बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिरियामा अस्पताल र विद्यालयसमेत निशानामा पर्न थालेपछि शक्ति राष्ट्रबीच आरोपप्रत्यारोप

मङ्गलबार, ०४ फागुन २०७२, ०९ : ५०
मङ्गलबार, ०४ फागुन २०७२

अलेपो – सिरियामा आइएस लडाकुविरुद्ध जारी कारवाहीको दौरान अस्पतालसमेत निशानामा पर्न थालेपछि शक्ति राष्ट्रहरुबीच आरोप प्रत्यारोप शुरु भएको छ । संयुक्त राष्ट्र संघका अनुसार स्कूल र अस्पतालमा भएका मिसाइल हमलामा परी कम्तीमा ५० जनाले ज्यान गुमाइसकेका छन् । उत्तरी सिरियामा भएको यस्ता हमलालाई फ्रान्स र टर्कीले युद्ध अपराधको संज्ञा दिएका छन् । टर्कीका विदेश मन्त्रीले त्यस्ता हमलामा रसियालाई दोषी ठहराएका छन् । तर, मस्कोले भने यस विषयमा कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यसैबीच सिरियामा युद्धविरामको चर्चा चलेपनि सिरियाली राष्ट्रपति बसर अल असादले युद्धविराम भन्दैमा सबै पक्षले हतियार नबिसाउने बताइसकेका छन् । टेलिभिजनमा सम्बोधन गर्दै उनले लडाकुहरुले एक हप्ताभित्र युद्धविराम गर्न चाहेको तर यति छोटो समयमा यो पूरा गर्न नसकिने बताए । सिरियाको उत्तरी भागमा जारी कारवाही कारण संयुक्त राष्ट्र संघले पनि युद्धविरामको सम्भावनाप्रति आशंका व्यक्त गरेको छ । अजाज र त्यस क्षेत्र वरिपरीका दुई वटा अस्पताल र विद्यालयमा भएको मिसाइल हमलामा कम्तिमा १२ जनाले ज्यान गुमाएका थिए । त्यस्तै इडलिब प्रान्तमा पनि मेडिसिन्स सान्स फ्रन्टियरले सञ्चालनको गरेको अर्को अस्पताल पनि ध्वस्त भएको थियो । उक्त घटनामा ७ जनाको निधन भएको र ८ जना अझै हराइरहेको एमएसएफले जनाएको छ । फ्रान्सेली संस्था एमएसफका अध्यक्ष मेगो टेरजियानले यसमा सिरियाली सरकार र रसियाको हात रहेको आरोप लगाए । तर, मस्कोका लागि सिरियाली राजदूत रियाद हदादले भने यसमा अमेरिका दोषी रहेको अरोप लगाए । उनको आरोपको पेन्टागनले खण्डन गरेको छ । मरात अल नुमान रहेको अर्को अस्पतालमा भएको हमलामा ३ जनाको मृत्यु भएको बताइएको छ । विद्रोहीविरुद्धको कारवाहीमा रसियाले सिरियाली सरकारलाई सहयोग गरिरहेको छ । तर, उसले आफ्नो कारवाही आतंकवादीविरुद्ध मात्र केन्द्रीत भइरहेको यसअघि नै स्पष्ट पारिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप