शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कांग्रेस महाधिवेशनमा नुवाकोटका चार अनुहार : चर्चा बहादुरको

शुक्रबार, २१ फागुन २०७२, १६ : ००
शुक्रबार, २१ फागुन २०७२

काठमाडौं– नुवाकोटमा एउटा भनाई चर्चित छ, ‘यहाँ कुखुराले पनि राजनीति गर्छ !’ राजधानीसँग सीमा जोडिएको नुवाकोटले केन्द्रीय राजनीतिमा प्रभाव जमाउने  धेरै नेताहरु जन्माएकाले पनि नुवाकोटबासीमा यस्तो चर्चा हुने गरेको ठानिन्छ । पञ्चायतकालमा होस् या प्रजातान्त्रिक र गणतान्त्रिक कालखण्डमा किन नहोस् जुनसुकै कालखण्डमा नुवाकोटका नेताहरुको केन्द्रीय राजनीतीमा प्रभाव रहेको छ ।

हाल प्रमुख भनिने पार्टीहरु नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र राप्रपामा नुवाकोटबाट प्रतिनिधित्व गर्ने नेताहरु अटाएका छन् त्यो पनि महत्वपूर्ण भूमिकामा । नेपाली कांग्रेसमा मात्रै राजनीतिक हस्ती मानिनेहरु रामशरण महत, अर्जुननरसिंह केसीदेखि प्रकाशशरण महत र बहादुर सिंह लामासम्म रहेका छन् । कांग्रेसको १३ औं महाधिवेशन चल्दै गर्दा चारै जना नेताहरु नेतृत्वमा पुग्ने दौडमा रहेका छन् । अर्जुननरसिंह केसीले महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन् भने रामशरण महत पदाधिकारीको आकांक्षी छन् । यद्यपी उनले हाल केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराइसकेको उनी निकट स्रोतले जनाएको छ । यस्तै रामशरण भाई तथा हालका केन्द्रिय सदस्य प्रकाशशरण महतले पुनः केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता गराएका छन् भने महासमिति सदस्य तथा सभासद समेत रहेका बहादुर सिंह लामाले पनि केन्द्रिय सदस्यमा आरक्षण कोटामा उम्मेद्वारी दर्ता गराइसकेका छन् । नुवाकोटमा कांग्रेसभित्र केसी र महत गुट भएपनि केन्द्रमा भने केसी, प्रकाशशरण र लामा देउवा गुट र रामशरण पौडेल गुटबाट चुनाव लड्न लागेका छन् ।

पञ्चायती राजनीति हुँदै कांग्रेसको राजनीतीमा प्रभाव जनाएका केसी पहिलो पटक पदाधिकारी बन्ने दौडमा छन् भने रामशरण महत पनि पहिलो पटक पदाधिकारीको आकांक्षी रहेका छन् । यस्तै प्रकाशशरण र लामा केन्द्रिय सदस्यमा आफ्नो सिट सुरक्षित पार्ने रणनीतिमा रहेका छन् । यसरी एकै जिल्लाका चार नेता कांग्रेस नेतृत्वमा पुग्ने दौडमा लागिरहेका बेला चारमध्येका जुनियर लामाको भने यसपटक निकै चर्चा रहेको छ ।

इमान्दार र विकासप्रेमी मानिने लामा  १३ औं महाधिवेशनबाट पहिलो पटक केन्द्रिय सदस्य बन्ने दौडमा लागेका हुन् । २०४५ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय भएपनि उनी जिल्लामै सीमित हुँदै आए । पद भन्दा पनि कर्ममा विस्वास गरेकै कारण उनी लामो समय राजनीति गर्दा पनि जिल्लामै सीमित भएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । तर १३ औं महाधिवेशनमा भने वरिष्ठ नेता शेरबहादुर देउवाको विषेश सहयोगमा उनले उम्मेद्वारी दर्ता गराएको बताइन्छ । देउवा समुहमा नुवाकोट कै अर्जुन नरसिंह केसी र प्रकाशशरण महत भएपनि उनलाई देउवाले विषेश समर्थन गरेको बताइन्छ । देउवाले महाधिवेशन प्रतिनिधिहरुलाई भेटेर बहादुरलाई भोट दिन आग्रह गरेको बताइएको छ । देउवा नै बहादुरलाई सघाउन सक्रिय भएपछि उनले यसपटक भारी मतका साथ केन्द्रीय सदस्यमा विजय हासिल गर्ने कांग्रसीजनहरुमा चर्चा छ । यसो त चर्चित निर्माण व्यवसायी समेत रहेका उनी आफैंको देशभरका महाधिवेशन प्रतिनिधिहरुसँग व्यक्तिगत सम्पर्क रहेको बताइन्छ । सो कारण गुटभन्दा माथि उनी रहेको बताइन्छ । यतिमात्रै होइन जनजाती कोटमा उम्मेद्वारी परेकाले जनजातीहरुले उनलाई सम्पूर्ण भोट दिने आस्वासन दिइसकेका छन् । देउवाको प्रत्यक्ष सहयोग, उनकै व्यक्तिगत जनसम्पर्क र जनजातीको विस्वासका कारण उनलाई निर्वाचनमा सहज हुने कांग्रेसभित्र चर्चा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप