बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फिदिममा पानीको हाहाकार

बुधबार, ०५ फागुन २०७२, १३ : ५९
बुधबार, ०५ फागुन २०७२

पाँचथर - वर्षौं बित्दा पनि पाँचथर सदरमुकाम फिदिममा खानेपानी वितरण नगरिएपछि उपभोक्ताले ‘आकासको फल आँखा तरी मर’ जस्तै भएको बताउन थालेका छन् ।

फिदिम नगरपालिका–१ देखि ५ सम्मका एक हजार ७३० उपभोक्तालाई आयोजना दुई वर्षअघि नै सम्पन्न गरी खानेपानी वितरण गर्ने भने पनि अझै आयोजनाले खानेपानी वितरण गर्न सकेको छैन ।

उपभोक्ताले आयोजनाको पानी आउने आशा पनि मार्न थालेका छन् । फिदिम–४ गडीकी धनमायाँ लिम्बूले पानी आउँछ भनेर पर्खिंदापर्खिंदा वर्षौं बितेको बताए । “घरघरमै पानी आउँछ भन्थ्यो, खोइ आएन” उनले भने । यसले गर्दा पूर्वी नेपालको नमुना सहरको रुपमा विकासोन्मुख फिदिम बजारमा पानीको अभावले उपभोक्ता काकाकुल बनेका छन् । फिदिम–१ की शर्मिला मगर एक गाग्री पानी थाप्न डेढ घन्टासम्म पर्खिनुपर्ने बताउँछन् ।

पछिल्लो पटक साउन अन्तिमसम्ममा पुरानै धाराबाट भए पनि खानेपानी चौबिसै घन्टा वितरण गर्ने आयोजनाका अध्यक्ष गजाधर भट्टराईले बचन दिएका थिए । तर पानी वितरण त के, फिदिमको माथिल्लो गाउँमा निर्माण गरिएको ट्रिटमेन्ट प्लान्टमा फागुनको पहिलो साता बित्न लाग्दा पनि पानी झार्नै सकिएको छैन ।

सो आयोजना जिल्लाको लुङरुपा–५ र रानिटार–३ हुँदै बग्ने आप्तावा खोलाबाट सञ्चालन गरिएको हो । आयोजनाले फिदिमको जनसङ्ख्यालाई १५ वर्षसम्म धान्ने अनुमान गरिएको छ ।

तर बर्सेनि गाउँबाट १०० को हाराहारीमा बसाइँ सरेर फिदिम आउने हुँदा १० वर्षमात्रै धान्न सक्ने आङ्कलन गर्न थालिएको छ । रु १७ करोड २० लाखको लागतमा निर्माणाधीन आयोजनाको ५० प्रतिशत लागत एसियाली विकास बैंकको सहयोग, ४५ प्रतिशत फिदिम नगर विकास कोषबाट १५ वर्षसम्ममा खानेपानीको महसुल उठाएर ऋण चुक्ता गर्ने शर्तमा लिएको र पाँच प्रतिशत उपभोक्ताबाट सङ्कलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप