शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोइरालाको निधनः प्रधानमन्त्री र एमाओवादीको समवेदना

मङ्गलबार, २६ माघ २०७२, ११ : ०६
मङ्गलबार, २६ माघ २०७२

काठमाडौं–नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनको घटनाले आफू स्तब्ध र दुखी भएको प्रधानमन्त्री केपी ओलीले बताएका छन् । ओलीले आज एक शोक वक्तब्य जारी गर्दै स्वर्गीय कोइरालाप्रति भावपूर्ण श्रध्दाञ्जली अर्पण गर्दै शोकको यस घडीमा उनका शोक सन्तप्त आफन्तहरु र नेपाली कांग्रेसप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

ओलीले स्वर्गीय कोइराला नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र अग्रणी व्यक्तित्व भएको स्मरण गर्दै निरंकुशताको विरुध्द लोकतन्त्रको स्थापनाका लागि महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरेका छन् । उनले संबिधान सभामा नेपाली कांग्रेसको सभापति र संसदीय दलका नेता एवं प्रधानमन्त्रीको हैसियतमा कोइरालाले संबिधान निर्माणमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंशा समेत गरेका छन् । ओलीले कोइरालको निधनबाट देशलाई अपूरणीय क्षति भएको भन्दै यस शोकको घडीमा राष्ट्रिय एकता र समृध्दिको बाटोमा संयम र धैर्यताका साथ अघि बढ्न सबैसँग आग्रह गरेका छन् । यस्तै एमाओवादीले पनि कोइरालाको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष प्रचण्डले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सुशील कोइराला नेपाली राजनीति तथा लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा र स्थापित व्यक्तित्व रहदै आउनुभएको थियो । उहाँ नेपाली कांग्रेसका एक दृढ र त्यागी नेता हुनुहुन्थ्यो । संविधान निर्माण तथा घोषणाको क्रममा सुशील कोइरालाले राष्ट्रिय सहमति कायम गर्न महत्वपूर्ण भूमिका खेल्नु भएको थियो, जुन अविस्मरणीय रहेको छ । संविधान कार्यान्वयनको वर्तमान अवस्थामा उहाँको निधनले ठुलो क्षति भएको छ ।’

प्रचण्डले सुशील कोइराला प्रति आफ्नो र पार्टीको तर्फबाट श्रद्घाञ्जली व्यक्त गर्दै शोकाकुल घडीमा नेपाली काँग्रेसका समग्र पार्टी र परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् । यसैगरि कोइरालाको अप्रत्यासित निधनको खवरले गैरआवासीय नेपाली संघले पनि समवेदना व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप