शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्राइम अपडेट : २४ घण्टाभित्र देशभर के-के घटना घटे ?

मङ्गलबार, २६ माघ २०७२, १९ : ०१
मङ्गलबार, २६ माघ २०७२

काठमाडौं-आज माघ २६ गते । २४ घण्टाभित्र देशभर के के घटना घटे त ? नेपाल प्रहरीका अनुसार २४ घण्टाभित्र देशभर घटेका घटनाहरु यस्ता छन् :

अपहरित व्यक्तिको उद्धार, अपहरणकारी पक्राउ : उदयपुर : त्रियुगा नगरपालिका–३ स्थित भिम ग्यारेजबाट सोमबार अपहरणमा परेका ग्यारेज संचालक सिराहा लहान नगरपालिका–४ बस्ने ४० वर्षीय मोहमद मुत्रा राईनलाई प्रहरीले अपहरणमुक्त गरी अपहरणकारीहरु सिराहा सुखिपुर–१ बस्ने ७२ वर्षीय केशव चौधरी र ३५ वर्षीय दिनेश साफीलाई पक्राउ गरेको छ । सो ग्यारेजमा बिआर ०७ पिए १७३९ नम्बरको सेतो स्कार्पियो जिपमा आएका अपरिचित ६ जनाले राइनलाई अपहरण गरी लगेको खवर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयको प्रहरीले खोजी गर्नेक्रममा त्रियुगा नगरपालिका–११ प्रहरी चौकी लालपत्ता अगाडि सवारी साधन चेकजाँच गर्ने क्रममा गाडीबाट अपहरित व्यक्तिलाई सकुशल उद्धार गरी अपहरणमा संलग्न चौधरी र साफीलाई गाडीसहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैधरुपमा पेट्रोल बिक्रीवितरण गर्ने पक्राउ : काठमाडौं : काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित न्यू गण्डकी ड्राइभिङ सेन्टरमा अबैधरुपमा प्रतिलिटर २ सय रुपैयाँको दरले पेट्रोल बेचिरहेको अवस्थामा सोही ठाउँ बस्ने चितवन पार्वतीपुर–४ का ५५ वर्षीय रत्नाग गुरुङलाई १ सय ५० लिटर पेट्रोलसहित सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेल्नेहरु पक्राउ : काठमाडौं : काठमाडौं महानगरपालिका–२९ ठमेल प्राचर चोकस्थित अजय शाहीको घरमा जुवातास खेलीरहेको अवस्थामा काठमाडौं गल्कोपाखा बस्ने रामेछाप हिलेदेवी–५ का २६ वर्षीय सुभाष खड्कासमेत ५ जनालाई नगद १ लाख रुपैयाँ र १ वुक ताससहित सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

कुटपिट गर्ने पक्राउ : रौतहट : आपसी झगडामा गरुडा नगरपालिका–२ बस्ने ५५ वर्षीय देबलाल महरालाई कुटपिट गरी घाइते बनाउने गरुडा नगरपालिका–२ बस्ने धरमपुर–२ का ४० वर्षीय सिकिन्दर राय यादवसमेत ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महरा र यादवबीच जग्गाको बिषयलाई लिएर झगडा हुँदा कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका महरालाई उपचारको लागि अनमिका हस्पिटल गरुडा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सहकारी संस्थाबाट नगद चोरी : काठमाडा : काठमाडौं महानगरपालिका–२२ खिचापोखरीस्थित रितु वचत तथा सहकारी संस्थाको मुल प्रवेशद्धारको ताल्चा फुटाएर मंगलबार सेफसहित करीव ८ लाख रुपैयाँ नगद चोरी भएको छ । चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला : काठमाडौं : चन्द्रागिरी नगरपालिका–२४ देउताखोलामा डसनामा बेरेर बोराभित्र हालेको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करीव २५ वर्षीय पुरुषको शव सोमबार फेला परेको छ । रुपन्देही : बुटवल–१० स्थित प्रेमपथमा रौतहट जुडिबिल्ला–६ का मिस्त्रीकाम गर्ने ४५ वर्षीय चन्द्रीक चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी रुपन्देही बुटवल–७ डेरा गरी बस्ने ३८ वर्षीया अस्मिता पराजुली मंगलबार मृत अवस्थामा फेला परेकी छन् । रामेछाप : ठोसे गाबिस–१ चंखे बस्ने ३३ वर्षीया सरस्वती कार्की सोमबार आप्mनै कोठामा मृत अवस्थामा फेला परेकी छन् । धादिङ्ग : पिडा गाबिस–२ बाङ्गेमा गजुरी–११ बस्ने ३५ वर्षीय रञ्जन शर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन् । मकवानपुर : हेटौंडा उपमहानगरपालिका–१ तिरतिरेधारा नजिक राप्ती खोलामा हेटौंडा उपमहानगरपालिका–८ बस्ने धादिङ फुलखर्क–३ का २७ वर्षीय दिपक रोका मंगलबार मृत अबस्थामा फेला परेका छन् । काभ्रेपलाञ्चोक : नाल्दुम बालुवापार्टी–६ स्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका करीव २२ बर्षीय पुरुष मंगलबार मृत अबस्थामा फेला परेका छन् । कास्की : लेखनाथ नगरपालिका–११ बेगनास तालको किनार अलैचीपाखामा करीव २७ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् । विदेशी जस्तो देखिने ती महिला घुम्दै जाँदा चिप्लेर लडी तालमा खसेर मृत्यु भएको आशंका गरिएको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु : चितवन : दारेचोक–३ स्थित सडकमा सुनौलीबाट काठमाडौंतर्फ आउँदै गरेको नेपाल ग्यासको एचआर ३८ यु १९८६ नम्बरको वुलेट गाडी मंगलबार नालीमा पल्टँदा गाडीले च्यापिएर गम्भीर घाइते भएका हाल नाम, थर, वतन खुल्न नसकेका पुरुषको उद्धार गरी भरतपुर सरकारी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बर्दिया : कालिका–३ स्थित सडकमा भे.१ ख ८७७ नम्बरको बसको ठक्करबाट मंगलबार गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय प्रजापती पंगेनीको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी : दुहबी भलुवा नगरपाकिला–४ स्थित कोशी राजमार्गमा को.१ त ५१११ नम्बरको ट्याक्टरले स.४ प ३३३६ नम्बरको स्कुटरलाई सोमबार ठक्कर दिंदा भएको दुर्घटनामा परी गम्भीर घाइते भएका स्कुटर चालक मोरङ पथरी शनिश्चरे नगरपालिका–१२ बस्ने प्रवीण कटुवाल र स्कुटरमा सवार मोरङ बिराटनगर उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीया लक्ष्मी श्रेष्ठको उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लैजानेक्रममा बाटोमै मृत्यु भएको छ । ट्याक्टर र स्कुटर प्रहरीको नियन्त्रणमा छन् भने फरार रहेका ट्याक्टर चालकको खोजी भइरहेको छ । नवलपरासी : रामग्राम नगरपालिका–११ हुलाकी सडकमा लु.१ ख ४३०२ नम्बरको बसलाई नम्बर नखुलेको सवारी साधानले ओभरटेक गर्ने क्रममा सोमबार ठक्कर दिंदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेका करीव २२ वर्षीय उक्त नम्बरको बसका सहचालकको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । फरार भएका उक्त नम्बरको बसका चालक र ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ । महोत्तरी : बर्दिवास नगरपालिका–१ रातोपुलस्थित महेन्द्र राजमार्गमा बा.५६ प ९८५४ नम्बरको मोटरसाइकल र अर्को अनटेष्ट लेखेको मोटरसाइकल सोमबार एकआपसमा ठक्कर खाँदा बा.५६ प ९८५४ नम्बरको मोटरसाइकल सडकमा गुडिरहेको ना.४ ख ६४३५ नम्बरको ट्रकको टायरमा पर्न गई भएको दुर्घटनामा गम्भीर घाइते भएका उक्त नम्बरको मोटरसाइकलमा सवार धनुषा जनकपुर उपमहानगरपालिका–१४ बस्ने २४ वर्षीय अशोककुमार यादवको थप उपचारको लागि बि.एण्ड बि. अस्पताल ललितपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उक्त नम्बरको मोटरसाइकल चालक धनुषा जनकपुर उपमहानगरपालिका–१४ बस्ने २९ वर्षीय श्रवणकुमार यादव र अनटेष्ट लेखेको मोटरसाइकलमा सवार २ जनासमेत घाइते भएकोले उपचारको लागि मोडल अस्पताल लालगढ पठाइएको छ । सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा : अमलेखगंज–७ आधाभार जंगलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई मृत्यु भएको अवस्थामा नाम, थर, वतन नखुलेका मागी खाई हिँड्ने करीव ५५ वर्षीय पुरुष मंगलबार फेला परेका छन् । ठक्कर दिने गाडी र चालकको खोजी भइरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

रड तथा लाठी प्रहारबाट मृत्यु : धनुषा : आपसी लेनदेनको बिषयलाई लिएर जनकपुर उपमहानगरपालिका–१४ मुजेलिया बस्ने ३० वर्षीय हरिशंकर राउतले फलामको रडले पेटमा घोप्दा सोमबार गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय नवलकिशोर राउतको जनकपुर अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अभियुक्त हरिशंकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहट : चन्द्रपुर नगरपालिका–८ पौराही बस्ने ५२ वर्षीय मानबहादुर वाइबाको सोही ठाउँ बस्ने ४२ वर्षीय सेरफ लो ले लाठी प्रहार गर्दा सोमबार मृत्यु भएको छ । वाइवाको गोरुको नाक सेरफले छेडिदिएको बिषयलाई लिएर भएको विवादमा सेरफले टाउकोमा लाठी प्रहार गर्दा गम्भीर घाइते भएका वाइबाको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट गर्ने सेरफ फरार भएकोले खोजी भइरहेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीमा परी मृत्यु तथा घाइते : ताप्लेजुङ : सावादिन–८ बस्ने मेमादावा शेर्पाकी श्रीमती छिमेकीको बिबाहमा गएको र घरमा केटाकटी मात्र खेलीरहेको अवस्थामा कच्ची घरको चुलोबाट सोमबार आगलागी हुँदा उनका छोरा ५ वर्षीय फुर्बा शेर्पा र छिमेकी कालबीर शेर्पाका छोरा ३ वर्षीय डसी शेर्पाको जलेर मृत्यु भएको छ । आगोले पोलेर मेमादावाका छोरीहरु ११ वर्षीया चाउरी शेर्पा र ८ वर्षीया फुर्बा शेर्पा सामान्य घाइते भएका छन् । मेमादावा हाल बिदेशमा रहेको बुझिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप