बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोर्चाले नलिएपछि जनतान्त्रिकतिर लागे मात्रिका र जेपी

सोमबार, ०३ फागुन २०७२, २० : ४६
सोमबार, ०३ फागुन २०७२

काठमाडौ –संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ता र नेकपा (माओवादी) संयोजक मातृका यादवलाई मार्चामा सहभागि नगराएपछि उनीहरुले जनतान्त्रिक तराई मुक्ति मोर्चासँग गठबन्धन बनाउने तयारीमा लागेका हुन् । संयोजकद्धय गुप्ता र यादव गैरसंसदीय दल भएको भन्दै मोर्चामा लिन नसकिने भन्दै उनीहरुलाई पाखा लगाइएको थियो । तर जेपीसँगै एउटै गठबन्धनमा रहेका राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरतसिह भण्डारी, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मोर्चामा समाहित भएपछि गुप्ता एक्लिएका छन् । एक्लिएका गुप्ता नेकपा (माओवादी) का संयोजक मातृका यादवबीच पहिलादेखि कुरा मिल्दै आएको थियो र यो घटनाले झन नजिक बनाएको छ । जेलबाट निस्केपछि सशस्त्र आन्दोलनको चेतावनी दिएका गुप्ता अन्ततः जनतान्त्रिक तराई मुक्ति मोर्चासँग सहकार्य गर्न पुगेका हुन् । मधेशी मोर्चाले गर्दै आएको आन्दोलनको प्रकृयालाई विरोध गर्दै आएका गुप्ताले सत्ता समर्पण मुद्दा विसर्जनको आरोप लगाउँदै आएका छन् । त्यस्तै मातृका यादवले पनि मधेशी मोर्चाका नेताहरुको गतिविधिको विरोध गर्दै आएका थिए । मधेशी मोर्चाका नेताहरु सत्ता स्वार्थी रहेको आरोप उनले पटक पटक लगाउँदै आएका छन् ।

यसरी यी दुई नेताको स्वार्थ मिलेपछि जनतान्त्रिक तराई मुक्ति मोर्चासँग गठबन्धन बनाउने तयारीमा रहेको बुझिएको छ । मोर्चाका अध्यक्ष डा.मनोज मुक्ति विवेकले गठबन्धन बनाउने तयारी अन्तिम चरणमा रहेको बताउँदै केही दिनमा त्यसको घोषणा हुने बताए । उनले गद्दार, छदमभेदी, चापलुसी, भजनमण्डलीहरुको झुण्ड मधेस र मधेसीको आन्तरिक औपनिवेशका प्रमुख कारक तत्व रहेको दावी गर्दै ती झुण्ड तथा जमातलाई विस्थापित गर्न र मधेसमा जनतन्त्र स्थापनार्थ क्रान्तिकारी शक्ति एकीकरण महाअभियानको थालनी गरिएको र त्यसमा मातृका यादव र जेपी गुप्ताबाहेक अन्य दल तथा संगठनहरुलाई पनि ल्याउने तयारी भइरहेको बताए । मधेशी मोर्चातिर इकिंत गर्दै उनले भने, ‘केही दिन मै मधेसबाट सधैंकालागी ठेकेदारी प्रथाको अन्त्य र मुक्ति प्रथाको शुरुवात हुंदैछन् ।’ मधेशी मोर्चाले आत्मसम्र्पण गरेको उल्लेख गर्दै उनले भने, ‘आत्मसमर्पणवाद, बिक्रिवाद, प्रभुसत्तावाद, गद्दारी र धोखाधरीको चरम प्रकाष्टाको ज्वलन्त उदाहरण जारी मधेस आन्दोलनको निष्कर्षहिन बिसर्जन हो ।’ साथै उनले हतियार अधिकारको विकल्प नभएको उल्लेख गर्दै अधिकारको आन्दोलनमा तत्कालै हतियार नउठाउने पनि बताए । सडकको शक्तिलाई वैकल्पिक शक्तिमा रुपान्तरण गरि क्रान्तकारी शक्ति एकिकरण गर्न लागेको भन्दै उनले आफूहरुको आन्दोलनले जारी आन्दोलनलाई परिणाममुखी बनाउने दावी गरे ।

महोत्तरीबाट रञ्जन भण्डारीको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप