शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोइरालाको निधनमा चितवनबासी स्तब्ध, यस्तो थियो चितवनसँग कोइरालाको सम्बन्ध

मङ्गलबार, २६ माघ २०७२, १५ : ३१
मङ्गलबार, २६ माघ २०७२

चितवन-चितवनको क्षेत्र नं ४ बाट निर्वाचित भई देशको प्रधानमन्त्री बनेका सुशील कोइरालाको निधनसँगै जिल्लावासी शोकमग्न भएका छन् ।

चुनावी प्रचार अभियानमा उनीसँगै खटिनेदेखि प्रधानमन्त्री बनिसकेपछि जिल्ला र क्षेत्रको विकासका लागि उनीसँग गरिएका प्रस्ताव सहर्ष स्वीकार गर्ने कोइरालाको निधनले यतिबेला सबैलाई स्तब्ध बनाएको छ । उनले संविधानसभाको दोस्रो निर्वाचनमा चितवन क्षेत्र नं ४ बाट २० हजार ७२३ मत प्राप्त गरेका थिए । काँग्रेस मात्रै होइन सबै पार्टीका मतदाताले उनलाई मतदान गरेका थिए । निकटतम प्रतिद्वन्द्वी एमालेकी पार्वती रावलको मत १० हजार मात्र थियो । कोइरालाको निधनपछि रावलले भनेका थिए, “कोइरालासँग चुनाव हार्दा पनि कति अफसोच भएन मलाइ ।”

चितवनले उनी जतिको व्यक्ति पाउनु आफैंमा गर्व भएको मलाई आभास भएको थियो । काँग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ सभापति कोइरालालाई आफूले पाउने टिकट दिएर चुनाव लडाएको बताउँछन् । चितवनको गौरव कोइराला भएको बताउँदै उनले भने, “सिङ्गो देशसँगै जिल्ला आज शोकमा छ ।” त्यति धेरै निष्ठावान् व्यक्तित्वसँग आफ्नो कहिल्यै सम्बन्ध नभएको बताउँदै उनले कम खर्च गर्ने र झुटो आश्वासन नदिने कोइरालाको स्वभाव रहेको बताए । उनले भने, “चुनाव प्रचारका लागि किन खर्च चाहिन्छ र भन्ने कोइरालाको स्वभावका कारण प्रचारमा खटिने कार्यकर्ताले आफ्नै घरमा भात खाएर प्रचारमा खटिए ।”

सुकुम्बासीलाई जग्गा दिने, भत्किएको बाटो बनाउने जस्ता आश्वासन दिन आग्रह गरियो भने सभापति कोइरालाले उल्टै हपार्ने गरेको अनुभव गुरुङको छ । चुनावी क्षेत्रमा रहेका सुकुम्बासी बस्तीमा अरू उम्मेदवारले जग्गा दिने आश्वासन दिँदै गर्दा कोइरालाले आफूबाट कुनै आश्वासन नहुने भन्दै फर्काउने गरेको गुरुङले बताए । चुनाव प्रचार अभियान निकै कठिन भए पनि आदर्श बनेको उनको भनाइ छ ।

चुनावका क्रममा सात दिन आफ्नो घरमा राखेका काँग्रेसका महाधिवेशन प्रतिनिधि विजयराज शर्मा भुसालले उनको जस्तो सादा जीवन उच्च व्यक्तित्व कोही नभएको बताए । साँझ बिहानको समय चुनाव खर्च आवश्यक छ भन्दै आउनेहरु प्रशस्त भए पनि कोइरालाले कसैसँग रकम नलिएको उनले बताए । दिनभर आफूहरु खर्च कसरी गर्ने भनेर तड्पने गरेको तर साँझ आफ्नै घरमा प्रचारका लागि पैसा बोकेर आउनेहरुलाई कोइरालाले फर्काइदिने गरेको भुसालले बताए । खानेबस्ने कुरामा कुनै अप्ठ्यारो नमान्ने कोइरालाको स्वभावका कारण परिवार पनि खुसी बनेको उनको भनाइ छ ।

चुनाव जितिसकेपछि प्रधानमन्त्री कोइरालालाई चितवनबाट गएको भनेपछि जुनसुकै बेला भेट्न पाउने र आफ्ना कुरा राख्न पाउने भएका कारण स्थानीय नेता कार्यकर्ता खुसी रहेको काँग्रेस क्षेत्र नं ४ का तत्कालीन सभापति बलराम पौडेलले बताए । कोइरालाको चुनाव प्रचारका लागि बुद्धिजीवीका तर्फबाट तत्कालीन समयमा गठित समितिका संयोजक प्रा डा सूर्यकान्त घिमिरे कोइरालाकै कारण चितवनले राष्ट्रिय राजनीति र विकाससँगै जोड्ने अवसर पाएको बताउँछन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय, भरतपुर–मेघौली सडकजस्ता ठूला परियोजना उनकै योगदानकै कारण भएको उनले बताए । राष्ट्रियस्तरको व्यक्तित्वलाई चितवनले पाउनु आफैंमा गर्वको कुराको रहेको बताउँदै उनले देश आज जुन ढङ्गले शोकमा छ चितवन क्षेत्र नं ४ का बासिन्दा पनि पीडामा छन् भने ।

चितवन र बाँकेमा निर्वाचित भएपछि कोइरालाले चितवनलाई छाडेर बाँकेलाई रोजेका थिए । कोइरालाको गृह जिल्ला भएकाले उनको बाँकेको रोजाइलाई चितवनवासीले सहज रुपमा लिएका थिए । सो क्रममा भएको उपनिर्वाचनमा निर्वाचित सांसद रामकृष्ण घिमिरे २०३० सालमा बनारसमा निर्वासनमा रहँदा सुशील कोइरालासँग सङ्गत बढेको भन्दै उनको चितवनसँगको सम्बन्धका कारण जिल्लाको विकासले थप टेवा पाएको बताउँछन् ।

कोइरालाकै प्रतिनिधिका रुपमा आपूmले काम गरेको बताउँदै सांसद घिमिरेले चितवन क्षेत्र नं ४ भनेपछि सबै मन्त्रालयमा मन्त्रीदेखि कर्मचारीसम्म सकारात्मक देखिएका कारण जिल्लामा अर्बौंको बजेट प्राप्त हुन सकेको बताए । उनको निधनले सचेत चितवनवासीलाई मर्माहत तुल्याएको बताउँदै उनले कोइराला जिल्लाका लागि काँग्रेसजन मात्र नभएर सबै पार्टीका साझा नेता देखिएको विचार राखे ।

चितवनको मतबाट प्रधानमन्त्री बन्नुभएका कोइरालाले बिपीले २००७ सालमा सङ्कल्प गरेको संविधानसभामार्फत संविधान बनाउने काम पूरा गरेको बताउँदै घिमिरेले संशोधन प्रस्ताव राखेर तराईका माग सम्बोधन समेत गराएर बिदा भएका छन् भने । कोइरालाको पहलमा कृषि तथा वन विज्ञान विश्वविद्यालय केन्द्रीय भवन, भरतपुर–मेघौली सडक, भरतपुर–ठोरी सडक, शारदानगरको बखान मार्ग, नारायणी तटबन्धनलगायत दर्जनौँ परियोजना चितवनले पाएको जिल्ला सभापति टेकप्रसाद गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप