शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा लगानी गर्न भारतलाई अर्थमन्त्रीको आग्रह

सोमबार, २५ माघ २०७२, २३ : ००
सोमबार, २५ माघ २०७२

काठमाडौँ– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्ना भारतीय समकक्षी अरुण जेट्लीबीच आज भएको भेटवार्तामा अब भारतका निजी र सार्वजनिक लगानीकर्ताहरुले नेपालको उत्पादनशील क्षेत्रमा लगानी गर्न राम्रो वातावरण बनेको बताएका छन् ।

मानसिंह रोडस्थित होटल ताजमा भएको भेटवार्तामा अर्थमन्त्री पौडेलले गत वैशाखमा नेपालमा गएको भूकम्पमा भारत सरकार र भारतीय जनताले गरेको उद्धार सहयोग र पुनःनिर्माणमा दिइएको प्रतिज्ञाप्रति धन्यवाद व्यक्त गरेको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । सो अवसरमा भारतीय अर्थमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणको योजनामा नेपाल अघि बढेकाले आवश्यक आर्थिक स्रोत एवम् सहयोग गर्न भारत तयार रहेको बताए ।

भारतीय अर्थमन्त्रीले भारत सरकारले उपलब्ध गराउने वचन दिएको ऋण सहायता, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा गरिएको सहयोग राशि एवम् भूकम्पछि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा व्यक्त प्रतिबद्धतानुसार अगाडि बढ्न तयार रहेको उल्लेख गरेका थिए ।

नेपालको आवश्यकता र प्राथमिकतानुसार भौतिक पूर्वाधारका क्षेत्रमा सहायता उपलब्ध गराउन समेत भारत सरकार तयार छ भन्दै अर्थमन्त्री पौडेलसँगको भेटमा उनका समकक्षी जेट्लीले दुई देशबीचको सम्बन्ध नयाँ आधारमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभएको जनाइएको छ ।

आइतबार त्यसतर्फ गएका अर्थमन्त्री पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप