शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस जिल्ला अधिवेशनको नतिजा आउन थाल्यो, कहाँबाट को विजयी ?

सोमबार, २५ माघ २०७२, २३ : ३४
सोमबार, २५ माघ २०७२

काठमाडौँ– नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशनअन्र्तगत मुलुकभर जिल्लाको नयाँ नेतृत्व चयनका लागि आज जिल्ला अधिवेशन सुरु भएको छ ।

काँग्रेसले ७५ वटै जिल्ला कार्यसमितिको अधिवेशन गर्न यही माघ २५ गतेका लागि समय निर्धारण गरेको भए पनि आज ६२ जिल्लामा मात्र जिल्ला अधिवेशनको प्रक्रिया सुरु भएको हो ।

आज अधिवेशन हुन नसकेका १२ जिल्लामध्ये अधिकांश जिल्लामा मधेस केन्द्रित दलको अवरोध र कतिपय जिल्लामा भने आन्तरिक विवादका कारण निर्धारित समयमै प्रारम्भिक तहका अधिवेशन नभएकाले जिल्ला अधिवेशनमा ढिलाइ भएको काँग्रेसले जनाएको छ ।

बारामा फागुन २ गते क्षेत्रीय र ७ गते जिल्ला अधिवेशन हुने जिल्ला सभापति राधेचन्द्र यादवले बताए ।

सप्तरीमा माघ २८ गते जिल्ला अधिवशेन हुने सभापति दिनेश यादवले बताए । त्यस्तै महोत्तरीमा माघ २७ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न हुने र त्यसपछि मात्रै जिल्ला अधिवेशनको मिति तोकिने सभापति महेन्द्रकुमार रायले जानकारी दिए । यसअघि डडेलधुरामा भने आइतबारनै अधिवेशन भइसहेको छ ।

यता सिराहामा आजमात्रै क्षेत्रीय अधिवेशन भएको छ भने जिल्ला अधिवेशनको मिति अझैं तय छैन । धनुषामा सातमध्ये एक निर्वाचन क्षेत्रमा मात्र क्षेत्रीय अधिवेशन सम्पन्न भएको र सबै क्षेत्रको अधिवेशन सम्पन्न भएपछि मात्र जिल्ला अधिवेशन तोकिने सभापति रामसरोज यादवले बताए ।

सर्लाहीमा पनि क्षेत्रीय अधिवेशन आज सोमबार भएको छ भने आगामी फागुन २ गते जिल्ला अधिवशेन हुनसक्ने सभापति लक्ष्मण रायले जानकारी दिए । रौतहटमा क्षेत्रीय अधिवेशन भइरहेको र दुई÷तीन दिनमै जिल्ला अधिवेशन हुने सभापति कृष्णप्रसाद यादवले बताए । पर्सामा यही माघ २८ गते क्षेत्रीय अधिवेशन हुने र त्यसपछि मात्र जिल्ला अधिवेशन तोकिने सभापति सुरेन्द्रप्रसाद चौधरीले जानकारी दिए ।

सिन्धुपलाञ्चोकमा सदरमुकाम चौतारा र बाह्रबिसेमध्ये कुन स्थानमा जिल्ला अधिवेशन गर्ने भन्ने विवाद भएपछि अनिश्चितकालका लागि अधिवशेन स्थगन भएको छ । दाङमा भोलि मङ्गलबार जिल्ला अधिवेशन हुने भएको छ । दाङको क्षेत्र नं ३ को अधिवशेनमा फर्जी मत खसेको भन्ने विवाद भएपछि आज पुनः निर्वाचन भएकाले ढिलाइ भएको हो ।

भक्तपुरमा क्षेत्रीय अधिवेशन गर्न ढिलाइ भएकाले माघ २८ गतेका लागि जिल्ला अधिवशेन तोकिएको सभापति गणेशमान चक्रधरले बताए । त्यस्तै सोलुखुम्बुमा पनि गाउँ नगर अधिवेशनको ढिलाइले मङ्गलबार जिल्ला अधिवेशन हु्ने सभापति आङ्गेलु शेर्पाले बताए ।

केही जिल्लाको अधिवेशन गर्न ढिलाइ भए पनि आगामी फागुन पहिलो सातासम्ममा सबै जिल्लाका अधिवेशन सम्पन्न भइसक्ने केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । यही माघ १५ गते गाउँ र नगर वडा तथा नगरको अधिवेशन गरेको काँग्रेसले क्षेत्रीय अधिवेशन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते गर्ने तालिका सार्वजनिक गरेको थियो । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

जिल्ला अधिवेशनमा एक सभापति, एक सचिव र एक कोषाध्यक्षको निर्वाचन हुन्छ । जिल्ला सदस्यको निर्वाचन क्षेत्रीय अधिवेशनबाटै हुन्छ भने बाँकी पदाधिकारी तथा सदस्य मनोनित हुन्छन् । जिल्ला सभापतिले विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था काँग्रेस विधानमा छ । यसैबीच केहि जिल्लाहरुबाट  निर्वाचनको मत  परिणाम आएको छ ।

झापामा थापा सर्वसम्मत काँग्रेस झापाका सभापतिमा उद्धव थापा पुनः दोस्रो कार्यकालका लागि निर्विरोध चयन भएका छन् ।

सभापतिका प्रत्यासी मानिएका पार्टीका उपसभापति देउमान थेबेले पार्टीभित्र भएको छलफलपछि उम्मेदवारी दर्ता नगराएपछि थापा निर्विरोध चयन भएका हुन् । युवा नेता विश्वप्रकाश शर्माको पहलमा मुलुकभर काँग्रेसभित्र एकताको सन्देश दिन सहमतिबाट नेतृत्व चयन गरिएको बताइएको छ ।

त्यस्तै सचिवमा प्रेम सम्बाहाम्फे र कोषाध्यक्षमा केशवराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

पाल्पा सभापतिमा राना

पाल्पाको अधिवेशनले वीरबहादुर रानालाई पुनः जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको छ ।

आज सम्पन्न अधिवेशनबाट सचिवमा अयमान कर्माचार्य र कोषाध्यक्षमा मुक्तिराम जिसी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

मकवानपुरमा बानियाँ

यता मकवानपुरको सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित भए ।

आज सम्पन्न जिल्ला अधिवेशनबाट बानियाँ ३७८ मत प्राप्त गरी निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रघुरमण न्यौपानेले ११० मत प्राप्त गरे । त्यसैगरी सचिवमा बुद्ध लामा ३५८ मतका साथ निर्वाचित भए । उनका प्रतिद्वन्द्वी अक्कल लामिछानेले २८२ मत प्राप्त गरे । कोषाध्यक्षमा गोपीलाल विक २८३ मतका साथ विजयी भएकोे निर्वाचन समितिले जनाएको छ ।

भोजपुरमा राई भोजपुर– काँग्रेस भोजपुरको जिल्ला अधिवेशनबाट नन्दमणि राई सभापतिमा निर्वाचित भए । सोमबार भोजपुर सदरमुकाममा भएको १३ औं जिल्ला अधिवेशनबाट प्रतिद्वन्द्वी वीरवल राईलाई १२० मत अन्तरले पराजित गदैै ३११ मत प्राप्त गरी राई निर्वाचित भएका हुन् ।

सचिवमा कैलाश आले र कोषाध्यक्षमा सफल किराँत भने सर्वसम्मत चयन भएको काँग्रेस भोजपुरले जनाएको छ ।

सुनसरीमा पुनः कोइराला

सुनसरीको जिल्ला सभापतिमा पुनःराजीव कोइराला विजयी भए ।

आज साँझ सम्पन्न मतपरिणामानुसार कोइराला ७०३ मत ल्याई दोस्रो कार्यकालका लागि पुनःनिर्वाचित भए । कोइरालाका निकटतम प्रतिद्वन्द्वी रामबहादुर बस्नेतले २८३ मत ल्याए ।

त्यसैगरी सचिवमा केदार भण्डारी र कोषाध्यक्षमा पङ्कज महतो विजयी भए । खोटाङमा श्रेष्ठ

यता नेपाली काँग्रेस खोटाङका सभापतिमा नरेशकुमार श्रेष्ठ विजयी भए ।

आज बेलुका सम्पन्न काँग्रेसको छैटौँ जिल्ला अधिवेशनमा सचिवमा इच्छु राना मगर र कोषाध्यक्षमा जीवन राई विजयी भएको े निर्वाचन अधिकृत ईश्वर सापकोटाले जानकारी दिए ।

काभ्रेमा आचार्य

काभ्रेपलाञ्चोकको आज सम्पन्न अधिवेशनले मधु आचार्यलाई सभापतिमा निर्वाचित गरेको छ ।

अचार्यले ६७३ मत प्राप्त गरी सभापतिमा विजयी प्राप्त गरे । कास्कीमा केसी

काँग्रेस कास्कीका सभापतिमा कृष्णबहादुर केसी विजयी भए ।

जिल्ला कार्यसमिति सचिवका लागि भने सुदीपमोहन भट्टराई र कोषाध्यक्षमा लक्ष्मी पाण्डे विजयी भएको जिल्ला निर्वाचन अधिकृत खिमराज पौडेलले जानकारी दिए ।

रुपन्देहीमा रज्जाक रुपन्देहीमा अब्दुल रज्जाक सभापतिमा विजयी भएका छन् । राम कृष्ण खाण सचीव र दीपक छेत्री न्यौपाने कोषाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।

धादिंगमा धमला

धादिङ कांग्रेसमा  रमेश धमला बिजयी  भएका छन्   । - राससको सहयोगमा जिल्ला सहकर्मीको सहयोगमा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप