शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोषाध्यक्षमा सिरहाका दुई महिलाको टक्कर

शुक्रबार, २१ फागुन २०७२, १६ : ३९
शुक्रबार, २१ फागुन २०७२
काठमाडौं – राजधानीमा काँग्रेसको १३ औं महाधिवेशन चलिरहँदा मधेशमा दुई महिलाको चर्चा शुरु भएको छ । सिरहाकै दुई महिला एकजना संस्थापन पक्षबाट र अर्को देउवा पक्षबाट कोषाध्यक्षको उम्मेदवारी दिएपछि काठमाडौंमा मात्र होइन जिल्लामा पनि चर्चा विषय बनेको छ । यसरी चर्चामा रहेका कोषाध्यक्षका दुई उम्मेदवार हुन् चित्रलेखा यादव र सिता देवी यादव । चित्रलेखा यादव शेरवहादुर देउवा प्यानलबाट कोषाध्यक्षको उम्मेदवारी दिएकी छिन् भने सिता देवी यादव रामचन्द्र पौडेल प्यानलबाट कोषध्यक्षमै उम्मेदवारी दिएकी छिन् । यसअघि पनि देउवाको पक्षबाट स्व. सुशिल कोइरालाको कार्यकालमा कोषाध्यक्ष बनिसकेकी चित्रलेखा यादव पुनः कोषाध्यक्षमै उम्मेदवारी दिएपछि मधेशको भोट तान्नलाई रामचन्द्र पौडेलले सिता देवी यादवलाई कोषाध्यक्षका लागि चुनेको पनि टिका टिप्पणी भइरहेको छ । यी दुई प्यानलले मधेश त्यसमा पनि महिला र दुईटै यादव समुदायबाट भएपछि कृष्ण सिटौलाले पनि मधेशबाट नै कोषाध्यक्ष पदका उम्मेदवारमा उमाकान्त चौधरीलाई चुनेका छन् । को हुन् सिता देवी ? काँग्रेस पार्टीमा सितादेवी यादव एक्लो महिला जिल्ला सभापति हुन् । उनी २०५८ सालदेखि लगातार सिरहाका सभापति हुँदै आएकी छिन् । २०५७ सालमा उनका श्रीमान् चन्द्रनारायण यादवको हत्या भएपछि उनी राजनीतिमा सक्रिय भएकी हुन् । २०५८ सालमा भएको जिल्ला अधिवेशनमा उनी निर्विरोध सभापति भएकी थिइन् भने त्यसपछि दुई पटक चुनाव जितेर नै सभापति बनेकी थिइन् । २०६४ सालमा अन्तरिम संसद गठन हुँदा तत्कालिन पार्टी सभापति स्व.गिरीजा प्रसाद कोइरालाले उनलाई अन्तरिम संसदको रुपमा मनोनित गरेका थिए । त्यसपछि भएको सविधानसभाको चुनावमा उनी सिरहा जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट सभासदमा चुनाव लडेकी थिइन् । तर उनी पराजित भइन् । त्यतिबेला मधेश आन्दोलन भएका कारणले मधेशी जनअधिकार फोरम नेपालका नेता विजय यादवले चुनाव जितेका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभामा उनी ११ हजार एकसय पचास मत ल्याएर विजय भइन् । नयाँ सविधान घोषणा हुने दिन आन्दोलनरत मधेशी मोर्चाका नेता तथा कार्यकर्ताले सिरहास्थित उनको घरमा आगजानी गरेका थिए । ६० वर्षीया सितादेवी यादवको पार्टीमा सक्रियता र लगनशीलतालाई मध्यनजर गर्दै संस्थापन पक्षले उनलाई कोषाध्यक्ष पद उम्मेद्वार बनाएको उनका छोरा डा.सुभाष यादवले रातोपाटीलाई बताए । यद्यपि उनी आफ्नो श्रीमान्को नामबाट राजनीति गरिरहेको आरोप लाग्दै आएको छ । को हुन् चित्रलेखा यादव ? यता चित्रलेखा यादवको राजनीतिक यात्रा सितादेवी यादवभन्दा पाँच वर्ष पुरानो रहेको छ । उनी विद्यार्थीकालमा त्रिभुवन विश्व विद्यालयमा नेवि संघको तर्फबाट स्ववियुमा कोषाध्यक्ष भएकी थिइन् । नेवि संघका केन्द्रीय सदस्य सुभाष यादवका अनुसार पढाई सकेपछि प्रध्यापक भएकी उनी एकैपटक २०५२ सालमा सिरहा क्षेत्र नम्बर २ बाट संसदीय चुनावमा भाग लिएकी थिइन् । तर उनी पराजित भइन् । त्यसपछि २०५६ मा भएका आम निर्वाचनमा उनी विजय भएकी थिइन् । तारानाथ रानाभाट सभामुख भएको बेला उनी उपसभामुख भएकी थिइन् । पहिलो सविधानसभामा चुनाव हारेकी चित्रलेखा यादव दोस्रो सविधानसभामा समानुपातिक सभासद बनिन् । र, देउवाको गुटबाट उनी शिक्षा मन्त्री पनि बनिन् । सिरहा क्षेत्र नं. २ बाट राजनीतिक गरेपनि उनी अधिकाँश समय केन्द्रमै विताउने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । जिल्लामा खासै पकड बनाउन नसकेकी चित्रलेखा यादव केन्द्रमा देउवा पक्षमा पकड बनाएर पार्टीबाट पटक–पटक अवसर प्राप्त गर्दै आएको आरोप उनीमाथि छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप