बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘अन टेस्ट’ लेखेर यात्रु बोक्नेलाई कारबाही

बुधबार, ०५ फागुन २०७२, १४ : २७
बुधबार, ०५ फागुन २०७२

काठमाडौँ - सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत ‘अन टेस्ट’ अर्थात ‘परीक्षणमा’ रहेका सवारी साधनले यात्रु बोकेर हिँड्ने क्रम बढेको छ ।

सार्वजनिक सवारी साधनमा तोकिएभन्दा बढी भाडा लिए/नलिएको अनुगमन गर्न निस्किएको यातायात व्यवस्था विभागको अनुगमन समूहले अन टेस्ट (परीक्षणमा) लेखी गुडाएका २० चारपाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिएको छ ।

“गाडी आयात गर्ने कम्पनीले हरियो प्लेटमा १५ दिनसम्म परीक्षणमा लेखी भन्सारबाट भित्र्याएर सवारी दर्ता गरिसक्नुपर्ने कानुनी व्यवस्था भएपनि महिनौँसम्म यस्ता सवारी दर्ता नभएको पाइयो, परीक्षणमा लेखिएका सवारीले यात्रु बोक्न नपाउने कानुनी व्यवस्था भए पनि योसमेत उल्लङ्घन भएको अनुगमनमा भेटियो”–अनुगमन शाखा प्रमुख समेत रहनुभएका विभागका प्रवक्ता वसन्त अधिकारीले रासससँग भन्नुभयो ।

यस्ता २० वटा चारपाङ्ग्रे सवारी नियन्त्रणमा लिई रु पाँच हजारका दरले कारबाही गरिएको विभागले जनाएको छ । भन्सारबाट नयाँ सवारी भित्र्याउँदा ‘परीक्षणमा’ लेख्ने नियम उल्लङ्घन गर्दै उपत्यकामा नियमित सञ्चालन भइरहने मोटरसाइकलले समेत परीक्षणमा लेखी कुद्न थालेका छन् । यस्ता सवारीले सडकमा दुर्घटना गराउँदा नम्बर प्लेटको अभावमा समात्न सकिँदैन । भैरहवा र वीरगञ्जबाट प्रवेश गर्ने नयाँ सवारीले परीक्षणमा लेखी त्यहीँदेखि यात्रु बोकेर आउने गरेकाले यस्ता सवारीलाई समात्न ट्राफिक प्रहरीलाई विभागले निर्देशन दिएको छ ।

विभागले हालै दर्ता खोलेको एक हजार ८५० कोटामा आएका केही ट्याक्सीले समेत ‘परीक्षणमा’ लेखी यात्रु बोकिरहेका छन् । नयाँ कोटाका ट्याक्सीमध्ये ६५० व्यवसायीलाई, ७०० सर्वसाधारणलाई र ५०० स्वरोजगार मजदुरलाई दर्ता खोलिएको थियो । ‘परीक्षणमा’ लेखी यात्रु बोकी दुर्घटनामा परे यात्रुले तेस्रो समूह दुर्घटना बिमा नपाउने भएकाले सचेत हुन विभागले सबैमा आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप