बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाह्र दिनदेखि बालिकाको शव अस्पतालमै

शुक्रबार, २४ वैशाख २०७३, १९ : २१
शुक्रबार, २४ वैशाख २०७३

रुकुम– मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित रुकुमको चौरजहारी अस्पतालमा मृत्यु भएकी एक बालिकाको शव १० दिनदेखि उठ्न सकेको छैन ।

बायाँ हात भाँच्चिएको उपचार गर्न उक्त अस्पतालमा भर्ना भएकी भेरीमालिका–११, मटेला जाजरकोटका अनिल शर्माकी एक वर्षीया छोरी अर्पणा शर्माको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले शव नबुझेका हुन् ।

अस्पतालको लापर्बाहीले बालिकाको मृत्यु भएको आफन्तजनको जिकिर छ । आफ्नो छोरीको मृत्यु डाक्टरकै लापर्बाहीका कारण भएको भन्दै बुबा अनिलले क्षतिपूर्ति र उपचारमा संलग्नमाथि कारबाही नभएसम्म शव नबुझ्ने जानकारी दिए ।

“हात भाँच्चिएकी छोरीलाई अर्कै सुई लगाएर अस्पतालले मारेको हो,” मृतक बालिकाका बुबा शर्माले भने – “सिक्दै गरेका प्रशिक्षार्थीले नजानेर लगाएको इन्जेक्सनले मृत्यु भएको हो । क्षतिपूर्ति र दोषीलाई कारबाही नभएसम्म शव बुझ्दैनौँ ।

तर अस्पताल प्रशासनले भने हात भाँच्चिएर उपचाररत बालिकाको आमाले दूध चुसाउने बेला सर्किएर सर्को परेर० मृत्यु भएको बताएको छ । बायाँ हात भाँच्चिएर अस्पतालमा वैशाख ६ गते भर्ना गरेकी बालिकाको ७ गते शल्यक्रिया गरेर हातको शल्यक्रिया गरिएको थियो । नौ गते बिहान आमाले दूध चुसाउँदा दूध सर्किएर फोक्सोमा गई बेहोस भएकी बालिकाको डा कालेव बुढालगायत अन्य स्वास्थ्यकर्मीको समूहले फोक्सोमा गएको दूध तानेको बताइएको छ । लगातार भेन्टिलेटरमा राखेर उपचार गराइरहेकी बालिकाको पाँच दिनपछि निधन भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले बताए ।

दूध सर्केर मृत्यु हुने समस्यालाई स्वास्थ्य विज्ञानले पनि जित्न नसकेको र अभिभावकले लगाएको यो आरोप कुनै पनि हालतमा स्वीकार गर्न नसकिने उपचारमा संलग्न अस्पतालका डा कालेव बुढाले बताए । “अस्पतालको औषधि र सुईमा कुनै पनि शङ्का लागेमा प्रयोगशाला परीक्षण गर्न र छानबिन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउन हामीले भनेका छौँ” – डा बुढाले भने ।

मृतकका आफन्तले दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुकुममा उजुरीसमेत दिएका छन् । रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको पहलमा पीडित पक्ष र अस्पताल प्रशासनबीच पटक पटक भएको वार्ता सहमतिमा पुग्न नसकेको भए पनि छानबिन समिति गठन गरेर समस्या समाधान गर्ने सहमति भएको बताइएको छ ।

पीडित पक्षले अस्पतालमा तोडफोड गर्न सक्ने भन्दै प्रहरीले लामो समयदेखि सुरक्षा दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप