आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

महिलाले सोधे ‘एसपी साहेब हामीमाथि अनेक हिंसा हुन्छ, त्यस्तालाई कारबाहीको दायरामा कसरी ल्याउने’

सोमबार, २५ माघ २०७२, १५ : २८
सोमबार, २५ माघ २०७२

भक्तपुर– ‘एसपी साहेब हामीमाथि अनेकथरि हिंसा हुन्छ, त्यस्तालाई कसरी कारबाहीको दायरामा ल्याउने ?’ सयौं महिलाको माझबाट उभिएर मध्यपुरथिमि नगरपालिका बस्ने रोजिना खड्काले प्रश्न गरिन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख एवम् प्रहरी उपरिक्षक किरण बज्राचार्यले लगत्तै भने—‘महिलामाथि हुने हिंसा सहने र लुकाउने होइन, यसलाई प्रहरीसम्म पु¥याउनुपर्छ भन्ने पहिला तपाइँहरु आँट गर्नुस्, त्यसपछि जुनसुकै हिंसा गर्नेमाथि पनि कारबाही हुन्छ ।’

समाजमा बढ्दो महिला हिंसा रोक्नका लागि मध्यपुरथिमिस्थित बाबा सहकारी संस्था लिमिटेड महिला उपसमितिले आज आयोजना गरेको महिला प्रहरी प्रमुखसँग महिलाको अन्तरसम्बाद कार्यक्रममा उपस्थित महिलाले सबैभन्दा बढी हिंसाकै प्रश्न उठाए ।

प्रहरी उपरीक्षक बज्राचार्यले ती महिलाको जिज्ञासा मेट्दै आँखा झिम्क्याउने, सिठ्ठी बजाउने, कुनै पनि बाहनामा महिलाको विभिन्न अङ्गमा हात लगेर माया गरेर सुम्सुम्याउने, नजिक हुन खोज्ने पुरुषसँग सर्तक रहन र प्रतिवाद गर्न उहाँले आग्रह गरे ।

महिला हिंसाका यस्ता प्रारम्भिक चरणमा सहेर बसे वा हाँसेर टारिदिए अनि बलात्कारदेखि हत्यासम्मका अपराध हुने बताउँदै उनले त्यस्ता गतिविधिको प्रतिवाद गर्न सहभागी महिलालाई आग्रह गरे ।

प्रहरी उपरीक्षक बज्राचार्यले महिला हिंसाका कतिपय घट्ना आफ्नै घरबाट सुरु हने, कतिपय समाजमा आपराधिक मानसिकता पालेर बस्ने मानिस हुने बताउँदै प्रतिवाद नगर्दा घट्ना बढ्ने गरेको बताए ।

भक्तपुरमा महिला हिंसाको उजुरीको घट्ना बढ्दै गएको औँल्याउँदै उनले २०७१ सालमा १५३ वटा महिला हिंसाको घट्ना उजुरी परेकामा २०७२ सालमा यो सङ्ख्या बढेर २२५ वटा उजुरी परेको जानकारी दिए ।

प्रारम्भिक चरणमा आफ्नो सुरक्षाका लागि महिला आफैँ सक्षम हुनुपर्नेमा जोड दिँदै उनले आफ्नै श्रीमतीलाई पनि उसको मन्जुरीबिना यौनसम्बन्ध कायम गरे कारबाही हुने बताए ।

आँखा झिम्क्याउने, सिठ्ठी बजाउने, जिस्क्याउने, अश्लिल शब्द प्रयोग गर्ने, फेसबुक, मोबाइल म्यासेज, इमेललगायतबाट अश्लिल शब्द लेख्ने, प्रस्ताव गर्ने, फोटो सार्वजनिक गर्नेजस्ता गतिविधिलाई पनि हिंसामै राखेर कारबाही हुने उनको भनाइ थियो ।

प्रहरी उपरीक्षक बज्राचार्यले भने—‘साइवर क्राइम बढ्दैछ, त्यस्ता गतिविधि कसैले गर्छ भने आत्तिने, रुने, आत्महत्या गर्न खोज्नेजस्ता गतिविधि नगर्नुस्, प्रहरीमा आउनुस्, त्यस्तालाई कडा कारबाही गर्छौँ ।’

कार्यक्रममा सहभागी स्वस्तिका कार्कीले अझै पनि कस्ताकस्ता व्यवहारलाई महिला हिंसा भन्ने र कस्ता हिंसालाई कारबाही हुन्छ भन्नेबारेमा महिलालाई जानकारी नहुँदा पनि प्रहरीसम्म सबै खालका हिंसाका घट्ना पुग्न नसकेको बताए ।

सहभागी मध्येबाट यमुना प्रजापति र सङ्गीता श्रेष्ठले समाजमा प्रहरीले महिला हिंसा रोक्न प्रहरीबाटै चेतना अभिवृद्धि गर्नुपर्ने माग गरे ।

चिनेजानेकै व्यक्तिबाट धेरै हिंसाका घट्ना हुने, हात मिलाउने, सुमसुम्याउने, काँध, ढाँड हुँदै छातीमा हात लैजानेजस्ता गतिविधि गर्ने गरेको बताउँदै उनले प्रतिकार नगर्दा बलात्कारसम्मको घट्ना घट्ने गरेको बताए ।

पुरुषले जिस्क्याउदा, स्पर्श गर्दा तत्काल प्रतिकार गर्न आग्रह गर्दै उनले समाजले के भन्ला भन्ने नसोच्न उनले महिलालाई आग्रह गरे ।

कार्यक्रममा बाबा सहकारी संस्थाका अध्यक्ष नवीनप्रकाश श्रेष्ठले महिलाका लागि प्रहरीसँगको साक्षात्कारलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

संस्थाका महिला उपसमिति संयोजक सञ्जु श्रेष्ठले प्रतिकार गर्नसके महिला हिंसाका घट्ना न्यूनीकरण हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप