सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

समूह बनाउने अन्तिम कसरतमा पौडेल र देउवा

शुक्रबार, १४ फागुन २०७२, १७ : ४२
शुक्रबार, १४ फागुन २०७२

काठमाडौँ - महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेसका सभापतिका सम्भावित उम्मेदवार आआफ्नो समूह बनाउने अन्तिम कसरतमा जुटेका छन् ।

काँग्रेसको १३ औँ महाधिवेशनमा हालसम्म सभापतिका आकाङ्क्षी धेरै देखिए पनि कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ । हाल दुवै नेता आफू सभापति भए गुट उपगुटको राजनीति अन्त्य हुने र पार्टी एक ढिक्का हुने जिकिर गर्दै आएका छन् ।

सभापतिमा कावा सभापति पौडेल र नेता देउवा प्रमुख दाबेदारका रुपमा देखिएका छन् । त्यसो त सभापतिमा महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा नेत्री सुजाता कोइरालाले पनि आकाङ्क्षा नदेखाएको होइन । तर यसै महाधिवेशनमा सभापतिमा उहाँहरुको आकाङ्क्षाले मूर्त रुप लेला जस्तो देखिँदैन ।

अझ महामन्त्री सिटौलाले त आफू कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्छ । युवा नेता गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने चर्चा पनि व्यापक छ ।

दबै शीर्ष नेता देउवा र पौडेलले यसअघि नै पार्टीको स्थानीय तहको निर्वाचनमा देशभरी घुमेर आफ्नो पक्षमा निर्वाचनको वातावरण बनाउने काम गरिसकेका छन् । महाधिवेशन आउन छ दिनमात्र बाँकी रहँदा दुवै नेता आआफ्नो समूह बनाएर निर्वाचनमा जाने अन्तिम तयारीमा जुटेको बताइएको छ ।

आफ्ना सम्पर्क कार्यालय खोलेर नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त दुवै नेताले एक दुई दिनमा नै निर्वाचनका लागि आफ्नो समूह घोषणा गर्ने बताइएको छ । उनीहरु आफ्ना समूहमा बलियो मत र विजयी हुने उम्मेदवार बनाउने कसरतमा छन् । सार्वजनिक रुपमा दुवै नेताले आफूलाई कुनै पनि गुट उपगुटको नभई साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्ने गरेका छन् ।

दुवै समूहमा निर्वाचित महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको बारेमा विभिन्न नेताको नाम चर्चामा रहे पनि डा सशाङ्क कोइराला र र अर्जुननरसिंह केसीले महामन्त्रीमा प्रतिस्पर्धा गर्ने बुझिएको छ ।

कोषाध्यक्षमा दुवै सभापतिका उम्मेदवारले तराई–मधेसलाई समेट्ने प्रयास गर्दै हुनुहुन्छ । यसअघि १२ औँ महाधिवेशनमा पनि दुवै खेमाबाट तराईलाई प्रतिनिधित्व गर्ने उम्मेदवार खडा भएका थिए । कोषाध्यक्षमा पद्मनारायण चौधरी र चित्रलेखा यादवलाई उम्मेदवार बनेकामा चित्रलेखा यादव निर्वाचित भएका थिए । यस बाहेक दुवै जना केन्द्रीय सदस्यको पनि सूची बनाउने तयारीमा जुटेको बताइएको छ । यसअघि १२ औँ महाधिवेशनमा पनि दुवै समूह पूरै कार्यसमितिको सूची बनाई निर्वाचनमा होमिएका थिए । बाह्रौँ महाधिवेशनमा तत्कालीन कावा सभापति सुशील कोइराला र नेता देउवाबीच सभापतिमा प्रतिस्पर्धा भएकामा कोइराला विजयी बनेका थिए ।

सभापति र पदधिकारीमा आकाङ्क्षी धेरै देखिएपछि एक पक्ष विधान संशोधन गरेर सबै आकाङ्क्षीलाई व्यवस्थापन गर्ने पक्षमा देखिएको छ भने अर्को पक्ष व्यक्तिविशेषलाई व्यवस्थापन गर्न विधान संशोधन गर्न नदिने अडानमा छ । काँग्रेसको आगामी महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप