमा १ सिट र समानुपातिकतर्फ ५ सिट गरी ६ सिट जितेर संसद्को आठौँ दल बनेको जनमत पार्टी सरकारमा जाने तयारीमा छ । सो पार्टीका केन्द्रीय अध्यक्ष सीके राउतले सरकारमा जाने तयारी स्वरूप संसद्का ठुला दलका मुख्य मुख्य नेताहरूसँग भेटघाट गरिसकेका छन् ।

प्रस्तुत छ सरकारमा जाने तयारीमा रहेको जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधिसभाका सांसद अब्दुल खानसँग यिनै समसामयिक विषयमा गरिएको कुराकानीको सम्पादित अंश 

तपाईंं समानुपातिक प्रणालीबाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित हुनुभएको छ, अबको ५ वर्ष कसरी पूरा गर्ने सोच्नुभएको छ ?

जनमत पार्टीलाई जनताले ५ वर्षका लागि एउटा ठाउँमा पुर्‍याएका छन् । जनमत पार्टीले यसभन्दा १० वर्ष अगाडि नै देशको समृद्धिको विषयमा खाका कोरिसकेको छ । हामीले कोरेको खाका ठुला दल कांग्रेस, एमालेको समेत चुनावी एजेन्डा बनेको छ । हामी ती एजेण्डाहरूमा काम गर्नेछौँ ।

खासगरी जनमत पार्टीको मुख्य एजेण्डामा ‘एक घर एक रोजगारी’ हो । यो व्यवस्था हुनुपर्छ । यसरी नेपालमा १० लाख रोजगारीको सिर्जना गर्नुपर्छ । अर्को, किसानको समस्या समाधान हुनुपर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा जनताका लागि सेवाप्रवाह नियमित रूपमा हुनुपर्छ । त्यहाँ कर्मचारीको लापरबाही हुनुहुँदैन, नेताको फोनको भरमा सामान्य जनतालाई सताउने काम गर्नु हुँदैन । हामी यो कुराको वकालत गर्नेछौँ, संसद्मा पनि हामी यो कुरालाई उठाउनेछौँ । भ्रष्टाचारलाई पनि शून्य अवस्थामा पुर्‍याउने नीति लिनेछौँ ।

तपाईंंहरू सरकारमा जाने निश्चित भइसकेको हो ?

हाम्रो पार्टीले उठाएको एजेन्डा अहिले सबै पार्टीको एजेन्डा भइसकेको छ । उहाँहरूले हामीले उठाएका एजेण्डालाई पूरा गर्ने वातावरण बनाउनुभयो भने निश्चित रूपमा जनमत पार्टी सरकारमा जान्छ ।

कुन दल नेतृत्वको सरकार बन्यो भने तपाईंंहरूलाई अनुकूल हुन्छ ? कांग्रेस नेतृत्वको सरकार वा एमाले नेतृत्वको सरकार ?

कसको नेतृत्वको सरकारमा जाने, कसको नेतृत्वको सरकारमा नजाने भन्दा पनि जसले समस्या समाधान गर्छ, त्यो नेतृत्वको सरकारमा हामी जान्छौँ ।

तपाईंंहरूले कृषि मन्त्रालय मागिसक्नु भएको छ भन्ने कुरा आएको छ, अरू कुन कुन मन्त्रालय माग्नुभएको छ ?

कृषि क्षेत्रमा हामीले लगातार २ वर्षदेखि आन्दोलन गरिरहेका छौँ । हामीले प्रदेश सरकार, कृषि मन्त्रालयलाई ज्ञापन पत्र दियौँ, ज्ञापन पत्रमा मागेको कुरा केही पनि गर्नुभएन । त्यसकारण कृषि मन्त्रालय हाम्रो एउटा ध्येय भयो । यस्तै विकास निर्माणको काम गर्ने भौतिक पूर्वाधार मन्त्रालय । शिक्षाको अवस्था हेर्दा अहिले सबैतिर शिक्षाको गुणस्तर खस्किएको छ । मिलिनियम डेभलपमेन्ट गोलमा नेपालले सन् २०२० मा शिक्षित राष्ट्र बनाउँछौँ भनेर पहिले नै हस्ताक्षर गरे पनि अहिलेसम्म त्यो बाचा पूरा नभएकाले शिक्षा मन्त्रालयमा पनि हाम्रो जोड रहन्छ । स्वास्थ्यमा पनि उस्तै समस्या छ । शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधान गर्नका लागि जुन मन्त्रालय दिए पनि त्यसमा काम गर्न हामी तयार छौँ ।

कतिवटा मन्त्रालय माग्नुहुन्छ ?  

अहिले जनताले हामीलाई म्याण्डेट दिएको अनुसार र गठबन्धनको सरकारका लागि हाम्रो पार्टी निर्णायक पनि भएको हुनाले हामीले कम्तीमा ३ वटा मन्त्रालयमा दाबी गरिरहेका छौँ । कम्तीमा हामीले ३ वटा मन्त्रालय पाउनुपर्‍यो, प्रधानमन्त्रीको शिर निहुरिने गरी हामी काम गर्ने छैनौँ । हामीले मागेको मन्त्रालय दिनुभयो भने हामी सक्षम भएर काम गर्नेछौँ ।

३ वटा मन्त्रालय माग्ने भनेर पार्टीले निर्णय गरिसकेको हो ?

हाम्रो पार्टीले निर्णय गरिसकेको छैन, किनभने पहिलो प्रस्ताव सरकार बनाउने दलले हामीलाई दिइसकेपछि हामीले निर्णय गर्ने हो । अहिलेसम्म हामीलाई सरकारमा सहभागी हुनका लागि प्रस्ताव आएको छैन ।

हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष सीके राउतले सम्पूर्ण पार्टीका अध्यक्षहरूलाई भेटघाट गरेर आफ्नो प्रस्ताव राख्नुभएको छ । यदि ती प्रस्ताव अनुसार काम गर्ने वातावरण उहाँहरूले सिर्जना गर्नुभयो भने र पत्र पठाउनुभयो भने हामी निर्णय गर्छौँ ।

तपाईंं पनि मन्त्रीको दाबेदार हो ?   

म पनि हुन सक्छु ।

तपाईंंको पार्टी अध्यक्ष पनि मन्त्रीको दाबेदार हो वा आफू सरकारमा नबसेर अरूलाई पठाउनुहुन्छ ?

नेपालमा अहिले जे जति पार्टी छन्, तिनका नेताहरू भन्दा हाम्रो पार्टी अध्यक्ष सबैभन्दा सक्षम हुनुहुन्छ । उहाँको शैक्षिक योग्यताले गर्दा, उहाँको व्यक्तिगत योग्यताले गर्दा, उहाँ नेताहरूमध्ये श्रेष्ठतामा एक नम्बरमा पर्नुहुन्छ । उहाँले के गर्नुहुन्छ, म भन्न सक्दिनँ तर उहाँले कुनै मन्त्रालय लिनुभयो भने हामीलाई गर्व लाग्छ, नेपाल नै गौरवान्वित हुन्छ । एउटा वैज्ञानिक मान्छे, उहाँले देशलाई परिवर्तनतिर लैजानुहुन्छ । पार्टीले के निर्णय गर्छ, त्यसमा भर पर्छ । पार्टीले निर्णय गर्‍यो भने म पनि मन्त्री हुन्छु ।  

तपाईंंको पार्टीमा सबैजना मन्त्रीको आकांक्षी होलान् जस्तो छ नि ?

हाम्रो पार्टीमा यो नै मन्त्री बन्नुपर्छ भन्ने त्यस्तो केही पनि छैन । पार्टीले निर्णय गर्छ । पार्टीले जसलाई मन्त्री बनाउने निर्णय गर्छ, हामीलाई त्यही नै सर्वस्वीकार्य हुनेछ । किनभने हामीले पहिला पनि नमुना देखाइसकेका छौँ । अरू पार्टीलाई समानुपातिकको सांसद छान्नका लागि हप्तौँ लाग्यो, हामीले सबैभन्दा पहिला नै त्यसको लिष्ट बुझायौँ ।

तपाईंंहरू सरकारमा जानुभयो भने अरू पार्टीबाट मन्त्री भएकाले गर्ने काम र तपाईंंको पार्टीबाट मन्त्री भएकाले गर्ने काममा के फरक हुन्छ ?  

अहिले हाम्रो पार्टीबाट जतिजना सांसद बन्नुभएको छ, सबै साथीहरू तल्लो तहबाट आउनुभएको छ । घर–घरको समस्या, गाउँ–गाउँको समस्या हामीलाई थाहा छ । हामी १० वर्ष घरघर चाहारेका हौँ, गाउँगाउँ चाहारेका हौँ । त्यसकारण अरू पार्टीको भन्दा हाम्रो सोच नै फरक छ किनभने हामीले वास्तविक समस्या देखेका छौँ कि कसरी मान्छे भोकभोकै मरिरहेको छ । या अब शीतलहरमा मानिस कसरी मर्छ ? काठमाडौँमा बस्नेलाई के थाहा ? यहाँ जति पनि ठूलाठूला सांसदहरू, माननीयहरू भएका छन्, ५० प्रतिशत त यो काठमाडौंको मात्र चक्कर काट्नेहरू छन् । तर हामी गाउँगाउँमा चाहारेर आएको हुनाले वास्तविक समस्या हामीलाई थाहा छ कि त्यसलाई हामी पूरा गर्छौ, त्यो नै हामीले गर्ने कुरामा फरक हुन्छ ।

तपाईंंको पार्टी अध्यक्ष विभिन्न राजनीतिक दलका मुख्य नेताहरूसँग भेटिसक्नुभएको छ । उहाँहरूबाट कस्तो सन्देश पाउनुभएको छ ?

चुनावभन्दा पहिला सबै दलका नेताहरूलाई भेट्ने उहाँको चाहना थिएन । जनताले जिताइसकेपछि, नेता भइसकेपछि पार्टी अध्यक्षको हैसियतले सम्पूर्ण शीर्ष नेतालाई भेट्नुभयो । त्यो भेटघाटमा उहाँले किसानको समस्या, नागरिकता समस्याको स्थायी समाधानको कुरा उठाउनुभएको छ । यहाँ रोजगारीको वातावरण सिर्जना गरौँ, हरेक दिन युवाहरू विदेश गइरहेका छन्, त्यसलाई रोकौँ । रोजगारी दिने वातावरण राखौँ भन्ने खालको प्रस्ताव राख्नुभएको छ । उहाँले भने अनुसार सबै नेता सकारात्मक हुनुहुन्छ । हामीलाई सरकारमा लैजान सबै पार्टीहरू सकारात्मक छन् ।  

हेर्नुहोस् भिडियो ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप