शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

एमाले नेता भन्छन्, मुलुकको निर्माणमा धोती र टोपीको बराबर योगदान

शनिबार, २२ फागुन २०७२, २० : १०
शनिबार, २२ फागुन २०७२

विराटनगर - नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको संविधानमा सबै वर्ग र समुदायको भावना समेटिएको बताएको छ ।

नेकपा (एमाले) पूर्वाञ्चल समितिद्वारा आज विराटनगरको सहिद मैदानमा आयोजित सो पार्टीको तीन महिने तराई–मधेस अभियानको समापनका अवसरमा उनले संविधान निर्माणको काम सम्पन्न भइसकेकाले अब देशको समृद्धि र विकास निर्माणमा एकजुट भएर लाग्न आह्वान गरे ।

उनले एमाले पार्टीको पूर्वाञ्चल क्षेत्र उर्वर भूमि रहेको चर्चा गर्दै पार्टी अझ बलियो र गतिशील बनाउन कार्यकर्तालाई निर्देशन दिए ।

सो पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसमा संविधानको विषयमा भ्रम फैलाएर मधेसी जनतालाई दिग्भ्रमितमा पार्न खोजिएको आरोप लगाए ।

उनले यस संविधानमा मधेसी, दलित, महिला, जनजाति, मुस्लिमका लागि संवैधानिक आयोगका साथै आरक्षणको समेत व्यवस्था गरिएको प्रसङ्ग उल्लेख गर्दै उनले मधेसवादी दलले अनाहकमा जनतालाई अन्योलमा पारेको धारणा राखे ।

उनले स्थानीय निकायको निर्वाचन आउँदो वैशाखसम्ममा गर्नका लागि मञ्चमा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराए ।

महासचिव ईश्वर पोखरेलले मुलुकको निर्माणमा धोती र टोपीको बराबर योगदान रहेको चर्चा गर्दै सामाजिक सद्भाव बिथोल्न नदिन एमाले पार्टी दृढ रहेको बताए । त्यस्तै स्थायी समितिका सदस्य एवम् युवा खेलकुदमन्त्री सत्यनारायण मण्डलले मधेस आन्दोलनका कारण मधेसका जनता मारमा परेको बताए ।

उनले मधेसवादी दलले मधेसका सुकुम्बासी, दलित जनताको हितमा कहिले नबोलेको र सत्ताको राजनीति गरेको धारणा प्रकट गरे ।

सो अवसरमा पार्टीका सचिव योगेश भट्टराई, स्थायी समितिका सदस्य सुवास नेम्बाङ, लालबाबु पण्डित र कोसी अञ्चल इन्चार्ज जीवन घिमिरेलगायतले आआफ्ना धारणा राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप