आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

दोस्रो वानडेमा न्युजिल्याण्डलाई हराउँदै अस्ट्रेलियाद्वारा श्रृंखलामा बराबरी

शनिबार, २३ माघ २०७२, १४ : ३६
शनिबार, २३ माघ २०७२

वेलिङटन – च्यापल ह्याड्ली ट्रफी अन्तरगत दोस्रो एकदिवसीय खेलमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै अस्ट्रेलियाले श्रृंखलामा १–१ को बराबरी गरेको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको २ सय ८२ रनको लक्ष्य अस्ट्रेलियाले २१ बल बाँकी छँदै पछ्यायो । शनिबार वेलिङटनको वेस्ट प्याक स्टेडियमा भएको खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले उत्कृष्ट शुरुवात गर्यो । ओपनरद्वय उसमान ख्वाजा र डेभिड वार्नरले पहिलो विकेटका लागि १ सय २२ रनको साझेदारी गरे । ख्वाजाले ५० रन बनाए भने वार्नरले सर्वाधि ९८ रनको योगदान दिए । उनी मात्र दुई रनले शतक बनाउनबाट चुके । तर, मध्यक्रम भने नाटकीय रुपमा पतन हुँदा अस्ट्रेलिया ६ विकेटको क्षतिमा १ सय ९७ रनमा पुगेको थियो । त्यसपछि मेचेल मार्स र जोन ह्यास्टिङले आफ्नो टोलीको इनिङ सम्हाले । मार्सले ६९ र हेस्टिङले ४८ रन बनाउँदै अस्ट्रेलियालाई विजयी बनाए । न्युजिल्याण्डमा अस्ट्रेलियाले सफलतापूर्वक पछ्याएको यो सबैभन्दा ठूलो स्कोर हो । न्युजिल्याण्डका लागि मिचेर स्यान्टनरले ३ तथा म्याट हेनरीले २ विकेट लिए । यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको न्युजिल्याण्डले केन विलियम्सको ६० तथा मिचेल स्यान्टनरको ४५ रनको मद्दतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमो २ सय ८१ रन बनाएको थियो । अस्ट्रेलियाका लागि जोस हेजलवुडले ३ तथा स्टक बोल्याण्ड, एडम जाम्पा र मिचेल मार्सले २–२ विकेट लिए । तीन खेलको श्रृंखालाको पहिलो खेलमा अस्ट्रेलिया न्युजिल्याण्डसँग १ सय ५९ रनले पराजित भएको थियो । अन्तिम तथा निर्णायक खेल फेब्रुअरी ८ मा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप