बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफ्नै परम्परामा राउटे महिला, बाबियोमाथि जन्माउँछन् बच्चा

मङ्गलबार, ०४ फागुन २०७२, १३ : ३२
मङ्गलबार, ०४ फागुन २०७२

दैलेख– जङ्गलमा फिरन्ते जीवनयापन गर्दै आएका राउटे महिलाले बाबियोमाथि शिशु जन्माउने गर्छन् ।

बाबियोमाथि जन्माउँदा शिशु नमर्ने र बलियो हुने विश्वास उनीहरुमा छ । राउटे समुदायका मुखिया महिनबहादुर शाहीले स्वास्थ्य संस्थामा शिशु जन्माउने परम्परा नभएकाले घरमै जन्माउने गरेको बताए । उनले भने, “हाम्रोमा यस्तै बाबियोमाथि बच्चा जन्माउँछन्, अस्पतालमा त तपाईँहरूको लागि हो, जङ्गलमा बस्नेले घाँसमै हो, घरमा बस्नेले घरमै हो”

नेपालमा मातृ मृत्यदर न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य संस्थामा शिशु जन्माउने प्रावधान अनिवार्य गरेको छ । स्वास्थ्य संस्थामा शिशु जन्माएबापत सुत्केरी खर्चको व्यवस्था पनि गरिएको छ । गाउँका अधिकांशले स्वास्थ्य संस्थामा गएर जन्माउन थाले भने केहीले कम चेतनाका कारण घरमै जन्माएका छन् ।

आमा समूहद्वारा घरमै जन्माउने महिलालाई दण्डसजाय गर्ने निर्णय हुन थालेपछि सबै सुरक्षित सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थाले । भ्रमणशील जीवनयापन गर्दै आएका राउटे भने यसबाट वञ्चित छन्, जसका कारण गर्भवती राउटेको अकालमै जीवन जाने गर्छ ।

गर्भवती हुँदा उनीहरु न आइरन चक्की खान्छन्, न त राम्रो स्याहारसुसार न पोषणयुक्त खानेकुरा । उनीहरुको परम्परा जडीबुटीमा विश्वास र औषधिमा कम विश्वास छ । बालविवाह र असुरक्षित सुत्केरी हुन थालेपछि राउटेको जनसङ्ख्या दिन प्रतिदिन कम हुँदै गएको छ ।

घाँसका स्याउलाको छाप्रो बाहिरबाट हेर्दा सबै कुरा छर्लङ्ग देखिने पालमुनि राउटेको सुरक्षित सुत्केरी हुने गरेको छ पुसको कठ्याङ्ग्रिने जाडो होस् वा वर्षा । सुत्केरी हुन नसकेपछि सन् २०६६ मा लोहोर खोलामा कालु शाहीको मृत्यु भएको थियो ।

सुत्केरी हुन नसकेपछि स्वास्थ्य संस्थामा नगएर राउटे समुदायले घरमै धामीझाँक्री हेराउने गर्छन् । सुत्केरी हुँदा तेल र बेसार मिसाइएको भात पकाएर खाने गर्छन् । सुत्केरीलाई नुहाउन दिँदैनन् । सुत्केरीले नुहाएर आएपछि सासूले कपालमा तेल लगाइदिएपछि मात्र चोखिने गर्छन् ।

गैरराउटे महिलाले छाउपडी प्रथाको अन्त्य गर्न नसके पनि राउटे यसमा अगाडि छन् । रजस्वला र सुत्केरी हुँदा छुवाछुत बार्दैनन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप