शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोखोमा दुई कास्यः नयाँ खेल, नौलो आत्मविश्वास !

बुधबार, २७ माघ २०७२, १६ : ५९
बुधबार, २७ माघ २०७२

गुवाहाटी–मराठी भाषामा ‘खोखो’ को अर्थ ‘जाउ र लखेट’ भन्ने हुन्छ । भारतबाटै शुरु भएको लखेटेर जितिने ‘खो खो’ प्रतियोगीतमा सहभागी नेपाली टिम दुई मेडलको माला पहिरिँदै बाह्रौं सागबाट बाहिरिएको छ । बुधवार बिहान गुवाहाटीको फच्र्युन होटलमा पुग्दा नेपाली खोखो टिमका पुरुष र महिला खेलाडीहरु नेपाल फर्कने तयारी गर्दै थिए । ‘हिजोबाट हाम्रो गेम सकियो, दुई ओटा कांस्य लिएर नेपाल जाँदै छौं’ महिला टिमकी कप्तान पासाङ तामाङले भनिन् । बाह्रौ दक्षिण एसियाली खेलकुदमा दोस्रो हुने लक्ष्य लिएर काठमाडौंबाट गुवाहाटीका लागि पाईला चालेकी पासाङ सोचेजस्तो नभएपनि खुसी मनले नेपाल फर्कंदै छिन् । २१ बर्षिय पासाङ भन्छिन्, ‘सोचजेस्तो त भएन, भारत र बंगलादेशका खेलाडीहरु धेरै राम्रा रहेछन्, भातरसँग त प्रतिस्पर्धा नै गर्न नसक्ने अवस्था थियो ।’

भारत र बंगालादेशका खेलाडीसँगको कठिन प्रतिस्पर्धामा कास्य पदक हात पार्न सक्नु पनि नेपाली खोखो टोलीका लागी ठुलो सफलता सावित भएको छ । किनकी नेपाली टोली सागमा पहिलो पटक प्रतिस्पर्धा गर्दै थियो ।

गुवाहाटीस्थित सोनापुर इन्डोर स्टेडियममा भएको खेलामा नेपाली पुरुष टोली पनी कांस्य हात पार्दै प्रतियोगीताबाट बाहिरीएको छ । करिब ८ बर्षदेखि खोखोको राष्ट्रिय टिमबाट खेल्दै आएका पुरुष टिमका कप्तान पंकज मिश्र यसपटकको सागमा आफ्नो टिमको गेम राम्रो भएको बताउँछन् । भन्छन्, ‘पुरुष र महिला तर्फ एक–एकवटा कांस्य जित्नु पनी हाम्रो लागी ठुलो सफलता हो ।’ तेक्वान्दो, उसु र कराँते खेलाडीले जस्तै नेपाली खोखो टिमले रेगुलर प्रशिक्षण पाउन सकेका छैनन् । सम्भवत नेपालका नयाँ खेलमा पर्ने खोखोलाई राष्ट्रिय खेलकुद परिषद्ले पनी उतिसारो वास्ता गरेको छैन । त्यस्तोमा देशका लागी दुई मेडल जितेर नेपाली खोखो टिमले एकपटक सवैलाई झस्काइदिएका छन् । ‘अरु खेलाडीहरु जागिर खाँदै खेल्दै गर्छन’ पुरुष टिमक कप्तान मिश्र भन्छन्, ‘हामी बिहान दुई घण्टा ट्रेनिङ लिएपछी काम गर्न जानुपर्छ ।’ ‘के काम गर्नुहुन्छ ?’ पंतिकारको प्रश्न भुँइमा खस्न नपाउँदै मिश्रले भने, ‘म आफ्नै काम गर्छु, यसको अर्थ मेरो अरुको जस्तो जागिर, ब्यापार केही छैन ।’ यसरी आफ्नै काम गरेर खोखोमा लागेका नेपाली खेलाडीहरुले बाह्रौं सागमा महिला र पुरुष दुवैतर्फ श्रीलंकालाई हराएका थिए । महिलातर्फ २०–४ ले हराएको नेपाली टोलीले पुरुषतर्फ १५–५ को अन्तरले हराउँदै दुई कांस्य जित्न सफल भएको थियो ।

पाँच मुलुकका खेलााडीहरुसँग प्रतिस्पर्धा गरेका नेपाली टिमका कप्तानद्वय पासाङ तामाङ र पंकज मिश्र अहिलेको सफताको श्रेय प्रशिक्षकहरुलाई दिन चाहन्छन् । दुवै एकै स्वरमा भन्दै थिए, ‘गुरुहरुको मेहनतले यो सफलता मिलेको हो ।’

कसरी खेलिन्छ खोखो ? राष्ट्रिय खेलकुद परिषद्मा २०५६ सालमा दर्ता भएपनी खोखो धेरैका लागी नयाँ खेल हो । लखेटेर खेलिने यो खेलको कोर्टमा ९ जना खेलाडीहरु हुन्छन् । ‘चेजरहरु ९ जना हुन्छन्, विपक्षी खेलाडीहरु एक पटकमा तिन जना मैदानमा रहन्छन्’ महिला खोखो प्रशिक्षक लक्ष्मिनारायण वैद्यले भने, ‘३६ मिनेट खेलेपछि यो खेलको हारजित टुंगो लाग्छ ।’ उनका अनुसार पहिलो ९ मिनेट खेलेपछि २ मिनेट रेष्ट लिइने यो खेलको हरेक राउण्ड रेष्ट लिईंदै खेलिन्छ । लखेट्दै विपक्षीलाई छोएर आउट गरिने यो खेल नेपालको तराई क्षेत्रमा धेरै खेलिन्छ । नेपाली खोखो टिमले गुवाहाटीस्थित सोनापुरको इन्डोर स्टेडियममा प्रतिस्पर्धा गर्नुअघि सिलगुडीमा १५ दिन प्रशिक्षण लिएको थियो । ‘त्यतिवेला हाम्रा खेलाडीहरुले भारतीय खेलाडीहरुसँग पनि अभ्यास खेल खेलेका थिएँ’ प्रशिक्षक लक्ष्मिनारायण वैद्यले भने, ‘खोखोमा आएका नयाँ नियमबारे खेलाडीलाई अपडेट गराउन पनि हामीले सिलगुडीमा प्रशिक्षण गराएका थियौं ।’

बजेटको अभाव पुर्वाञ्चल र मध्यमाञ्चलका घाँसे मैदानमा प्रशिक्षण गरेको भरमा अन्तर्राष्ट्रिय कोर्टहरुमा प्रतिस्पार्ध गर्न समस्या हुने बताउँछन् संघका उपाध्यक्ष प्रदिप महर्जन । भन्छन्, ‘बजेको अभाव पुर्ति भएमा हामी आश्चर्यजन नतिाजा दिन सक्नेछौं ।’ प्रदीपको भनाईमा सहि थप्दै सहायक प्रशिक्षक धीरेन्द्र यादव भन्छन्, ‘राष्ट्रिय खेलकुद परिषद्ले सकारात्मक आँखाले हेरेमा हामी अर्को साफ गेममा गोल्ड मेडल ल्याउन सक्छौं ।’

गुवाहाटीमा पलाएको आत्मविश्वास ०५६ सालदेखि आफ्नो उपस्थिती देखाएको खोखो संघ लामो समयसम्म खेलकुद परिषद्को गठन र विगठनको खेलमा अल्झियो । ‘सदस्य–सचिवहरुले पटक–पटक खोखो संघलाई बिगठन गर्दै गए’, संघका उपाध्यक्ष प्रदिप महर्जनले भने, ‘गठन विगठनको खेल र प्रशिक्षकहरुको अभावमा हामी लामो समय अनिर्णयको बन्दी बन्न बाध्य भएका थियौं, अहिले बल्ल बामे सर्दै छौं ।’ अहिले नेपाली खोखो प्रशिक्षकहरु तिन जना छन् । लक्ष्मिनारायण बैद्य बाहेक रामनारायण राय र धिरेन्द्र यादव खोखो टिमलाई मजवुद बनाउन दिनरात लागिपरेका छन् । पाँचौ राष्ट्रिय खेलकुद भन्दापछि नेपालमा खोखोको प्रतियोगिता नै भएको थिएन । प्रतियोगिता नभएपनि खोखो पदाधिकारीहरुले आफ्नो काम गर्न छाडेनन् । त्यसबीचमा खेलाडी उत्पादन र प्रशिक्षणमा लागेको संघले आजसम्म २५ जिल्लामा आफ्नो जिल्ला शाखा विस्तार गरिसकेको छ । सागमा क्षेत्रगत रुपमा खेलाडी छनोट पछी गुवाहाटी आएको खोखो टोली नयाँ आत्मविस्वाशका साथ गुवाहाटी छाड्दै छ । ‘अबको हाम्रो टार्गेट एशियन च्याम्पियनसिप हो’ महिला टिमकप्तान तामाङ भन्छिन्, ‘आगामी अप्रिलमा भारतमै हुने एशियन च्याम्पियनसिपमा रजत जित्ने लक्ष्य छ ।’ यहि नयाँ आत्मविश्वासका साथ नेपाली खोखो टोली बुधवार आसामको गुवाहाटी शहरबाट बिदा भैसकेको छ ।

फोटोः पिजे क्लब

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप