कोइरालाको बुधबार अन्त्येष्टि
मङ्गलबार, २६ माघ २०७२, १२ : ०९
काठमाडौं, माघ २६–दिवंगत पूर्व प्रधानमन्त्री सु्शील कोइरालाको बुधबार अन्त्येष्टि गरिने भएको छ ।कांग्रेस केन्द्रीय समितिको मंगलबार बसेको आकस्मिक बैठकले सो निर्णय गरेको हो । बैठकले पार्टी सभापति समेत रहेका कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै १३ दिनसम्म पार्टीका कुनै पनि कार्यक्रम आयोजना नगर्ने र तीन दिनसम्म देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय समेत गरेको छ ।
यस्तै बैठकले कोइरालाको पार्थिव शरीर श्रद्धान्जलीका लागि आज १२ बजेदेखि दशरथ रंगशालामा राख्ने निर्णय गरेको छ । शब भोलि २ बजेसम्म रंगशालामा राख्ने र शवयात्रापछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने निर्णय भएको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिए ।
बैठकले आगामी फागुन १ गतेसम्म महाधिवेशनसम्वन्धी सबै कार्यक्रम स्थगित गर्ने निर्णय पनि गरेको उनले बताए ।यसैबीच सरकारले कोइरालाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने आजै निर्णय गरिसकेको छ भने भोलि सार्वजनिक विदा दिइएको छ ।
प्रेस विज्ञप्ति
पार्टीका कार्यवाहक सभापति श्री रामचन्द्र पौडेलको अध्यक्षतामा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले निम्नानुसारको निर्णय गरेको छ—
१. नेपालको लोकतान्त्रिक आन्दोलनका एक अथक र निष्ठावान नेता नेपाली कांग्रेसका पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री श्रद्धेय सुशील कोइरालाको गए राति १२ः५० बजे भएको असामयिक निधनबाट सम्पूर्ण नेपाली जनतासँगै नेपाली कांग्रेस पार्टीका नेतृत्व र कार्यकर्तापंक्ति मर्माहत र स्तब्ध छौँ । राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा सुदृढ चारित्रिक र नैतिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउनु भएका श्रद्धेय कोइराला नेपाली कांग्रेसका लागि मात्र होइन, सिंगो देशका निम्ति बोली र व्यवहारमा एकरुपता भएको उदाहरणीय नेता हुनुहुन्थ्यो ।
श्रद्धेय सुशील कोइरालालाई देश र जनताले अत्यन्त जटिल बन्दै गएको संक्रमणकालिन राजनीतिको बेला संविधानसभाबाट नेपालको संविधान जारी गर्ने अभियानको मुख्य नेताको रुपमा चिरपर्यन्त सम्झनेछन् । संविधान निर्माण पछि पनि संविधानको कार्यान्वयन र यसको निरन्तर परिमार्जनद्वारा संविधानको व्यापक स्वीकारोक्ती बढाउन श्रद्धेय कोइरालाले संविधान संशोधन प्रक्रियाको समेत नेतृत्व गर्दै आन्दोलनरत सबै पक्षलाई एकता, सहमति र सहकार्यको बाटोमा संलग्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भयो । मधेशमा आन्दोलनरत पक्षलाई निरन्तर संवाद र वार्तामा संलग्न राखेर हिमाल, पहाड, मधेश र तराईका जनताका भावना र पारस्परिक एकतालाई सुदृढ बनाउन र सम्मानजनक निकास खोज्न जीवनको अन्तिम घडीसम्म श्रद्धेय कोइरालाले निर्वाह गर्नु भएको भूमिका अविस्मरणीय छ । श्रद्धेय कोइरालाको समन्वयकारी भूमिका एवं धैर्यताका साथ सबै पक्षसँग संवाद गर्ने अग्रसरताका कारण आन्दोलनको जोखिमबाट देश आज शान्ति, स्थिरता र सहजता तर्फ विस्तारै फर्किएको छ । नेपाली कांग्रेस शोकको यो घडीमा शान्ति र स्थिरता तर्फ फर्किदै गएको यो यात्रालाई सुरक्षित ढंगबाट गन्तव्यसम्म पु¥याउने संकल्प गर्दछ ।
झण्डै ६ दशक लामो लोकतान्त्रिक आन्दोलनले निर्माण गरेको देशका एक मुर्धन्य नेता, संविधान निर्माणका निर्णायक नेता तथा सरल र नैतिक शक्तिले जनताका मनमा स्थापित जनताका लोकप्रिय नेता, आफ्ना श्रद्धेय पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । श्रद्धेय कोइरालाका परिवारजनप्रति यो शोकको घडीमा हार्दिक समवेदना प्रकट गर्दछ ।
यसका साथै पार्टी महाधिवेशनको अन्तिम चरणमा रहँदा आफ्ना प्रिय सभापति र अभिभावकलाई गुमाउनु परेको पीडाबाट आहत पाटीका सम्पूर्ण साथीहरुलाई यो दुःखलाई सहन गर्दै आफ्ना सभापतिले देखाउनु भएको बाटो— निष्ठा, नैतिकता र सरल जीवन पद्धतिलाई पार्टीको प्रेरणा र पूँजीको रुपमा ग्रहण गर्दै धैर्य धारण गर्न केन्द्रीय कार्यसमितिको यो बैठक अपिल गर्दछ ।
२. स्वर्गीय कोइरालाप्रति अन्तिम श्रद्धाञ्जली प्रकट गर्ने प्रयोजनका निम्ति तथा शवयात्राका निम्ति निम्न लिखित व्यवस्था गर्ने निर्णय गरिएको छ ।
(क) माघ २६ गते मंगलबार विहान ९ बजेदेखि उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका निम्ति पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा राखिने ।
(ख) अपरान्ह १२ बजेपछि दशरथ रङ्गशालामा उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका निम्ति राखिने ।
(ग) माघ २७ गते दिउँसो २ बजेबाट अन्त्येष्ठीका लागि शवयात्रा आरम्भ । शवयात्राको
मार्ग ः त्रिपुरेश्वर—पुतलीसडक—कमलपोखरी—मैतीदेवी—गौशाला—पशुपति आर्यघाट ।
(घ) माघ २७ गते साँझ आर्यघाटमा राष्ट्रिय सम्मान सहित अन्तिम संस्कार गरिने ।
३. स्वर्गीय कोइरालाप्रति श्रद्धाञ्जली र सम्मान प्रकट गर्न पार्टी भित्र निम्न लिखित शोक कार्यक्रम गर्ने निर्णय गरियो ।
(क) २०७२÷१०÷२६ देखि २०७२÷११÷०९ सम्म पार्टी केन्द्रीय कार्यालय र देशभरिका पार्टी कार्यालयहरुमा पार्टीको झण्डा झुकाउने र कुनै पनि अन्य औपचारिक कार्यक्रम आयोजना नगर्ने ।
(ख) २०७२÷१०÷२६ देखि २०७२÷११÷०३ सम्म पार्टीको केन्द्रीय कार्यालय सहित सम्पूर्ण कार्यालयहरु र भातृ संस्थाका कार्यालहरु बन्द रहने ।
(ग) २०७२÷११÷०९ गतेका दिन सबै जिल्लाहरुमा श्रद्धाञ्जली सभा आयोजना गर्ने ।
(घ) काठमाडौँ उपत्यकाका लागि केन्द्रीय कार्यालयको आयोजनामा काठमाडौँ, भक्तपुर र ललितपुरको सहभागितामा दिउँसो १ः०० बजे काठमाडौँमा संयुक्त श्रद्धाञजली सभा गर्ने ।
(ङ) पार्टीको केन्द्रीय कार्यालय सहित देश भरिका पार्टी कार्यालयहरुमा तेह« दिनसम्म शोक पुस्तिका राख्ने ।
(च) तेह«ौ दिनका दिन ७५ वटै जिल्लामा अन्तिम संस्कार पछिको भष्म प्रवाह गर्ने ।
ऋषिकेश तिवारी
मुख्य सचिव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण