आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

निगमका ट्याङ्कर रक्सौलतर्फ, सोमबार बिहानदेखि इन्धन भरिने

शनिबार, २३ माघ २०७२, २३ : ०२
शनिबार, २३ माघ २०७२

वीरगन्ज — वीरगन्ज–रक्सौल भन्सार नाका सञ्चालन भएपछि नेपाल आयल निगमले इन्धन भर्न केही ट्याङ्करलाई आज भारतीय आयल निगम रक्सौल डिपोमा पठाएको छ ।

सीमावर्ती रक्सौलस्थित भारतीय भन्सार र भारतीय आयल निगम रक्सौल डिपोका अधिकारीले इन्धन भर्न ट्याङ्कर पठाइदिन भनेपछि निगमले त्यसतर्फ ट्याङ्कर पठाएको निगमको वीरगन्ज कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, आज बिहान करिब १२ वटा ट्याङ्कर इन्धन भर्नका लागि रक्सौल डिपोतर्फ पठाइएको हो ।

शुक्रबार र शनिबार ट्यांक पठाए पनि आइतबार भारतमा बिदा हुने भएकाले आइओसीले सोमबार बिहानदेखि इन्धन भरेर पठाउने जानकारी दिएको अमलेखगञ्ज डिपोका क्षेत्रीय प्रबन्धक भानुभक्त खनालले बताए । केही अनलाइनमा भारतीय आइओसीले तेल भर्न नमानेको समाचार सत्य नभएको बताउदै त्यसमा विश्वास नगर्न समेत उनले भने । 'केही सञ्चारमाध्यमले भारतले तेल भर्न मानेन भनेर समाचार छापेपछि मलाई दिनभर फोन आएर तनाव गऱ्यो । सोमबारबाट तेल भर्ने कुरा भएको छ,' उनले भने ।

लामो समयदेखि अवरुद्ध रहेको वीरगन्ज–रक्सौल भन्सार नाका शुक्रवार दिउँसोवाट खुलेपछि निगमले रक्सौल डिपोमा इन्धन भर्न ट्याङ्कर पठाएको हो । यस नाकावाट असोज ७ गतेयता कुनै पनि ट्याङ्कर रक्सौल डिपोमा इन्धन भर्न गएका थिएनन् । यसअघि पेट्रोलियम पदार्थ भरेर नेपाल ल्याउन लगिएका ट्याङ्करलाई आन्दोलनकारीले अवरोध गरेपछि रिरुट गरेर विराटनगर, भैरहवा लगायतका नाकाबाट नेपाल भित्र्याइएको थियो ।

यो नाका सञ्चालनमा नआएसम्म मुलुकमा इन्धनको आपूर्ति सहज हुन सकेको छैन । मुलुकमा खपत हुने कुल इन्धनको ७० प्रतिशत पेट्रोल, डिजेल यही नाका भएर भित्रिने गरेका छन् ।

त्यस्तै, खाना पकाउन प्रयोग हुने एलपी ग्यासको ८० प्रतिशत र हवाई इन्धनको ९० प्रतिशत यही नाकाबाट भित्रिने गरेको निगमको अमलेखगन्ज डिपोले जनाएको छ । स्थानीयवासी र सीमावर्ती भारतीय सहर रक्सौलका व्यापारीले शुक्रबार दिउँसोदेखि सञ्चालन गराएको वीरगन्ज–रक्सौल भन्सार नाका आज पनि निर्बाध रुपमा सञ्चालनमा रहेको छ ।

नाका भएर बिहानैदेखि मालवाहक ट्रक लगायतका सबै प्रकारका सवारीसाधान निर्बाधरुपमा नेपाल भित्रिरहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । नाका सञ्चालनसँगै त्यहाँकोे सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । मधेसकेन्द्रित दलको आह्वानमा नेपाल–भारत मुख्य नाकाको सीमामा पर्ने मितेरी पुलमै गत असोज ७ गतेदेखि आन्दोलनकारी धर्नामा बसेर नाका ठप्प पारेपछि यहाँवाट हुने आयात निर्यात पूर्णरुपमा ठप्प भएका थिए ।

मोर्चा कार्यकर्ता धपाइए

यसैबीच, नाका अवरुद्ध गर्न गएका मधेसी मोर्चाका कार्यकर्तालाई दुबै देशका स्थानीय व्यापारीले नाका अवरुद्ध गर्न दिएका छैनन् ।

मोर्चाले पुनः नाका अवरुद्ध गर्ने बताएपछि सीमावर्ती दुबै देशका व्यापारीले मितेरी पुलमा पुगेर मोर्चाका कार्यकर्तालाई धपाएका थिए ।

त्यस क्रममा सीमास्थित मितेरी पुलमा धर्ना बस्न आएका मोर्चाका कार्यकर्ता र सीमावर्ती भारतीय सहर रक्सौलका व्यापारीबीच केहीबेर झडप भएको थियो । झडपपछि मितेरीपुल र आसपासको क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो । अहिले त्यहाँको अवस्था सामान्य छ ।

झडपपछि मोर्चाका कार्यकर्ता त्यहाँवाट हटेका छन् भने नाका सञ्चालन भएको छ । यसअघि मोर्चाले नाका पुनः अवरुद्ध गर्ने निर्णय गरेको थियो । मोर्चाको यहाँ बसेको बारा र पर्साको संयुक्त बैठकले मोर्चाको केन्द्रीय तहवाट आधिकारिक निर्णय नआएसम्म आज दिउँसो २ बजेदेखि वीरगन्ज–रक्सौल नाका अवरुद्ध गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयका आधारमा मोर्चाका कार्यकर्ता नाका अवरुद्ध गर्न मितेरी पुलमा पुगेका थिए । तर दुबैतिरका स्थानीय व्यापारीको अवरोधका कारण नाका जाम हुन सकेन भने नाकाबाट साना सवारीसाधन, मालवाहक ट्रक, कन्टेनरलगायत सबै सवारीसाधन निर्बाधरुपमा सञ्चालन हुन थाले ।

आज र शुक्रबार गरी डेढसयभन्दा बढी मालवाहक ट्रक नेपाल भित्रिएका तथा केही ट्रक रक्सौलतर्फ गएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप