शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वीरगन्ज नाकाबाट आज ९५ ट्यांकरमा १३ लाख १० हजार लिटर इन्धन भित्रियो

मङ्गलबार, २६ माघ २०७२, १६ : ११
मङ्गलबार, २६ माघ २०७२

वीरगन्ज– मधेसी मोर्चाको अवरोध हटेसँगै वीरगन्ज नाकाबाट धमाधम इन्धन भित्रिन थालेको छ । आजमात्रै यो नाका भएर ९५ ट्यांकर इन्धन भित्रिसकेको छ । आज भित्रिएको इन्धनमा डिजल, पेट्रोल र हवाई इन्धन रहेको छ । जसमा ५९ टयाङकर डिजल, २१ टयाङकर पेट्रोल र १२ टयाङकर हवाई इन्धन  र ३ ट्यांकर मट्टितेल रहेको अमलेखगन्ज डिप्पोका प्रमुख भानुक्त खनालले रातोपाटीलाई जानकारी दिए ।

आज भित्रिएको इन्धनमध्ये पेट्रोल ३ सय किलोलिटर, डिजेल ७ सय ३४ किलोलिटर, हवाई इन्धन २४० किलोलिटर र मट्टितेल ३६ किलोलिटर रहेको छ । आज भित्रिएका ९५ मध्ये ८३ वटा ट्यांकर रक्सौल र १२ वटा बरौनीबाट लोड भएको हो ।

यसअघि सोमबार भारतको रक्सौलबाट तीन लाख ६८ हजार लिटर अर्थात २४ टयाङकर इन्धन वीरगन्ज भित्रिएको थियो ।

नाकाबन्दी खुलेपछि नेपाल आयल निगमले पठाएको ट्याङकरहरुमा रक्सौलमा रहेको भारतीय आयल कर्पोरेशन (आइओसी)ले सोमबार देखि इन्धन भर्न शुरु गरेको र सोमबार साँझ देखि नै इन्धन पनि नेपाल भित्रिन शुरु भएको खनालले जानकारी दिए । रक्सौल स्थित आइओसीसंग तत्काल चार सय केएल इन्धन माग गरिएकोमा सोमबार आइओसीले तीन सय ६८ केएल इन्धन दिएको खनालले बताए ।

मंगलबारको लागि रक्सौल स्थित आइओसीको डिपोसँग दुइ हजार पाँच सय के एल इन्धन माग गरिएको पनि उनले बताए ।

केहि दिनपहिले वीरगन्जका स्थानीयले भारतीयको समेत सहयोग लिएर आन्दोलनकारीलाई धपाउँदै नाका खुलाएका थिए । सोलगत्तै वीरगन्ज नाका सुचारु भएकोमा सोमबार बसेको मोर्चाको बैठकले औपचारिकरुपमै नाकाको अवरोध हटाउने निर्णय गरेको थियो । मोर्चाको नाका अवरोध हटेसँगै विस्तारै इन्धनलगायतका बस्तुहरुको आपूर्ति सहज बन्दै जाने विस्वास गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप