सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

अपडेट : जहाज दुर्घटनामा ज्यान गुमाएका थप एकको शव पहिचान

शुक्रबार, १४ फागुन २०७२, ११ : ५१
शुक्रबार, १४ फागुन २०७२

पोखरा -तारा एयर जहाज दुर्घटनामा मृतक मध्य थप एक जनाको शब पहिचान भएको छ । शुक्रवार विहान स्याङजाकी पवित्रा केसीको शव पहिचान भएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।

जहाज दुर्घटनामा ज्यान गुमाएका २३ मध्य १६ जनाको सनाखत भएको छ । ७ जनाको अझै सनाखत हुन सकेको छैन । पहिचान भएका मध्य १० वटा शव विहिवारनै आफन्तले बुझेका थिए । पहिचान भएका तर बुझ्न बाँकी शवहरु आज आफन्तको जिम्मा लगाउने तयारी छ ।

पहिचान खुल्न नसकेका ७ सहित ९ वटा शव काठमाडौं पठाउन लागिएको छ । पहिचान खुलेका कुवेती नागरिक रसिद अहमद र, नेपाली सेनामा कार्यरत राजकुमार तामाङको शव शुक्रवार काठमाडौं पठाउन लागिएको प्रहरी निरिक्षक जोशीले बताए ।

त्यस्तै पहिचान खुल्न नसकेका चिनियाँ नागरिक माक सुई याङ , दिलकुमारी गौचन, देवीजंग गुरुङ , फेनजोक गुरुङ , लक्ष्मी हिराचन, लेप्साङ लामा र कान्छा परियारको शव डिएनए परिक्षणको लागि काठमाडौं पठाउन लागिएको हो ।

पहिचान खुलेका ६ महिने वालिका, स्याङजाका मोतीबहादुर केसी उनकी श्रीमति पवित्रा ,पोखराका रेवती बरालको शब आफन्तले बुझ्न बाँकी छ । मुस्ताङका विनता भट्टचन उनका दुई महिने नावालक र कृष्णलाल भट्टचनको शब आफन्तले पहिचान गरी घटनास्थलबाटै बुझेका थिए ।

म्याग्दीको दाना २ सोलीघोप्टेभिरमा तारा एयरको विमान दुर्घटना हुदा ज्यान गुमाएका चालक दलका तीन जना पाइलट रोशन मानन्धर, कोपाइलट दिकेश नेमकुल, एयर होस्टेज रमा राउत  र सिन्धुपाल्चोकका डोल्मा छिरिङ शेर्पाको शव विहिवारनै काठमाडौं पठाइएको थियो ।

त्यस्तै बालकृष्ण निउरेको शब आफन्तले बुझेर बाग्लुङ लगे भने पोखरा फुलवारीका मुक्तिनाथ वास्तोलाको शब पनि आफन्तले बुझेका छन् । मुस्ताङकी कमला थकालीको शव पनि आफन्तको जिम्मा लगाइसकिएको छ ।

बुधवार विहान ७ बजेर ५० मिनेटमा पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज उडान भरेको १० मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा सवार सबैको ज्यान गएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप