आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चार्ल्स शोभराजको विषयमा फ्रान्सेली दूतावास मौन

टिकटको पर्खाइमा शोभराज
शुक्रबार, ०८ पुस २०७९, १२ : ०७
शुक्रबार, ०८ पुस २०७९

सिरियल किलरका रुपमा कुख्यात फ्रान्सेली नागरिक चार्ल्स गुरुमुखले केही दिन नेपालमै बस्न मन गरेको भएपनि उनलाई यथासक्य छिटो फ्रान्स पठाउने तयारी गरिएको छ । शोभराजले केही दिन गंगालाल अस्पतालमा बसेर उपचार गराउने इच्छा देखाएपनि विभागले त्यसमा अनुमति दिने वा नदिने निर्णय गरेको छैन ।

शोभराजका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोपाल शिवाकोटीका अनुसार अध्यागमन विभागले शोभराजलाई छिटो फ्रान्स पठाउने गरी तयारी गरेको छ । सर्वोच्च अदालतले १५ दिनभित्र डिपोर्ट गर्न आदेश दिएका कारण नेपालको अध्यागमन विभाग छिटोभन्दा छिटो शोभराजलाई फ्रान्स पठाउने पक्षमा रहेको बताए । 

अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार शोभराजका तर्फबाट टिकट र ट्राभल डकुमेन्ट लगायतका कागजात प्राप्त भएलगत्तै उनलाई डिपोर्ट गर्ने तयारी गरिएको छ । तर डिपोर्ट कहिले हुन्छ भन्ने विषयमा भने शोभराजले नै टिकट र कागजात ल्याएपछि भन्न सकिने उनले बताइन् । निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले रातोपाटीसँग् भनिन्, ‘हामी त जहिले पनि तयार नै छौँ । उनले आजै टिकट र कागजात ल्याए आज नै हुन्छ । उनले जति ढिला गर्छन् त्यति नै ढिलो हुन्छ ।’

कारागार कार्यालय जगन्नाथदेवलले प्रहरीमार्फत् शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाउँदै छ । शुक्रबार अध्यागमन विभागले शोभराजलाई बुझेलगत्तै उनलाई फिर्ता पठाउने प्रक्रिया सुरु गर्नेछ ।

टिकट आफैँ काट्नुपर्नेछ शोभराजले
नेपालको अध्यागमन विभागले शोभराजलाई फ्रान्समा डिपोर्ट गर्ने भएपनि टिकट काट्ने दायित्व भने शोभराजकै हुनेछ । शोभराजले फ्रान्स जाने टिकट काटेर कागजात तयार पारेपछि अध्यागमन विभागले सहजीकरण गरिदिनेछ । निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले भनिन्, ‘उनले आजै टिकट ल्याए भने त हामी आजै उनलाई फ्रान्स पठाइदिन्छौँ नि । पहिले उनी आफैंले कागजात तयार पार्नुपर्यो नि ।’

शोभराजलाई फ्रान्स पठाउने कार्यका लागि दूतावासको सहजीकरण छ कि छैन भन्ने सम्बन्धमा निमित्त महानिर्देशक प्रदर्शनी कुमारीले दूतावास संलग्न रही सहजीकरण गर्नसक्ने बताइन् । तर अहिले नै दूतावास संलग्न भइनसकेको उनले बताइन् । 

यता चार्ल्स शोभराजका कानुन व्यवसायी गोपाल शिवाकोटीले हालसम्म फ्रान्सेली दूतावासले कुनै चासो नदिएको बताए । शिवाकोटीले भने, ‘अहिलेसम्म दूतावासको कुनै इन्भल्बमेण्ट देखिएको छैन । शोभराज आफैंले साथीभाइ र परिवारलाई भनेर टिकट काट्न लगाउँदै छन् । अब कहिलेको टिकट आउँछ भन्ने कुराचाहिँ आज साँझसम्म मात्रै थाहा होला । 

नेपालको अध्यागमन विभागबाट डिपोर्ट गर्दा हवाई टिकट र कागजात आफैंले ल्याउनुपर्नेछ । शोभराजको पासपोर्टको मिति गुज्रिसकेका कारण उनले नयाँ पासपोर्ट बनाएर जाने वा दूतावासबाट ट्राभल्स डकुमेन्ट पनि बनाएर ल्याउन सक्नेछन् । दूतावासले ट्राभल डकुमेण्ट नबनाइदिएको अवस्थामा नेपालको अध्यागमन विभाग आफैंले पनि ट्राभल डकुमेन्ट बनाएर उनलाई विमानमा चढाउनेछ । 

शोभराजलाई विमानमा चढाएपछि उनलाई फ्रान्ससम्म पुर्याउने काम सम्बन्धित एयरलाइन्सले नै गर्नेछ । एयरलाइन्सलाई समेत उनको डिपोर्टसम्बन्धी कागजात दिइने भएकाले सिधा उडान भए सिधा उडानबाटै त्यहाँको अध्यागमनको  जिम्मा दिइनेछ । सिधा उडान नभई ट्रान्जिटबाट सम्बन्धित देशमा जाने भएमा त्यसको व्यवस्थापनको जिम्मेवारी नेपालबाट शोभराजलाई उडाउने एयरलाइन्सले लिनुपर्नेछ र उसले अर्को एयरलाइन्सको जिम्मा लगाउनुपर्नेछ । सम्बन्धित देशमा पुगेपछि एयरलाइन्स कम्पनीले त्यहाँको अध्यागमनको जिम्मा लगाउनेछ ।

शोभराजलाई हिरासतमै राख्ने तयारी 

अध्यागमन विभागले चार्ल्स शोभराजलाई कसैको जिम्मा नलगाई प्रहरीकै हिरासतमा राख्न पठाउने तयारी गरेको छ । अध्यागमन नियमावलीले तोकिएको स्थानमा राख्न पठाउन सक्नेछ भन्ने व्यवस्था रहेको भन्दै विभागको आफ्नै हिरासत नभएको कारण प्रहरीकै हिरासतमा राख्न पठाउने तयारी गरेको छ ।

निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार उनलाई कसैको जिम्मा दिने भन्दै पनि तोकिएको स्थानमा राख्न पठाउने तयारी गरिएको छ । तोकिएको स्थान भन्नाले जहाँ पनि हुनसक्ने उनले बताइन् । यद्यपि सुरक्षा चुनौती र जिम्मेवारीका कारण पनि बाहिर होटल वा कसैको जिम्मामा छाड्ने नभइ हिरासतमै पठाउने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप