आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकामा एन्ड्र्यु टेट र उनका भाइ ट्रिस्टन पक्राउ

आइतबार, ०३ साउन २०८३, १४ : ५३
आइतबार, ०३ साउन २०८३

सारांश

  • बेलायतमा थप आपराधिक अभियोग दर्ता भएपछि सामाजिक सञ्जालका चर्चित व्यक्तित्व एन्ड्र्यु टेट र उनका भाइ ट्रिस्टन टेटलाई अमेरिकामा पक्राउ गरिएको छ ।
  • अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूलाई बेलायतमा सुपुर्दगी गर्ने कानुनी प्रक्रियाअन्तर्गत पक्राउ गरिएको हो ।
  • एन्ड्र्यु टेटविरुद्ध थप सातवटा बलात्कारका आरोप लगाइएको छ भने ट्रिस्टन टेटविरुद्ध यौन दुर्व्यवहार, बलात्कार तथा मानव बेचबिखनको आरोप छ ।

वाशिङ्टन । बेलायतमा थप आपराधिक अभियोग दर्ता भएपछि सामाजिक सञ्जालका चर्चित व्यक्तित्व एन्ड्र्यु टेट र उनका भाइ ट्रिस्टन टेटलाई अमेरिकामा पक्राउ गरिएको छ ।

अमेरिकी मार्शल सेवाले दुवैलाई हिरासतमा लिएको पुष्टि गरेको छ । अमेरिकी न्याय मन्त्रालयका एक प्रवक्ताका अनुसार उनीहरूलाई बेलायतमा सुपुर्दगी गर्ने कानुनी प्रक्रियाअन्तर्गत पक्राउ गरिएको हो ।

बेलायतको क्राउन प्रोसिक्युसन सर्भिस (सीपीएस)का अनुसार एन्ड्र्यु टेटविरुद्ध थप सातवटा बलात्कारका आरोप लगाइएको छ । साथै उनीमाथि मानव बेचबिखन, यौन शोषणसँग सम्बन्धित अपराध तथा बालबालिकाको अश्लील सामग्रीसँग सम्बन्धित आरोपहरू समेत थपिएका छन् । यस्तै, ट्रिस्टन टेटविरुद्ध एउटा यौन दुर्व्यवहार, दुईटा बलात्कार तथा यौन शोषणका लागि मानव बेचबिखनको व्यवस्था वा सहजीकरण गरेको तीनवटा आरोप लगाइएको छ ।

अभियोजन पक्षका अनुसार यी घटनाहरू सन् २०१० को जुलाईदेखि २०१७ को अगस्टबीच भएका हुन् । सीपीएसको विशेष अपराध विभागका प्रमुख माल्कम म्याकहाफीले थप प्रमाण प्राप्त भएपछि नयाँ अभियोग दर्ता गरिएको र यस प्रकरणमा कथित पीडितको संख्या अब सात पुगेको बताएका छन् । सीपीएसले दुवै दाजुभाइलाई अमेरिकाबाट बेलायत सुपुर्दगी गर्न औपचारिक अनुरोधसमेत गरेको जनाएको छ । एन्ड्र्यु र ट्रिस्टन दुवै बेलायती र अमेरिकी नागरिक हुन् ।

उनीहरूका वकिल जोसेफ म्याकब्राइडले भने दुवै निर्दोष रहेको दाबी गरेका छन् । पक्राउपछि जारी वक्तव्यमा उनले नयाँ आरोपहरूलाई ‘राजनीतिक उद्देश्यबाट प्रेरित आक्रमण’ को संज्ञा दिएका छन् । उनका अनुसार टेट दाजुभाइले अमेरिकामा दायर गरेको मानहानि मुद्दाको प्रतिकारस्वरूप नयाँ आरोप ल्याइएको हो । उनले अदालतले तथ्यहरूको निष्पक्ष मूल्याङ्कन गरेपछि दुवैलाई रिहा गरिने विश्वास व्यक्त गरेका छन् ।

यसअघि सन् २०२५ को मे महिनामा बेलायती अभियोजन पक्षले एन्ड्र्यु टेट  र ट्रिस्टन टेटले कुल २१ वटा आरोप सामना गर्नुपर्ने जनाएको थियो । ती आरोपहरू सन् २०१२ देखि २०१६ बीच भएका घटनासँग सम्बन्धित छन् । सन् २०२४ मा बेलायतको बेडफोर्डशायर प्रहरीले रोमानियाबाट उनीहरूलाई फिर्ता ल्याउन युरोपेली पक्राउ पुर्जी जारी गरेको थियो । टेट दाजुभाइ रोमानियामा बस्दै आएका छन् र त्यहाँ पनि उनीहरूमाथि छुट्टै आपराधिक अनुसन्धान भइरहेको छ ।

गत जुनमा उनीहरूले आफ्ना अभियोगकर्ताहरूको नाम सार्वजनिक गर्न माग गर्दै दायर गरेको कानुनी निवेदन पनि अस्वीकार भएको थियो । सीपीएसले औपचारिक अदालती प्रक्रिया सुरु नभएसम्म कथित पीडितहरूको पहिचान गोप्य राख्नुपर्ने निर्णय गरेको थियो । एन्ड्र्यु र ट्रिस्टन टेटले यसअघि आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप