आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

साग २०१६ : नेपालले जित्यो तीन पदक

शनिबार, २३ माघ २०७२, २३ : ४२
शनिबार, २३ माघ २०७२

गुवाहाटी  - १२औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले १ रजत र दुई काँस्यसहित तीन पदक प्राप्त गरेको छ । प्रतियोगिताको दोस्रो दिन भारोत्तोलनको ५३ केजीतर्फ कास्य पदक जित्दै देवी चौधरीले नेपालका लागि पहिलो पदक दिलाएकी हुन् । आज भारतको गुवाहाटीस्थित भोगेश्वरी फुकानानी इन्डोर स्टेडियममा चौधरीले स्न्याचतर्फ ५४ र क्लिन एन्ड जर्कतर्फ ७५ केजी भार उठाइन् ।

कास्य पदक जितेसँगै उनी दक्षिण एसियाली खेलकुदको भारोत्तोलनतर्फ पदक दिलाउने पहिलो महिला खेलाडीसमेत बन्न सफल भइन् । नेपाल पुलिस क्लबबाट खेल्दै आएकी चौधरीले स्न्याचमा कुल १२९ केजी भार बहन गरेकी थिइन् । त्यस्तै भारोत्तोलन खेलका खेलाडी विकास थापाले नेपालका लागि दोस्रो पदक जिते ।

बैसट्ठी केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थापाले रजत पदक हात पार्दै नेपाललाई पहिले रजत पदकसमेत दिलाए ।

गुवाहाटीस्थित भोगेश्वर फुकानी इन्डोर स्टेडियममा भएको प्रतिस्पर्धामा विकासले क्लिन एण्ड जर्कतर्फ १३० केजी र स्न्याचतर्फ ११२ केजीसहित कुल २४२ केजी भार बहन गरेका थिए ।

यता, सरोज यादवले नेपाललाई तेस्रो पदक दिलाए । भारत्तोलनतर्फको ६५ केजी समूहमा उहाँले आज नेपाललाई कास्य पदक दिलाएका हुन् । स्क्वासमा अरहान्त क्वार्टरफाइनलमा प्रवेश

नेपालको स्क्वास खेलाडी अरहान्तकिशोर सिंह भारतमा जारी १२ सागको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

गुवाहाटीस्थित सिटी कन्ट्री स्क्वासहलमा आज अरहान्तले बङ्गलादेशका महमद सोपन फरवेजलाई ३–२ को सेटमा हराएर उनी क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । अरहान्तले १२–१०, १३–१५, ९–११, ११–८, ११–५ को नतिजा निकालेका छन् । क्वार्टर फाइनलमा अरहान्तले पाकिस्तानका नासिर एकवालसँग प्रतिस्पर्धा गर्नेछन् । क्वार्टर फाइनलमा नासिरलाई हराउन सके अरहान्तको कम्तीमा काँस्य पदक पक्का हुनेछ ।

दुई वर्ष बेलायतको वाइस्लिफे कलेजमा पढेर नेपाल फर्किएका अरहान्त सागको छनोट प्रतियोगितामा च्यम्पियन भएका थिए ।

आजकै अर्को खेलमा पहिलो बरियतामा अमृत थापामगर बङ्गलादेशका मोहमद सुमनसँग ३–२ को सेटमा पराजित भएका छन् ।

पहिलो सेटमा ११–९ को अग्रता बनाएका अमृत दोस्रो र तेस्रो सेटमा क्रमशः ६–११, ५–११ ले पछि परे । चौथो सेटमा ११–३ को अग्रता बनाए पनि अन्तिम सेटमा अमृत ११–५ ले पराजित भएका थिए ।

प्रतियोगिताअन्तर्गत नेपालले शनिबार नै महिलातर्फ कृष्णा थापाले भारतको जोसना चिनप्पासँग, भावना सुनारले पाकिस्तानकी मारियाटुर पाकिउजिरसँग खेल्ने छन् ।

नेपाली स्क्वास टोलीका प्रशिक्षक एवम् व्यवस्थापक सुरेश गुरुङले स्क्वासमा नेपालको प्रतिद्वन्द्वी भारत र पाकिस्तान भएको बताए ।

“व्यक्तिगत स्पर्धामा हामीलाई गाह्रो छ” – उनले भने “समूह स्पर्धामा नेपालले पदक जित्न सक्छ ।” स्क्वासमा नेपालबाट चार पुरुष र तीन महिला खेलाडीले भाग लिएका छन् ।

नेपालले महिला र पुरुष दुवैमा व्यक्तिगत र समूहगत विधामा प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ भेट्रान्स खेलाडी हीराबहादुर थापाले चौथो पटक सागमा प्रतिस्पर्धा गर्दैछन् ।

सागमा नेपालले हालसम्म महिलाको समूहगत स्पर्धामा काँस्य पदकमात्र जितेको छ । सन् २००६ मा कोलम्बोमा सम्पन्न १०औँ सागमा नेपाली महिला टोलीले काँस्य पदक जितेको थियो । उक्त समूहमा कृष्णा थापा, भावना सुनुवार, क्षितिज गुरुङ र मनिदा शाह थिए । कृष्णा र भावना अहिले पनि टोलीमा छन् ।

यसैबीच दक्षिण एसियाली खेलकुदमा स्वासतर्फ स्वर्ण जित्ने खेलाडीलाई रु एक लाख नगद पुरस्कार दिने घोषणा गरिएको छ । नेपाल स्क्वास एण्ड ¥याकेट्स सङ्घका अध्यक्ष किशोर महर्जनले व्यक्तिगततर्फबाट स्वर्ण जित्ने खेलाडीलाई रु एक लाख, रजतलाई रु ५० हजार र काँस्यलाई रु २० हजार पुरस्कार दिने घोषणा गर्नुभएको छ ।

सागको पौडीमा दुई राष्ट्रिय रेकर्ड ब्रेक

भारतमा जारी १२औँ दक्षिण एसियाली खेलकुदमा नेपाली पौडीका दुई खेलाडीहरुले राष्ट्रिय रेकर्ड ब्रेक गरेका छन् ।

आज गुवाहाटीमा भएको खेलमा शोफिया शाह र गौरिका सिंहले पुरानो राष्ट्रिय रेकर्ड ब्रेक गर्दै नयाँ रेकर्ड कायम गरेका छन् । दुवैले हिट्स चरणमा नयाँ रेकर्ड कायम गरेका हुन् ।

शोफिया शाहले २०० मिटर फ्रिस्टाइलतर्फ २ मिनेट १३ दशमलव ८१ सेकेन्डमा नयाँ रेकर्ड कायम गरिन् । उनले गौरिका सिंहको नाममा रहेको १ मिनेट १४ सेकेन्डको रेकर्ड ब्रेक गरिन् ।

त्यस्तै गौरिका सिंहले १०० मिटर बटरफ्लाइमा नयाँ रेकर्ड कायम गरिन् । उनले २ मिनेट १४ दशमलव ६८ सेकेन्डमा दूरी पूरा गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप