आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीले आचरण सुधारेमा आधाव्यथा कम हुन्छ : स्वास्थ्यमन्त्री

शनिबार, १५ फागुन २०७२, १८ : १७
शनिबार, १५ फागुन २०७२

काठमाडौँ– स्वास्थ्यमन्त्री रामजनम चौधरीले स्वास्थ्यकर्मीको आचरण सुधारेमा बिरामीको आधा व्यथा त्यसै निको हुने बताएका छन् ।

स्वास्थ्य दिवसको अवसरमा आज स्वास्थ्य मन्त्रालयले यहाँ गरेको कार्यक्रममा उनले अहिले अस्पतालमा स्वास्थ्यकर्मीले बिरामीलाई गर्ने व्यवहार निकै रुखो भइरहेको भन्दै बिरामीको मुहारमा मुस्कान ल्याउने व्यवहार स्वास्थ्यकर्मीको पहिचान हुनुपर्ने धारणा राखे ।

उनले दक्ष स्वास्थ्य जनशक्ति र गुणस्तरीय सेवा अहिलेको मुख्य चुनौती भएको बताए । मन्त्री चौधरीले स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहारप्रति पनि सरकार संवेदनशील छ भने ।

स्वास्थ्य राज्यमन्त्री मोहम्मदमुस्ताक आलमले स्वास्थ्य सेवालाई सबै जनताको पहुँचसम्म पु¥याउन ४० प्रतिशतको निःशुल्क सेवालाई ७० प्रतिशतमा पु¥याएको बताए ।

नेपाल सरकारका मुख्य सचिव डा सोमलाल सुवेदीले अहिलेको स्वास्थ्य सेवा गाउँभन्दा सहर केन्द्रित भएकाले त्यसको विकेन्द्रीकरण नगरी सबै नेपालीले स्वास्थ्य सेवा लिन नसक्ने विचार राखे ।

सुवेदीले निजी क्षेत्रका स्वास्थ्य संस्थामा जस्तो आकर्षण सरकारी स्वास्थ्य क्षेत्रमा नहुनुको कारण विश्लेषण गर्नुपर्ने समय आएको उल्लेख गरे । उनले भने, ‘‘स्वास्थ्य स्रोतको बढोत्तरीसँगै गुणस्तरमा पनि बढोत्तरी गर्नपर्छ, सेवामा पनि परिवर्तन गर्नसकेमा सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुग्नसक्ने देखिन्छ ।’’

मन्त्रालयका प्रमुख विशेषज्ञ डा सेनेन्द्रराज शर्मा स्वास्थ्य विभागका महानिर्देशक पुष्पा चौधरी, स्वास्थ्य मन्त्रालयका जनसङ्ख्या प्रशासन तथा अनुगमन महाशाखाका प्रमुख डा गरिवदास ठाकुरले स्वास्थयकर्मी अरुका लागि बाँच्ने समूह भएकाले दिनरात केही नभनि स्वास्थ्य सेवा दिन तत्पर समूहलाई सरकारले सही मूल्याङ्कन गर्न नसकेको गुनासो गरेका थिए ।

विश्व स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले रु एक लाख राशिको पुरस्कार जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीका डा रोशन न्यौपानेलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी रु ५० हजार स्वास्थ्य सेवा पुरस्कारबाट जिल्ला अस्पताल गोरखामा कार्यरत स्टार्फ नर्स सन्तोषी श्रेष्ठ, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा कार्यरत सिनियर अहेब दिलीप चौधरी, तेह्रथुमका जनस्वास्थ्य अधिकृत कैलाशकुमार गुप्ता र जिल्ला स्वास्थ्य कार्यालय अछाममा कार्यरत डा शरदचन्द्र बराललाई सम्मानित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप