आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

ठाकुर निवासमा मोर्चाको गोप्य बैठक, सार्वजनिक रुपमा माफी माग्न राजेन्द्र महतोलाई निर्देशन

सोमबार, २५ माघ २०७२, १५ : ४७
सोमबार, २५ माघ २०७२

काठमाडौं – तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको पहलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसेको छ । सानो ठिमीस्थित ठाकुरको निवासमा गोप्यरुपमा विहानै बोलाइएको बैठकमा मोर्चाका नेताहरुले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नाकाबन्दी फिर्ता भएको घोषणा गरेर गल्ती गरेको भन्दै उनले सार्वजनिक रुपमा माफी माग्नुपर्नेमा जोड दिएका थिए ।

संघीय समाजवादी फोरम नेपाल स्रोतबाट प्राप्त समाचार अनुसार महतोले विराटनगरमा दिएको गैर जिम्मेवार अभिव्यक्ति र उनको अप्रत्यक्ष सहयोगले वीरगन्ज नाका खुलेको मोर्चाले निष्कर्ष निकालेको छ । मोर्चाको निर्णय विपरीत वीरगञ्ज नाका खुल्नुमा महतोको महत्वपूर्ण भूमिका रहेको भन्दै स्रोतले भन्यो, ‘महतोजीलाई सच्चिन मोर्चाले मौका दिन चाहेकोले सार्वजनिक रुपमा माफी मागेर आफ्नो गल्ती सुधार्न मोर्चाले निर्देशन दिएको छ ।’

[caption id="attachment_2566" align="alignleft" width="840"] file photo[/caption]

महतोले विरगंज नाका खुल्नु पर्ने अभिव्यक्ति दिनु, त्यसको भोलिपल्टै नाका खुल्नु र लगत्तै प्रधानमन्त्री केपी शर्माओली र एमाओवादी अध्यक्ष प्रचण्डले महतोलाई बधाई दिएपछि उनीहरुको बीचमा प्रष्ट कनेक्सन देखिएको समेत मोर्चामा छलफल भएको थियो । ‘एकाएक नाका खुल्नु र ओली र प्रचण्डजीले उनलाई बधाई दिनुमा प्रष्ट कनेक्सन देखिएको छ , यसले मोर्चालाई सशंकित समेत पारिएको छ’, बैठकबारे भएको छलफलबारे जानकारी दिँदै एक नेताले भने । बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आन्दोलन जारी रहेकेको बेला सद्भावना पार्टीका अध्यक्ष महतोले के कारणले नाकाबन्दी फिर्ता भयो भनेका हुन् सो स्पष्ट पार्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार शुरुदेखि नै मधेश आन्दोलन महतोको कारण आन्दोलन कमजोर हुँदै आएको भनि अध्यक्ष यादवले कडा आलोचना गरेका थिए भने बैठकमा सहभागि महतोसँग चर्काचर्की नै परेको थियो । सो बीचमा यादवको आरोपलाई महतोले पनि प्रतिवाद गरेका थिए । उनले आन्दोलन कसको कारण र किन कमजोर भएको हो त्यसको बारेमा मधेशमा गएर सोध्न उपेन्द्रलाई आग्रह गरेका थिए । ‘ आन्दोलन गर्ने जिम्मेवारी लिने तर ठाउँमा नगएपछि कसरी हुन्छ आन्दोलन’ भनि प्रश्न गर्दै महतोले नाकाहरु खुल्ला भएपछि वीरगञ्ज मात्र किन बन्न गर्ने मात्र भनेको स्पष्ट पारेका थिए । बैठकमा उनले विराटनगर र भैरहवा नाका किन कहिल्यै बन्द भएन भन्दै यादवलाई प्रश्न समेत गरेका थिए । विराटनगरको जिम्मेवारी उपेन्द्र यादव र भैरहवा नाकाको जिम्मेवारी महन्थ ठाकुरको थियो । तर वीरगन्ज नाकाको जीम्मेवारी भने महतोको थियो जुन केहि दिनअघि देखि मात्रै सुचारु भएको हो । बैठकमा महतोले विराटनगरमा बोलेको कुराप्रति अध्यक्ष महन्थ ठाकुरले पनि असन्तुष्टि जनाएका थिए । यसैबीच महतोले आन्दोलनको समिक्षा हुनुपर्ने माग समेत बैठकमा राखेका थिए । उनले आन्दोलनमा कहाँ कसले कमजोरी गरे त्यो सबै कुरा बाहिर आउनुपर्ने भनेपछि फेरि अर्को बैठक बस्ने बताइएको छ । यसअघि राजेन्द्र महतो फर्केलगतै महन्थ ठाकुरले बैठक बसाउनका लागि पहल गरिरहेका थिए । तर उपेन्द्र यादवले महतो सम्मलित बैठकमा नबस्ने भनेपछि बैठक बसिरहेको थिएन । ठाकुरले पटक पटकको प्रयासपछि आज विहान आफ्नै निवासमा बैठक बसाउन सफल भएका हुन् । आजको यो बैठक बस्नुअघि हिजो अध्यक्ष महतोबाहेक तीनै जना अध्यक्षको बैठक बसेको थियो । सो बैठकमा पनि उपेन्द्र यादवले महतोको खुलेर विरोध गरेका थिए । यद्यपी सो बैठकको बारेमा कुनै नेताले केही बोल्न चाहेका छैनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप