शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लोसपालाई किन लिइएन सरकारमा ?

बिहीबार, १४ पुस २०७९, १४ : १४
बिहीबार, १४ पुस २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा बनेको सरकारलाई सातवटा दलसहित तीनजना स्वतन्त्र सांसदले समर्थन गरेका छन् । अहिले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई समेत ल्याउने प्रयास भइरहेको छ तर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालबारे भने केही चर्चा छैन । 

नेकपा एमालेका अध्यक्ष ओलीले सबै दलका नेताहरुलाई बालकोटमा बोलाएर छलफल गरेर गठबन्धन सरकारलाई समर्थन गरेका थिए तर लोसपालाई एकपटक पनि नसोधेको पार्टीका एक नेताले बताए । ‘एमाले–माओवादी गठबन्धनले लोसपालाई बोलाएको भए छलफलका लागि जान्थ्यो । तर बोलाउँदै नबोलाएपछि कसरी जाने ?,’ लोसपाका एकजना कार्यकारिणी सदस्यले भने, ‘हामी सरकारमा आउँदैछौँ, हामीलाई पनि लिनुस् भन्दै जाने कुरा हुँदैन । उताबाट प्रस्ताव आएको भए हामी पनि छलफल गर्थ्यौँ । तर कुनै प्रस्ताव नै आएन ।’

लोसपाको हिजो बसेको पदाधिकारी बैठकमा पनि सरकारको विषयमा कुरा उठेको थियो । रुपेन्देही–४ बाट प्रतिनिधि सभा सदस्यमा जितेका पार्टीका कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले सरकारलाई सहयोग गर्न प्रस्ताव आए आफूहरूले पनि सहयोग गर्नुपर्ने धारणा बैठकमा राखेका थिए । सबै दलले समर्थन गरिसकेपछि लोसपामात्र बाहिर बस्न नहुने र समर्थन गरेर सरकारमा जाँदा राम्रो हुने उनको धारणा थियो । सरकारलाई समर्थन गरेर सहभागी भए प्रदेशमा पनि संगठनका लागि राम्रो हुने उनको सुझाव रहेको स्रोतले जनाएको छ । 

त्यसको जवाफमा कार्यकारिणी सदस्य एवं प्रतिनिधि सभा सदस्य शरतसिंह भण्डारीले सरकार बनाउनेहरूले कुनै प्रस्ताव नगरेकाले लोसपा आफै अग्रसर भएर त्यसका लागि प्रयास गर्न नहुने भनेका थिए । ‘यदि उताबाट कुनै प्रस्ताव आयो भने त्यसको बारेमा पार्टीले सोच्न सकिन्छ,’ उनले बैठकमा राखेको कुरा उद्धृत गर्दै पार्टीका एक नेताले बताए । 

सरकारमा नलिनुको कारण

लोसपा र एमालेको राम्रो सम्बन्ध रहँदै आएको थियो । राष्ट्रिय सभा चुनाव, स्थानीय तहको चुनावमा दुई दलको बीचमा सहकार्य पनि भएको थियो । आम चुनावमा पनि गठबन्धन बनाएर जाने एमाले र लोसपाबीच सहमति भएको थियो । त्यसका लागि दुवै पार्टीका कार्यदल पनि गठन भएको थियो । तर तत्कालीन सत्ता गठबन्धनबाट जसपा बाहिरिएपछि लोसपा हतारहतार एमालेलाई छाडेर काँग्रेससँग वार्ता गरी गठबन्धनमा सामेल भएको थियो । 

यही कुरामा एमालेको चित्त दुखाई रहेको बुझिएको छ । हुन त त्यही सत्ता गठबन्धनले एमालेको विरुद्धमा मोर्चाबन्दी गरेपछि जसपाबाट विद्रोह गरेर अहिले लोसपा गठन गरेका नेताहरूले तत्कालीन प्रधानमन्त्री ओलीलाई सघाएको थियो । संसद विघटनदेखि लिएर सरकार टिकाउनेसम्ममा लोसपाका नेताहरूले साथ दिएका थिए । तर जब जसपाले छाडेको गठबन्धनमा लोसपा सहभागी भयो, एमालेसँग सम्बन्ध बिग्रिएको र त्यही कारणले एमालेले नबोलाएको लोसपाकै कतिपय नेताहरू बताउँछन् । 

लोसपालाई अहिलेको गठबन्धनमा नल्याउन जसपाका अध्यक्ष उपेन्द्र यादव पनि बाधक रहेको लोसपाका नेताहरुको गुनासो छ । तत्कालीन सत्ता गठबन्धनमा रहेको बेला पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले लोसपालाई त्यसमा इन्ट्री हुन दिएनन् । अहिले यो गठबन्धनमा पनि लोसपालाई आउन नदिएको गुनासो जसपाका नेताहरूले गरेका छन् । 

लोसपाले एमालेको साथ छाडेपछि उपेन्द्र यादव नेतृत्वको जसपाले नै साथ दिएको थियो । त्यसले गर्दा यी दुई अध्यक्षको बीचमा अहिले राम्रो सम्बन्ध छ । माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डसँग जसपाका अध्यक्ष उपेन्द्र यादवको सम्बन्ध सधैँ राम्रो नै हुन्छ । उपेन्द्र यादवले यी दुवै अध्यक्षलाई विश्वासमा लिएका कारण गठबन्धनमा लोसपाको इन्ट्री गाह्रो हुने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप