बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हराउन थाले गौँथली

बुधबार, ०५ फागुन २०७२, ११ : २४
बुधबार, ०५ फागुन २०७२
म्याग्दी – कुनै समय बाक्लै देखिने गौँथली बिस्तारै हराउन थालेका छन् । सदरमुकाम बेनीबजार, गलेश्वर, दरबाङ लगायत क्षेत्रमा दुई तीन वर्षअगाडि घरैपिच्छे देखिने गौँथली गुँड छाडेर जान थालेका हुन् । जोडी बनाएर बस्ने गाँैथलीले मानव बस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभाव लगायत विभिन्न कारणले बिस्तारै बासस्थान परिवर्तन गर्न थालेको वातावरणका अध्येता चन्द्रमणि सापकोटाले बताए । “बासस्थान र चरन क्षेत्र प्रमुख कारण हो, भौतिक संरचना गौँथलीमैत्री छैन”, सापकोटाले भने । धार्मिक र परम्परागत भनाइमा गाँैथली मार्दा पाप लाग्ने बताइने गरे पनि पछिल्ला वर्षमा औषधि हुने भन्दै गुलेली, घरेलु हतियारको प्रयोग गरेर समेत मार्ने गरिएकोप्रति वातावरण संरक्षणको अभियानमा लागेकाहरू चिन्तित छन् । यसैबीच बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक गौँथलीप्रति आकर्षित हुन थालेपछि गँुड निर्माण, चरन क्षेत्रको व्यवस्थापन, बस्ती नजिक रहेको हिलो माटामा मानव सिर्जित फोहोरमा प्रतिबन्ध लगाइएको तातोपानीका होटल व्यवसायी कुमार केसीले बताए । “विगतभन्दा कम देखिन थालेका छन्, हामीले गाँैथलीलाई संरक्षणका लागि आवश्यक क्षेत्रमा ध्यान दिएका छौँ”, उनले भने । तातोपानीमा आएका स्पेनका पर्यटकले आफ्नो देशमा गौँथलीलाई भगवान्का रूपमा लिने गरेको बताएको केसीले जानकारी दिए । म्याग्दीका अन्य क्षेत्रको तुलनामा तातोपानीमा गौँथली देखिने गरेका छन् । मानवीय लापरबाहीका कारण लोप हुन लागेको गौँथलीलाई संरक्षणका लागि गँुड नजिक अर्को गुँड बनाउने, आवतजावन गर्ने मार्गमा कुनै अवरोध नगर्ने, घरमा किरा मार्ने विषादी प्रयोग नगर्ने र हिलो भएको ठाउँमा अन्य फोहोर नफाल्ने गरेमा संरक्षण गर्न सकिने वन तथा वातावरणसँग सम्बन्धित व्यक्तिले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप