संयन्त्र गठन गर्न प्रधानमन्त्रीलाई किन हतारो ? राजेन्द्र महतोको पाँच शर्त
काठमाडौ —प्रधानमन्त्री केपी शर्मा ओलीले सिमांकनको विवाद सुल्झाउन भारत भ्रमणमा जानुअघि नै उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन चाहेका छन् । मधेशको मुख्य माग नै सिमांकन भएको र त्यसमा केही न केही प्रगति गरेर मात्र भारत भ्रमण गर्ने शर्त अनुसार नै प्रधानमन्त्री ओली संयन्त्र बनाउन लागि परेको बताइएको छ । प्रधामन्त्री ओली पाँच दिने राजनीतिक भ्रमणका लागि पर्सी साँझ दिल्ली उड्दैछन् र त्यसअघि मधेशवादी दलसँग छलफल गरेर संयन्त्र बनाउने तयारीमा लागेका छन् । यद्यपी यस विषयमा न प्रधानमन्त्रीको कुनै तयारी छ न मधेशवादी दलको ।
जानकारी छैन राजनीतिक संयन्त्र गठनका लागि आज बस्ने बैठक बारे जिज्ञासा राख्दा मधेशी मार्चाका एक घटक तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बैठकको बारेमा आफूलाई जानकारी नआएको बताए । उनले यो कुरा ठूला दलका ठूलै दलका नेतालाई सोध्न आग्रह पनि गरे । अहिले आएर प्रधानमन्त्री ओलीलाई संयन्त्र गठन किन हतार भएको कुरा आफू बुझ्न नसकेको बताउँदै हतार हतार गठन भएको संयन्त्रको कुनै काम नहुने बताए ।
तर, मधेशी मोर्चाका एक घटक सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले आिज बैठक बस्ने जानकारी आफूलाई आएको बताए । राजनीतिक संयन्त्र गठन गर्नका लागि तीन दलले बैठक बोलाएको बताउँदै उनले यस सम्बन्धमा मोर्चामा कुनै तयारी नभएको र बैठकमै जे कुरा हुन्छ त्यही छलफल हुने बताए ।
संयन्त्रका लागि महतोको पाँच शर्त राजनीतिक संयन्त्र गठनका लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पाँचवटा शर्त राखेका छन् । आज विराटनगर उड्नुअघि उनले आन्दोलनको क्रममा सहिद भएको परिवारहरूलाई राहत दिनुपर्ने, घाइतेहरूलाई पूर्ण उपचार, अहिलेसम्म घाइतेहरुका लागि उपचारमा भएको खर्चको भुक्तानी दिनुपर्ने, पछिलो समय आन्दोलनको क्रममा भएको घटनालाई आधार बनाएर प्रहरी प्रशासन द्धारा झुठा मुद्दा लगाएर धरपकड गर्ने जस्ता काम तत्काल रोक्नु पर्ने, र आन्दोलनको क्रममा झुठा मुद्दा लगाएर मुद्दा चलाएका आन्दोलनकारीहरूको मुद्दा तत्काल फिर्ता गर्नु पर्ने शर्त राखेका छन् ।
यी शर्तहरु पूरा गरे मात्र राजनीतिक संयन्त्र गठन हुने अध्यक्ष महतोले बताए । ‘ शर्तहरु नयाँ होइन, दुई पक्षबीच हुने वार्ताका लागि राखिएका शर्तहरु हुन्’, उनले भने । तर ती शर्तहरु अझै पूरा नभएको महतोको आरोप छ ।
भारतको चासो राजनीतिक संयन्त्रको बारेमा भारतले निकै चासो लिएको छ । प्रधानमन्त्री ओलीले हिजो संसदमा राजनीतिक संयन्त्र बनाएर मात्र दिल्ली भ्रमण जाने धारणा राखेपछि नेपाल स्थित भारतीय राजदूतावासका राजदूत रन्जित रायले एमाआवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई भेटेर त्यस बारमा चासो लिएका छन् ।
उनले मधेशवादी दललाई सन्तुष्ट गर्ने गरि राजनीतिक संयन्त्र बनाउन सुझाव पनि दिएका छन् । प्रचण्डसँग छलफलमा उनले राजनीतिक संयन्त्र बनाउन ढिला नगर्न पनि सुझाव दिएका छन् ।
भारतको सल्लाहमा नाकाबन्दीलगायत अन्य आन्दोलनका कार्यक्रम स्थगित गरेका मधेशवादी दलसँग कुनै सहमति नै नगरिकन भारत भ्रमण भयो भने यसले राम्रो सन्देश नजाने भएपछि भारतले मधेशवादी दलको सहमतिमा उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर मात्र भ्रमणमा आउन भनेको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्र बनाउन हतार गरेका हुन् ।
कहाँबाट आयो संयन्त्रको कुरा ? यो राजनीतिक संयन्त्र बनाएर सिमांकनको विवाद टुग्यांउने सल्लाह शुरु शुरुमा भारतले नै दिएको हो । मधेशवादी दलका नेताहरुले शुरुमा राजनीतिक संयन्त्र बनाउन नमानेपछि नेपाल सरकारले परराष्ट्रमन्त्री कमल थापालाई भारत पठाएर संयन्त्र बनाउनेसहित चार बुँदे प्रस्ताव राखेर यसमा मधेशवादी दलसँग कुरा गरि दिन आग्रह गरेका थिए । त्यसपछि भारतले मधेशी मोर्चालाई दिल्ली बोलाएर संयन्त्रमा सहमति गर्न सुझाव दिएका थिए । भारतको सो सुझाव मधेशी मोर्चाका नेताहरुले मानेपछि नेपाल सरकारले मन्त्रीपरिषद्बाट संयन्त्र बनाउनेसहित तीन बुँदे प्रस्ताव पारित गरेका थिए । त्यसपछि त्यसलाई दुई चार दिन नमान्ने गरि गरेका मधेश मोर्चाले अन्ततः संयन्त्र बनाउन राजी भए । तीन दल र मधशी मोर्चाको कार्यदलको बैठकमा संयन्त्र बनाउने सहमति गरेका थिए । तर, संयन्त्र संचालन गर्ने कार्यविधि निर्माणमा कुरा नमिलेपछि त्यसबेला राजनीतिक संयन्त्र बन्न सकेको थिएन । मधेशवादी दलले उठाउँदै आएको सिमांकनको विषयमा सो संयन्त्रले अध्ययन गरि सिमांकनको विवाद मिलाउने छ । तर, सो संयन्त्रले ल्याउने प्रतिवेदन कार्यान्वयन हुन्छ कि हुँदैन भने कुरामा मधेशवादी दलले अविश्वास प्रकट गरेको थियो । उनीहरुले संयन्त्रले गर्ने कार्यको विश्वासनियता माग गरेका थिए । कार्यविधिमा नै मधेशमा दुई प्रदेश हुने, तीन महिनाभित्र टुगों नलागे त्यसपछि संयन्त्रले के गर्ने, संयन्त्रले ल्याउने प्रतिवेदन कति महिनामा कार्यान्वयनमा ल्याउने, सविधान संशोधन कहिले हुने लगायतका शर्त मधेशी मोर्चाले कार्यविधिमा राख्न चाहेका थिए तर तीन दलका नेताहरुले सबै कुरा कार्यविधिमा नै उल्लेख गरेपछि राजनीतिक संयन्त्रको के काम हुने प्रश्न त्यतिबेला गरेका थिए । यी र यस्तै कुरामा मतविभाजन भएपछि तीन दल र मधेशी मोर्चाबीच कुरा विग्रेपछि वार्ता प्रकृया अवरुद्ध भएको थियो । र, अहिले प्रधानमन्त्री ओलीलाई भारत भ्रमण गर्नुपर्ने भएकाले संयन्त्र गठन गर्न जुरर्मुराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण