बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झापामा फुटबल टोलीको भव्य स्वागत (फोटोफिचर)

बुधबार, ०५ फागुन २०७२, १५ : ३२
बुधबार, ०५ फागुन २०७२

काँकडभिट्टा – तेइस वर्षपछि नेपाललाई दक्षिण एसियाली खेलकुद सागमा फुटबलको स्वर्ण पदक दिलाएर स्वदेश फर्किएको राष्ट्रिय फुटबल टोलीले आज दिउँसो पूर्वी प्रवेशद्वार काँकडभिट्टामा भब्य स्वागत तथा सम्मान पाएको छ ।

भारतको गुवाहाटीबाट सोझै नेपाल प्रवेशद्वार आएका विजेता फुटबल खेलाडी र प्रशिक्षकलाई मेची पुलदेखि नै हजारौँ झापाली खेलप्रेमीले जयजयकार गर्दै काँकडभिट्टा बजारसम्म ल्याएका थिए ।

राष्ट्रिय झण्डासहित स्वागतका लागि उपस्थित खेलप्रेमीहरूले नेपालको इज्जत बढाएको भन्दै पङ्तिबद्व भएर खेलाडीलाई फूलको माला र खादा पहि¥याउँदै अबीर लगाएर नागरिक अभिनन्दन गरे ।

नेपाली फुटबल टोलीले गुवाहाटीमा फागुन ३ गते सम्पन्न फाइनल खेलमा बलियो प्रतिस्पर्धी भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाएको थियो ।

फुटवल टोलीमा रहेका चर्चित फुटबल खेलाडी नवयुग श्रेष्ठ र प्रशिक्षक राजुकाजी शाक्यलाई खेलप्रेमीहरूले अपार श्रद्धा दर्शाएका छन् ।

स्वदेश फर्किएको नेपाली फुटबल टोलीको स्वागत तथा अभिनन्दनका लागि झापा जिल्ला खेलकुद विकास समितिले झापावासी खेलप्रेमीलाई आह्वान गरेको थियो ।

गलाभरी माला र खादा पहिरिएका, अबीरले राताम्य नेपाली खेलाडीलाई अगाडि लगाएर ¥याली निकाल्दा कुनै ठूलो युद्धजितेर फर्केका योद्धाको सम्मान गरिएको झैँ दृश्य देखिएको थियो ।

झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापाले नेपाली फुटबल खेलाडीले भूकम्प, नाकाबन्दी र राजनीतिक द्वन्द्वले लामो अवधिदेखि थोपरेको पीडा भुलाउने गरी इतिहास रच्ने खुसी दिलाएको भन्दै खेलाडीको मेहेनत र योगदानको प्रशंसा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप