आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

मगर पहिरनमा उपेन्द्र, भने, ‘वर्तमान संविधान मरे तुल्य’

शनिबार, २३ माघ २०७२, १९ : २६
शनिबार, २३ माघ २०७२

काठमाडौं – संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान मृत रहेको बताएका छन् । शनिबार फोरमसम्बद्ध संघीय मगर संघको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा अध्यक्ष यादवले तीन दल आफैले उत्कृष्ट भन्दै आएको संविधान संशोधन गरिनुले मृत तुल्य रहेको प्रमाणित गरेको बताएका हुन् । उनले वर्तमान संविधानले अन्तरिम संविधानको व्यवस्था, विगतमा पहिचान र सामथ्र्यका आधारमा गरिएको राज्य पुनर्संरचनाको खाकाअनुरुप संघीय प्रदेश निर्माण र मधेस आन्दोलनलगायत आदिवासी जनजातिसँग भएका विभिन्न समयका सहमति संविधानमा उल्लेख नगरेसम्म आन्दोलन जारी रहनेसमेत बताए । ‘वर्तमान संविधान जालझेलपूर्ण तरिकाले निर्माण गरिएको छ,’ अध्यक्ष यादवले भने, ‘यसैले प्रतिगामी संविधान हामीले जलाउनु परेको हो ।’ साथै, यादवले एमाले, कांग्रेस र एमाओवादीले मिलेर पहिचानलाई समाप्त पार्ने गरी संविधान निर्माण गरेको जिकिर गरे ।

उनले तीनका सीमित पण्डितहरु बसेर राज्य पुनर्संरचनाको सवालमा मगर बाहुल्य भूमिलाई छिन्नभिन्न पार्ने काम गरेको जनाए । ‘आदिवासी जनजातिमा सबैभन्दा बढी जनसंख्या भएको मगर समुदायको भूमि टुक्र्याउने काम भयो,’ उनले भने, ‘यो सरासर मगरहरुलाई आफ्नो भूमिभित्र सत्ता स्थापित गर्न नदिने प्रपञ्चबाट भएको छ ।’ अध्यक्ष यादवले मगरात भूमिमा मगर बाहुल्य रहे भोलि मुख्यमन्त्री र स्थानीय सत्तामा पडक हुने भयले तीन दलका ठालुले यस्तो षड्यन्त्र गरेको आरोप लगाए । ‘मधेसीको मात्रै होइन,’ उनले भने, ‘संघीय समाजवादीले हिमाल, पहाड र मगरहरुको अधिकारको लागि पनि संघर्ष गरिरहेको छ ।’ कार्यक्रममा सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पृथ्वीनारायण शाहले षड्यन्त्रपूर्वक मगरात राज्य हत्याएपनि अहिलेका शासकहरुले मगरहरुलाई अधिकारविहीन बनाउने खेलमा लागेको बताए । उनले एमाओवादीका अध्यक्ष प्रचण्डको विगतको भाषण स्मरण गराउँदै भने, ‘प्रचण्डले पहिचानसहितको स्वायत्त राज्य दिने भनेपनि अहिले आएर बिर्सिएको देख्दा अचम्म लागेको छ ।’ यसैगरी, केन्द्रीय सदस्य तथा मगरात इन्चार्ज नवीन रोकामगरले मधेस आन्दोलनमा साथ दिन मगरहरुपनि शीरमा कफन बाँधेर एक्यबद्धता दिन जाने धारणा राखे । उनले हाल नेपालमा सिंहदरबार चलाउने र जनताको अधिकारनिम्ति संघर्ष गर्ने दुइटा पार्टीमात्रै रहेको जिकिर गरे । ‘सिंहदरबार चलाउने एमाले, कांग्रेस र एमाओवादीले जनतालाई अधिकार दिँदैन,’ उनले मगर समुदायमाझ भने, ‘यसैले संघीय समाजवादी फोरममात्रै जनताको निम्ति संघर्ष गर्ने एक्लो पार्टी हो ।’ विभिन्न पार्टीबाट दर्जन बढी प्रवेश सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक दर्जन बढी संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा सत्तासिन पार्टीका कार्यकर्ताहरु रहेका छन् । नेकपा माओवादी परित्याग गरी सिन्धुलीबाट तेजबहादुर मगर, बद्रीकुमार जर्गामगर, देव थापामगर, चित्र लामिछाने, सरोज मगर, अर्जुन मगर छन् । सोही पार्टीका रुकुम जिल्लाबाट अञ्जली बुढामगर धनरुजी बुढामगर छन् । एमाले परित्याग गरी सिन्धुलीबाट इन्द्र पुलामी मगर, इलामबाट भगवती सोराली मगर छन् । एमालेबाटै जय बुढामगर, बालकुमारी बुढामगर छन् । त्यसैगरी चेतन घर्तिमगर, धमान पुनमगर रोल्पाबाट संघीय समाजवादीमा प्रवेश गरेका छन् । पाल्पाबाट कांग्रेसका दीपक कुमार देंगा छन् । उनीहरुलाई पार्टी अध्यक्ष यादवले खाँदा ओढाएर सम्मान गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप