सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री आउने कार्यक्रम विथोल्न नदिन मोर्चाका तीन नेता पक्राउ, कार्यक्रममा अवरोध गर्न मोर्चाको बन्द

शुक्रबार, १४ फागुन २०७२, ०९ : ५१
शुक्रबार, १४ फागुन २०७२

बुटवल – नयाँ संविधानका अस्पष्टता जनतालाई बुझाउने उद्देश्यले नेकपा (एमाले) लुम्बिनी अञ्चल कमिटीको आयोजनामा आज भैरहवामा ‘जनताको संविधान जनताको माझमा’ नाराका साथ बृहत् जनसभा आयोजना गरिने भएको छ ।

उक्त जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लीला गिरीले जनाकारी दिएका छन् । कार्यक्रम भैरहवास्थित सिद्धार्थ रङ्गशालामा हुनेछ । सभालाई दिउँसो १२ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य गिरीले जानकारी दिएका न् । कार्यक्रममा एमालेका अध्यक्षसमेत रहेका ओलीसहित पार्टीका महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्यद्वय सत्यनारायण मण्डल र छविलाल विश्वकर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभाको सम्पूर्ण तयारी पूरा भएको र रङ्गशाला क्षेत्रमा भिआइपीहरु पूर्वीगेटबाट र र्याली पश्चिम गेटबाट रङ्गशालामा प्रवेश गर्ने गरी व्यवस्थापन गरिएको पार्टीका रुपन्देही क्षेत्र नं २ का इन्चार्ज हरिप्रसाद अधिकारीले जानकारी दिए ।

अप्रिय घटना हुन नदिन प्रहरीले ३ जना मोर्चाका नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तमलोपाका अजय वर्मा, रवि यादव तथा नेपाल सद्भवना पार्टीका हरिश्चन्द्र सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।

कार्यक्रममा अवरोध गर्न मोर्चाको बन्द

यता, आमसभालाई लक्षित गरि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शुक्रबारको लागी बिहिबार नै रुपन्देही बन्दको आव्हान गरेको छ । बन्दको पूर्व सन्ध्यामा रुपन्देहीको धकधईमा मोर्चाले मशाल जुलुश समेत निकालेको थियो । संयुक्त लोकतान्त्रिक मोर्चामा आवद्ध संघिय समाजवादी फोरमका जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा, सदभावनाका जिल्ला अध्यक्ष ओम प्रकाश यादव (गुल्जारी), तराई मधेश सदभावना पार्टीका श्रीनिवास यादव, नेपाल सदभावना पार्टीका जिल्ला अध्यक्ष हरिश्चन्द्र सिंह, मधेशी जनाधिकार फोरम गणतान्त्रिकका शैलेन्द्र पाण्डे र राष्ट्रिय मधेश समाजवादी पार्टीका देवमणि पाण्डेद्धारा संयुक्त हस्ताक्षरित बिज्ञप्तीमा एमालेले संविधान बुझाउने भनेको कार्यक्रम नाटक मात्र भएको उल्लेख छ । बिज्ञप्तीमा एमालेले गर्ने सो कार्यक्रममा सहभागी नहुन अपिल गर्दै शुक्रबार रुपन्देही बन्दको आव्हान गरिएको छ । रुपन्देही प्रहरीका अनुसार शुक्रबार बिहानैदेखि मोर्चाका कार्यकर्ताहरु बन्दलाई सफल बनाउनका लागि विभिन्न स्थानमा अवरोधका प्रयासहरु गरिरहेका छन् । यद्यपि, अहिलेसम्म स्थिति शान्त नै रहेको प्रहरीको भनाई छ । मोरङबाट पाठ सिक्दै सुरक्षा व्यवस्था कडा : प्रहरी यसअघि गत माघ ७ मा एमालेको भातृ संगठन युवा संघले मोरङमा आयोजना गरेको कार्यक्रममा मोर्चाका कार्यकर्ताहरुले अवरोध गर्न खोज्दा तीनजनको ज्यान गएको थियो । यसपटक त्यस्तो अप्रिय घटना घट्न नदिन प्रहरीले सबै उपायहरु अपनाएको छ । रुपन्देही प्रहरीका अनुसार ‘मोरङ घटनाबाट पाठ सिक्दै, त्यस्तो प्रकृतिको घटना फेरि हुन नदिन प्रहरी सर्तक छ ।’ सम्भावित झडपलाई मध्यनजर राखेर कार्यक्रम आयोजना हुने क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले रातोपाटीलाई जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप