बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यार्सागुम्बा याम सुरु, विद्यालयमा विद्यार्थी उपस्थिति घट्दो

शनिबार, २५ वैशाख २०७३, १७ : २३
शनिबार, २५ वैशाख २०७३

डोल्पा–यहाँ यार्सागुम्बा याम सुरु भएको छ ।  यसको तयारीमा सर्वसाधारण व्यक्तिभन्दा विद्यार्थी धेरै जुटेका छन् ।

वर्षभरिको पढाइ खर्च उठाउने स्रोत नै यार्सागुम्बा सङ्कलन भएकाले अधिकांश विद्यार्थी यस याममा हिमाली यार्सापाटन जाने गरेको र यसकै लागि अन्य सर्वसाधारणभन्दा विद्यार्थी धेरै तयारीमा जुट्ने गरेकाले विद्यालयको पठनपाठन केही प्रभावित हुने गरेको स्थानीय शिक्षक पूर्णकेशर न्यौपानेले बताए।

तल्लो डोल्पामा रहेको त्रिपुरासुन्दरी मावि काइगाउँ, मध्य भेगमा पर्ने जनप्रभा उमावि लिकु, त्रिपुराकोटमा रहेको त्रिपुराकोट मावि मद्दु तथा सदरमुकाम दुनैमा रहेको सरस्वती उमाविमा पनि विद्यार्थीको सङ्ख्यामा केही कमी आएको स्रोतव्यक्तिले बताएका छन् । माथिल्लो डोल्पाका विद्यालयमा पनि विद्यार्थी उपस्थितिमा कमी आएको उनीहरुले बताए । यार्सा यामको सुरुआत भइसकेपछि विद्यार्थी आफँै विद्यालय नजाने स्विकार्छन् ।

“मैले गत वर्ष यार्सा टिपेर रु ३० हजार कमाएँ, त्यो पैसा किताब, कापी लगायत शैक्षिक सामग्री किन्नमा खर्च गरेँ, यस वर्ष पनि वर्षभरिको पढाइ खर्च जुटाउन यार्सा सङ्कलनको तयारीमा जुटेकाले विद्यालय जान पाएको छैन” त्रिपुरा माविमा अध्ययनरत विद्यार्थी अर्जुन थापाले बताए ।

डोल्पाली विद्यार्थीको आयआर्जनको मुख्य स्रोत नै यार्सागुम्बा सङ्कलन गर्नु भएकाले यार्सा याममा विद्यालयमा विद्यार्थीको उपस्थिति घट्नु स्वाभाविक रहेको जिल्ला शिक्षा अधिकारी युवराज पौडेलले जानकारी दिए ।

विद्यार्थी सङ्ख्या घटे पनि जिल्लाका सम्पूर्ण विद्यालयमा पठनपाठन भने निरन्तर चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप