मोर्चामा विवाद : राजतन्त्र फर्काउन लागेको भन्दै राजेन्द्र महतोलाई मोर्चाबाट निष्कासन गर्न माग
काठमाडौं – संघीय समाजादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले राजेन्द्र महतो राजतन्त्र फर्काउने खेलमा लागेको गम्भिर आरोप लगाउँदै आइतबार बस्ने मोर्चाको बैठकले कारवाही गर्नुपर्ने माग गरेका छन् । समाजिक सञ्जाल फेसबुकमा लेख्दै चौरसियाले महतो पूर्व राजा ज्ञानेन्द्र, प्रधानमन्त्री केपी ओली र कमल थापासँग मिलेर राजतन्त्र फर्काउन लागि परेको आरोप लगाएका हुन् । चौरसियाले महतोलाई मधेस आन्दोलन तुहाउने ‘गद्दार’ को संज्ञा समेत दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘पहाडे विरोधी, स्टन्टबाज र विवादास्पद नेता राजेन्द्र महतोले तत्काललाई मधेश आन्दोलन तुहाउन सफल भए । महतोले मधेशलाई फेरि धोका दिए । किनकि, महतो मधेशका लागि होइन, पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीका लागि सक्रिय थिए, छन् । यो भन्दा बढी महतोसँग अपेक्षा गर्न हुन्न । पूर्वराजा ज्ञानेन्द्र, केपी ओली र कमल थापासँग मिलेर राजतन्त्र फर्काउने खेलमा लागेर मधेश आन्दोलन तुहाउने गद्दार राजेन्द्र महतोलाई आज दिउँसो बस्ने मोर्चाको बैठकले कारबाही गरेर तत्काल टीमबाट अलग गरोस् ।’ चौरसियाले महतोमाथि आजीवन मन्त्री हुँदा अकूत सम्पत्ति कुम्ल्याएको रअख्तियारको कारबाहीमा परेर जेल जानबाट जोगिनका लागि शक्ति केन्द्रहरुको गोटी बनेको आरोप समेत लगाएका छन् । उनी थप लेख्छन्, ‘पूर्वराजा वादी बद्री प्रसाद मण्डल अहिले सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । नियत र उद्देष्य बुझ्न यो तथ्य काफी छ । गद्दारको संगतले युद्ध जितिदैँन, यो यथार्थ उपेन्द्र यादव र महन्थ ठाकुरले पनि राम्ररी बुझेको हुनु पर्छ । मोर्चा र मधेशलाई अब महतो जस्ता प्रतिघाती नेताको साथ चाहिँदैन ।’
नाका खुलेपछि मोर्चामा विवाद बढ्यो १ सय ३५ दिनसम्म पूर्णरुपमा ठप्प रहेको वीरगन्ज–रक्सौल नाका शुक्रबार स्थानीय र भारतीय व्यापारीको प्रतिकारमा एकाएक खुल्यो । तमलोपाका महामन्त्री जितेन्द्र सोनल, सांसद् लालबाबु राउत लगायत नेता कार्यकर्ता पुगेर नाका पुनः बन्द गर्न खोज्दा उनीहरु लखेटिए । संयोगवस महतोले अब नाका खोल्नुपर्छ भनेको भोलीपल्टै नाका खुल्यो । उनले अर्को दिन मिडियामा सोही कुरा दोहोराए भने प्रचण्डसँगको भेटमा पनि अब नाका खालेर संवादबाटै समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । जनताले दुःख पाएको र तस्करी बढेको भन्दै नाका खोलिएको उनको तर्क छ । नाकाबन्दीको सबैभन्दा बढी पक्षपाती रहेका महतो एकाएक युटर्न भएपछि वीरगञ्ज नाका खोल्नुमा उनकै हात रहेको भन्दै शुक्रबारनै मोर्चाका नेताहरुबीच आरोप प्रत्यारोप शुरु भएको थियो ।
वीरगञ्ज नाका खुलाउन महतोको ‘ग्रीन सिग्नल’ ? : नाका खुलेपछि मोर्चाभित्र आरोप-प्रत्यारोप
सद्भावना पार्टीका महासचिव भन्छन्, ‘फेसबुके कुराको केही अर्थ छैन’ यता, चौरसियाको फेसबुकमा आएको टिप्पणीबारे सद्भावना पार्टीका महासचिव मनिस सुमनले फेसबुके प्रतिक्रियाको कुनै अर्थ नरहने बताए । ‘फेसबुकमा मेरा हजारौं साथी छन् । उनीहरुले लेख्ने हरेक कुराको म प्रतिक्रिया दिन आवश्यक ठान्दिन । औपचारिक बैठकमा कुरा उठ्नुपरयो,’ उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण