बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उपेन्द्र यादवले भने–‘यो संविधानको मृत्यु भइसक्यो’

शनिबार, २५ वैशाख २०७३, १४ : ४३
शनिबार, २५ वैशाख २०७३

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यान्वयन नहुँदै नयाँ संविधानको मृत्यु भइसकेको टिप्पणी गरेका छन् । जारी भएकै दिन जनताले जलाएर संविधान अस्वीकार गरिसकेको जिकिर गर्दै अध्यक्ष यादवले जनताको अधिकार सुनिश्चित हुने गरी पुनर्लेखन नगरेसम्म संविधानको औचित्य नभएको बताए । राजधानीस्थित फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा शनिवार संचारकर्मीहरुसँग कुरा गर्दै यादवले भने, ‘मृत्यु भइसकेको संविधानलाई जीवन्त बनाउने हो भने पुनर्लेखनको विकल्प छैन ।’ पहिचान, संघीयता, समावेशी जस्ता राष्ट्रिय सवाल सम्बोधन गर्न यो संविधान चूकेको भन्दै सत्ता स्वार्थमा लागेर गलत नियतले जारी गरिएको संविधान मुलुकलाई काम नलाग्ने उनले बताए ।

सबै उत्पीडित जनता काठमाडौं केन्द्रीत संगठित हुँदै गर्दा आन्दोलन उत्कर्षमा पुग्नै लागेको दाबी गर्दै यादवले भने, ‘बन्दुकको बलमा सरकारले कहिलेसम्म आन्दोलन थेग्न भन्ने मात्रै हो । बन्दुकले दबाएर आन्दोलन समाप्त हुँदैन ।’ जनताको जायज आन्दोलन तुहिएको विश्व इतिहास नभएको उदाहरण दिँदै जारी आन्दोलन पनि परिणामुखी निष्कर्षमा पुग्ने दाबी गरे । भारतको इशारामा आन्दोलन चलेको सरकारी आरोप भ्रामक मात्र रहेको यादवले टिप्पणी गरे । ‘आन्दोलनलाई बदनाम गर्न सरकारी संयन्त्रबाट यसप्रकारका आरोपहरु लगाइनु कुनै नयाँ होइन’, यादवले भने, ‘हिजो राणा शासक र पञ्चायत विरुद्ध लड्दा भारतको इशारामा चलेको आरोप खेपेकाहरु मध्ये धेरै जसो अहिले सरकारमा छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप